• २०८१ बैशाख १८ मंगलबार

सर्लाहीमा क्षयरोगी बढे

kharibot

बरहथवा (सर्लाही)। सर्लाहीमा गत वर्षभन्दा क्षयरोगीको सङ्ख्या बढेको पाइएको छ । स्वास्थ्य कार्यालय मलङ्गवाको क्षयकुष्ठ शाखाले सार्वजनिक गरेको तथ्याङ्कअनुसार जिल्लामा पछिल्लो समय क्षयरोगीको सङ्ख्या बढेको हो । 

गत वर्ष छ सय क्षयरोगी रहेकामा यस वर्ष २९ जना थपिएका छन् । योसँगै जिल्लामा क्षयरोगीको सङ्ख्या छ सय ३० जना पुगेका छन् । 

जिल्लामा फेला परेका क्षयरोगीमध्ये धेरै हरिवन नगरपालिका क्षेत्रका रहेका स्वास्थ्य कार्यालय मलङ्गवाका क्षयकुष्ठ अधिकृत बलिराम यादवले जानकारी दिए ।

जिल्लामा फेला परेका कूल क्षयरोगीमध्ये ८९ अर्थात् १४ दशमलव १३ प्रतिशत १४ वर्षमुनिका रहेका अधिकृत यादवले बताए ।

उनका अनुसार जिल्लामा क्षयरोगीको सङ्ख्या प्रतिलाखमा एक सय ५२ जना छन् ।

गाउँ समाजमा क्षयरोगसम्बन्धी चेतनास्तर कम भएका कारण पनि क्षयरोग सङ्क्रमण बढेको उनको भनाइ छ । क्षयरोग नियमित उपचारबाट निको बनाउन सकिने भए पनि अझै धेरै उपचार सेवाबाट टाढा रहने गरेका उनको भनाइ छ । सङ्क्रमितले गर्ने लापरबाही क्षयरोगी बढ्नुको मुख्य कारण रहेको स्वास्थ्यकर्मीको दाबी छ । 

स्वास्थ्य कार्यालय मलङ्गवाका प्रमुख डा नवलकिशोर झाले जिल्लामा क्षयरोगी खोज पड्ताल अभियान बढेका कारण बिरामी धेरै फेला परेको उनको दाबी थियो । 

समाजमा क्षयरोगी लुकेर रहे लक्ष्य पूरा गर्न समस्या हुने भएकाले सबै रोगी फेला पार्नुपर्ने बागमती नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख पदम रायमाझीले बताए । यस क्षेत्रमा मुस्लिम, दलितलगायतका समुदायमा क्षयरोगीको सङ्ख्या पहिचान गरेको छ । 

यस रोगले ज्येष्ठ नागरिक, एचआइभी सङ्क्रमित, कुपोषित बालबालिका, मधुमेह, क्यान्सरलगायतका बिरामी, इँटाभट्टामा काम गर्ने परिवार तथा बालबालिकालाई उच्च जोखिममा पारेको डा झाले बताए ।

लामो समय सुक्खा खोकी लागे, रातिराति ज्वरो आए, जिउ दुख्नेलगायतका समस्या भए तत्काल नजिकैको स्वास्थ्य संस्थामा गएर खकार जाँच गर्नुपर्ने उनको भनाइ छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै