• २०८१ बैशाख १८ मंगलबार

भैरवको रथ भाँचिएपछि...

kharibot

भक्तपुर । भक्तपुरमा आठ रात नौ दिनसम्म मनाइने बिस्का जात्राको पहिलो दिन पाँचतले मन्दिरस्थित टौमढीबाट तान्न सुरु गरेको प्यागोडा शैलीको भैरवनाथको रथ भाँचिएको छ । 

मङ्गलबार दिउँसो ३ बजेदेखि हजारौँ जात्रालुले तान्न सुरु गरेको रथ निरन्तर १३ घण्टासम्म तानेर माथिल्लो क्षेत्रको दत्तात्रयसम्म पुर्याइएको थियो । फर्काउँदा रथ आज बिहान ३ बजे सुकुलढोकामा ल्याइपुर्याएको थियो । मङ्गलबार रातिनै रथलाई गःहिटी पुर्याएर पूजा गर्नुपर्नेमा सुकुलढोकामा नै छाडिएपछि बुधबार पुनः रथलाई तानेर गःहिटी नजिकि ल्याइएको गुठी कार्यालय भक्तपुरकी प्रमुख खिमा वलीले जानकारी दिइन् ।

मङ्गलबार राति विगतका वर्षमा जस्तै तल्लो र माथिल्लो क्षेत्रका बासिन्दाले ढुङ्गा हानाहान गर्ने त्रास रहे पनि यस वर्ष शान्तिपूर्ण रुपमा पहिलो दिनको जात्रा सम्पन्न भएको थियो । तर चलनअनुसार रथलाई आज दिउँसो ३ बजेसम्म पनि गःपिहटी पुर्याउन सकिएन । 

रथ तान्ने क्रममा मुख्य तीन खामा भाँचिएर रथ बीचमै थन्किएको प्रमुख वलीले जानकारी दिइन् । उनले रथमा धेरै क्षति पुगेकाले मर्मत गर्ने कार्य जारी रहेको बताइन् । रथलाई पूरै बनाउन अझै एक साता समय लाग्ने छ । रथ जसरी पनि गःहिटी पुर्याएर पूजा गर्ने तथा यही चैत ३० गते ल्यासिंखेलमा लिङ्गो उठाउनु अगाडि पुर्याउन पर्ने बाध्यता छ । त्यसैले रथ पूर्ण नभई आंशिकरुपमा सञ्चालनमा आउने गरी मर्मत गरिरहेको प्रमुख वलीले जानकारी दिइन् । 

नियमानुसार चैत ३० गते भैरव र भद्रकालीको रथलाई गःहिटीबाट तानेर ल्यासिंखेल पुर्याएपछि मात्रै लिङ्गो उठाउने कार्य सुरु हुन्छ । आगामी वैशाख १ गते लिङ्गो ढालेपछि पुनः रथलाई ल्यासिंखेलबाट गःहिटी ल्याएर भैरव र भद्रकालीको रथ जुधाउने परम्परा छ । जात्रा सञ्चालनका क्रममा जथाभावी तान्दा रथ बिग्रिएर क्षति पुगेको र रथ तान्ने डोरीसमेत चोरी भएको प्रमुख वलीले बताइन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै