• २०८१ बैशाख १७ सोमबार

म्याग्दीमा १६ किलोमिटर सडक कालोपत्र हुँदै

kharibot

गलेश्वर (म्याग्दी)। म्याग्दीमा  चालु आर्थिक वर्षमा १६  किलोमिटर सडक कालोपत्रका लागि तयारी भइरहेको छ । 

गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयअन्तर्गतको पूर्वाधार विकास कार्यालयले सञ्चालन गरेका बहुवर्षीय र सालबसाली आयोजनामार्फत १६ दशमलव दुई किलोमिटर सडक कालोपत्र÷आरसिसी र पिसिसी ढलान गर्न लागेको हो ।

यसैक्रममा आज पश्चिम म्याग्दीको मालिका गाउँपालिका वडा नं ६ उपल्लो दरबाङको जनप्रिय टोलबाट शान्ति टोलसम्मको पाँच सय मिटर सडक कालोपत्र भइरहेको छ ।

त्यसैगरी बुधबार बेनी नगरपालिका–४ सिङ्गाको पौडेलचोकबाट वडा कार्यालयसम्म जोड्ने सडक कालोपत्र गरिएको थियो । 

दरबाङको सडक कालोपत्र गर्ने ठेक्का लिएको सक्षम ब्रदर्स निर्माण कम्पनीले आजदेखि कालोपत्रको काम सुरु गरेको कम्पनीका सञ्चालक मनोज कार्कीले जानकारी दिए ।

उनका अनुसार नालीसहित छ सय मिटर सडक कालोपत्र गर्न कम्पनीले भ्याटबाहेक रु ५० लाखमा जिम्मा लिएको हो ।

त्यसैगरी जिल्लाका अन्य ठाउँका सडक पनि कालोपत्र भइरहेका पूर्वाधार विकास कार्यालयले जनाएको छ । कार्यालयका प्रमुख विष्णुप्रसाद पौडेलले छ किलोमिटर ग्राभेल, १० किलोमिटर नयाँ मार्ग खोल्ने, १५ किलोमिटर सडक विस्तार र चार किलोमिटर नाली निर्माण, १० हजार घनमिटर टेवा पर्खाल निर्माण गर्न आयोजना सञ्चालन भएको जानकारी दिए ।

उनका अनुसार सडक निर्माण, स्तरोन्नति, कालोपत्र, झोलुङ्गे र सडक पुलसम्बन्धी नयाँ ७० योजना रहेकामा ११ योजना बहुवर्षीयका लागि स्रोत सुनिश्चितता गर्न सिफारिस भएकामा चार ठेक्का मूल्याङ्कनको चरणमा रहेका छन् । 

सालबसाली २३ योजनाको ठेक्का र १३ उपभोक्ता समितिमार्फत कार्यान्वयन भइसकेका छन् । सातवटा सालबसाली योजना सम्पन्न भइसकेका छन् । चार योजनाको ठेक्का सम्झौताको तयारी भएको छ । यसअघि ठेक्का सम्झौता भएका १३ आयोजना चालु रहेका छन् ।

चालु आर्थिक वर्षमा कुल रु ७१ करोड ३७ लाख बजेट विनियोजन गरिएको कार्यालयले फागुन मसान्तसम्म रु आठ करोड ९३ लाख ४३ हजार अर्थात् १२ दशमलव ५१ प्रतिशत बजेट खर्च गरेको छ ।

गत आवमा १३ दशमलव २८ किलोमिटर पक्की सडक, सात दशमलव दुई किलोमिटर ग्राभेल, २३ किमी दुई सय ७५ मिटर सडक निर्माण भएको थियो ।

यस वर्ष पाँच दशमलव छ किलोमिटर दूरीको गलेश्वर–पिपले–भगवती सडक कालोपत्र र दरवाङ–धारापानी सडकको छ किलोमिटर छ सय मिटर ग्राभेल सकिएको छ । बेनी–दरवाङ सडकको सिम–लाम्पाटा खण्ड र लाम्पाटा–ढाडखर्क खण्डमा करिब नौ किलोमिटर कालोपत्र गर्ने तयारी भएको छ ।

रु २० करोड लागत अनुमान गरिएको बेनी–पाखापानी, रु २५ करोड लागत अनुमान गरिएको धारापानी–ताकम–शिवाङ कालोपत्र गर्न आह्वान गरिएको ठेक्का प्रस्ताव मूल्याङ्कनको चरणमा छ ।

बेनी–भकिम्ली, अदिभारा–डाडागाउँ र पखेर–बरंजा सडक स्तरोन्नतिका लागि रु १०–१० करोड बजेटको आयोजनाको ठेक्का आह्वान गरिएको छ । 

 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै