• २०८१ बैशाख १८ मंगलबार

भविष्य कथन मात्र होइन, ज्योतिष शास्त्र

kharibot

काठमाडौँ । सामान्य अर्थमा ज्योतिष ग्रहहरुको गणित हो । आकाशमा रहेको ग्रहहरुको गणितीय गति र अवस्थासँग जीवन र जगत्सँगको प्रभावको अध्ययन ज्योतिषीय अध्ययन हो । ग्रहले पदार्थमा पर्ने प्रभावको सम्बन्धलाई ज्योतिषीहरुले मसिनो गरी अध्ययन गर्छन् र प्रभावको विश्लेषण गर्छन् । त्यसका लागि नौ ग्रह, १२ राशि र २७ नक्षत्रहरुको आधार लिने गरिन्छ । यिनै २७ नक्षत्रले सिर्जना गरेको ३६० डिग्रीको अक्षांशमा ग्रह र राशिको अधिपत्य रहन्छ ।

नक्षत्र, ग्रह र राशिको विशेषता, ग्रहहरुको अवस्था र प्रभावको आधारमा भविष्य बताउने काम ज्योतिषीको हो । ग्रहहरुले उत्पन्न गर्ने प्रभावको पूर्व जानकारी राख्ने हुनाले ज्योतिषी केबल भविष्य बताउने मात्र नभई भविष्यको मार्गनिर्देशक पनि हो । मानव जीवनलाई सही मार्गनिर्देश गर्ने कार्यमा ज्योतिषीहरुको अहम् भूमिका रहन्छ । 

हाम्रो समाज आफ्नो जन्म कुण्डली देखाएर भविष्य जान्न चाहन्छ । जन्मका आधारमा आफूले ल्याएको कुरा परिवर्तन हुँदैन भन्ने मनस्थितिका कारण भविष्य कस्तो होला भनेर जान्न चाहन्छ । वास्तवमा जन्मकुण्डली जीवनको मार्गनिर्देश हो र सोहीअनुसार कर्म गर्नुपर्छ भन्ने कमैलाई थाहा छ । ग्रहहरुले मानिसको जीवनमा उसको कर्मको खाका बनाइदिएको हुन्छ । धर्म, अर्थ, काम, मोक्षको स्पष्ट मार्गनिर्देश गरेका हुन्छन् । जन्मकुण्डलीमा सम्बन्धित जातक धर्म, अर्थ, काम र मोक्षमध्ये कुन क्षेत्रका अधुरा कार्य सम्पन्न गर्न आएको हो भन्ने स्पष्ट हुन्छ । तर, व्यक्तिले आफ्नो कार्मिक लक्ष्यमा भन्दा सामाजिक आधारमा आफ्नो लक्ष्य तय गर्न चाहन्छ । जीवनमा सकारात्मकता ल्याउन कार्मिक सुधार महत्वपूर्ण पक्ष हो । यद्यपि मानिस जीवनको लक्ष्य भौतिक उचाइ मात्र ठान्छ । त्यसैले ज्योतिषीले मानिसको जीवनलाई सफल र सार्थक बनाउन उसको कार्मिक प्रारब्धका आधारमा लक्ष्य निर्धारण गरिदिनुपर्छ ।
 
मानिस जन्मदा आकाशमा भएका ग्रहहरुको चित्र उसको जन्मकुण्डली हो । जन्मदाको अवस्थाको एउटा विशेष प्रभाव रहन्छ तर प्रतिफलमा उनीहरुको तात्कालीक स्थिति बढी महत्वपूर्ण हुन्छ । ग्रहहरुको गति निश्चित नियममा हुन्छ । कुन समयमा कुन ग्रह कहाँ हुन्छ र त्यसको प्रभाव कस्तो हुन्छ भन्ने कुरा ज्योतिष शास्त्रमा स्पष्ट छ । ग्रहहरुको प्रभाव फरकफरक व्यक्ति या पदार्थमा फरकफरक हुन्छ । त्यही फरकफरक प्रभाव सम्बन्धित व्यक्तिमा कस्तो हुनसक्छ भन्ने सुक्ष्म अध्ययनका लागि व्यक्तिको जन्म समयका ग्रहहरुको अवस्था र तत्कालीक अवस्थाबाट निस्कर्ष निकालिन्छ । जन्मकालीन ग्रहहरुको राशि, नक्षत्र, अंश र हाल ग्रहहरूको राशि, नक्षत्र र अंशका आधारमा दैनिक, मासिक या वार्षिक फल या प्रभाव जान्न सकिन्छ । 

मानिसको जन्मकालीन ग्रहहरुको अवस्थाका आधारमा अहिलेको अवस्था कस्तो छ भन्ने निश्कर्ष निकाल्न सकिन्छ । जीवनका घटनाहरू, आर्थिक, सामाजिक, शारीरिक तथा मानसिक अवस्थाको चित्रण गर्न सकिन्छ । त्यसका लागि ज्योतिष शास्त्रमा नौ ग्रहको प्रभाव फरकफरक तर आफ्नो निजी गुण र धर्मका आधारमा निश्चित गरिएको छ । ग्रहको गुण र धर्म निश्चित हुन्छ तर उसको जन्मकालीन अवस्था र तात्कालीक अवस्थाको प्रभाव निरन्तर बदलिइरहन्छ । जन्मकालीन समयका ग्रहहरुले निश्चित लक्ष्य र उद्देश्य तय गरेका हुन्छन् । उक्त लक्ष्य र उद्देश्यका लागि तत्कालीन ग्रहहरुको अवस्था विशेष प्रभावकारी हुन्छ । ग्रहहरुले तय गरेको लक्ष्य र तात्कालीक गोचरका बीचमा मानिसको मानसिकता र कर्म थपिन पुग्छ । ग्रहहरुको लक्ष्य र मानिसको लक्ष्यबीच तालमेल भएमा सफलता मिल्दै जान्छ भने विपरीत भएमा असफलता मिल्छ । त्यसैले ग्रहहरुले तय गरेको लक्ष्यअनुसार व्यक्तिले आफ्नो कर्म गरोस् भनेर नै ज्योतिषलाई आँखा भनिएको हो । आँखाको प्रयोग लक्ष्यसम्म पुग्नका गरिन्छ । त्यसैले हरेक मानिसले ज्योतिषीय लक्ष्य र जीवनको लक्ष्यबीच सामञ्जस्यता मिलाउन ज्योतिषीय परामर्श लिइरहनुपर्छ । 

जीवनलाई प्रत्यक्ष प्रभाव पार्ने ग्रह र तिनले सिर्जना गर्ने प्रभावका विषयमा सामान्य जानकारी राख्नु सबैका लागि लाभदायी हुन्छ । ज्योतिष शास्त्रमा प्रयोगमा आउने नौ ग्रहहरु सूर्य, चन्द्रमा, मङ्गल, बुध, शुक्र, वृहस्पति, शनि, राहु र केतु हुन् । यी ग्रहहरुको फरकफरक र नितान्त निजी स्वभाव र प्रभाव हुन्छ । ग्रहहरुमा सबैभन्दा पहिलो सूर्य हो । यसले व्यक्तिको आत्माको प्रतिनिधित्व गर्छ । उसमा आत्मविश्वास कस्तो छ ? स्वाभिमान वा आत्म–सम्मान कस्तो छ ? हड्डी कति मजबुत छ भन्ने जनाउँछ । यसबाटै उसको पिता कस्तो छ । जन्मस्थान कस्तो छ । आत्मामा शुद्धता छ छैन हेर्न सकिन्छ । अग्नि तत्वको कारक ग्रह भएकाले व्यक्तिको ऊर्जा मापन यसै ग्रहबाट गर्न सकिन्छ । यो ग्रहहरुको राजा भएकाले व्यक्तिमा नेतृत्व क्षमता कस्तो छ भन्ने ज्ञात गर्न सकिन्छ । 

मनलाई प्रत्यक्ष प्रभाव पार्ने ग्रह चन्द्रमा हो । यो ग्रहले भावनात्मक कुरालाई प्रतिनिधित्व गर्छ । व्यक्तिको मानसिक अवस्थालाई उसको चन्द्रमाको अवस्थाले स्पष्ट पार्छ । चन्द्रमा जलसँग सम्बन्धित ग्रह हो । मानिसको शरीरमा पनि अधिक जल तत्व हुने हुनाले चन्द्रमाको अवस्थाका आधारमा शरीर र मनको अवस्था मापन गर्न सकिन्छ । यसले माता, सुख, मन, मनस्थितिको ज्ञात गराउँछ । चन्द्रमा मनको कारक भएको कारण व्यक्तिको मनमा उत्पन्न हुने भाव र त्यसबाट सिर्जना हुने कर्मको प्रकृति पनि थाहा पाउन सकिन्छ । 

अर्को ग्रह बुध हो । शिक्षाको मालिक बुध बुद्धिको कारक ग्रह हो । सञ्चारको कारक ग्रहको रुपमा बुधलाई लिइन्छ । बुधको अवस्थालाई हेरेर व्यक्तिमा जनसम्पर्कको अवस्था कस्तो छ भन्ने आँकलन गर्न सकिन्छ । कुनै पनि सूचनाको सञ्चार, गोपनीयता, सूचना–सङ्कलन तथा सूचनाको उपयोग कस्तो हुन सक्ला भन्ने अनुमान लगाउन सकिन्छ । यो ग्रह व्यापारको कारक पनि हो । यसले व्यक्ति व्यापारमा सफल हुन्छ हुँदैन भन्ने ज्ञात गर्न सकिन्छ । 

शुक्र ग्रह समृद्धि र सम्पन्नताको ग्रह हो । यसले व्यक्तिको जीवनमा सम्पन्नता कस्तो रहन्छ भन्ने थाहा लाग्छ । सम्पत्ति, सम्पन्नता, खुशीको स्रोत शुक्र ग्रहको अवस्थाबाट ज्ञात गर्न सकिन्छ । हरेकको जीवनमा खुशीको आधार धन सम्पत्ति हो भने साथमा खुशी र आनन्दित जीवनका लागि प्रेम आवश्यक हुन्छ । अर्थको विषय शुक्रलाई जोडेर हेरिन्छ । यदि अर्थ राम्रो छ भने उसको जोश, जाँगर र ऊर्जा पनि सकारात्मक हुन्छ । शुक्र मनोरञ्जनको कारक पनि भएकाले व्यक्तिमा कतिको रमाइलोपना छ भन्ने पनि यसैबाट ज्ञात हुन्छ । समृद्धि, खुशी, आनन्द, मनोरञ्जन, सौन्दर्य, जोश, वीर्य, पुरुषको दाम्पत्य जीवन यी सबै कुरा शुक्रको कब्जामा छ ।

मङ्गललाई व्यक्तिको साहसको अवस्थामा हेरिन्छ । यो ग्रह अग्निकारक ग्रह हो । यसले ऊर्जा र शक्तिको प्रतिनिधित्व गर्छ । व्यक्तिमा साहस कति छ ? शक्ति र ऊर्जा कति छ ? लडाईं या झगडामा कति शक्ति खर्च गर्छ । निडर छ वा डरपोक छ यसैबाट ज्ञात हुन्छ । त्यस्तै बृहस्पति ग्रहले धर्म र भाग्यको प्रतिनिधित्व गर्छ । यसले सन्तान, धन, धर्म, अध्यात्म जस्ता विषयमा आफ्नो अवस्थाअनुसारको फल प्रदान गर्छ । शुभ बृहस्पतिले भाग्यवान बनाउँछ भने अशुभ वृहस्पतिले कूल परम्परामा नकारात्मकता ल्याई व्यक्तिलाई विभिन्न समस्यासँग लड्न बाध्य बनाउँछ । जसको वृहस्पति राम्रो छ उसको सर्वत्र शुभ बनाउँछ । ज्ञानको कारक भएको व्यक्तिमा कति ज्ञान छ भन्ने यसैबाट ज्ञात हुन्छ । 

न्यायको कारक ग्रह शनि हो । यसले नीति नियम र अनुशासनको प्रतिनिधित्व गर्छ । व्यक्ति कति अनुशासित छ भन्ने कुरा शनिको अवस्थाबाट थाहा हुन्छ । यसले कर्मको प्रतिनिधित्व गर्छ । व्यक्ति कति मिहेनत गर्छ, नियमको पालना गर्छ या गर्दैन, अल्छी छ या छैन, आयु कस्तो छ जस्ता विषयमा शनिको अवस्थाले स्पष्ट पार्छ । 

राहु ग्रह आकस्मिताको कारण हो । कुनै पनि आकस्मिक रुपमा हुने सकारात्मक या नकारात्मक घटनाको कारक राहु हो । यो परिवर्तनको स्रोत हो । यसले व्यक्तिलाई विद्रोही बनाउँछ । अधिक सफलता या अधिक असफलताको कारक पनि राहु हो । केतु ग्रह व्यक्तिको आन्तरिक अवस्था हो । यसले व्यक्तिभित्रको चेतको प्रतिनिधित्व गर्छ । कसैलाई महायोगी, साधु बनाउनेसम्मको काम केतुले गर्न सक्छ । पुनर्जन्म या मोक्ष केतुको अवस्थाले बताउँछ । राहु र केतु दुवै छाँया ग्रह हुन् । यिनको आफ्नो भौतिक स्वरुप छैन । 

यसरी ग्रहहरुको विशेषता, जिम्मेवारी र कारकत्वको आधारमा व्यक्तिको जीवनको मार्गदर्शन मिलाउँदै कर्ममा सम्बन्धित ग्रहको उपयोग गराउनुपर्छ । ज्योतिषीय परामर्शमा ग्रहहरुको कारकत्वलाई जीवनका विभिन्न चरणमा दशा, अन्तरदशाका आधारमा प्रयोग गराउन मार्ग दर्शन गर्ने काम ज्योतिषीको हो । केवल भविष्यवाणी मात्र ज्योतिषीको काम होइन । ज्योतिषीको काम भविष्यमा हुने घटनाको फेहरिस्त बताउने मात्र नभएर उसको लक्ष्य प्राप्तिका लागि ग्रहहरुको उपयोग गर्ने मार्ग देखाउने हो । ज्योतिषीले ग्रहको अवस्था उसको कारकत्व र दशाका आधारमा व्यक्तिको कर्मलाई दिशानिर्देश गर्ने हो भने कुनै पनि मानिस जीवनमा असफल हुँदैन । विगत, वर्तमान र भविष्यको ग्रहको गतिका आधारमा पेशा, व्यवसाय या अन्य कर्ममा ग्रहहरुको उपयोग गर्न परामर्श दिने हो भने ज्योतिषी जीवनको सच्चा मार्गदर्शक बन्छ । कुन विषयको कमीले व्यक्ति पीडित छ या कुनको अधिक प्रभावले समस्यामा छ भन्ने बुझेर कमजोरलाई बल दिने र अधिकलाई कटौती गर्ने हो भने मात्र ज्योतिष शास्त्रको सही उपयोग हुनसक्छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै