• २०८१ बैशाख १८ मंगलबार

मधेस प्रदेश सरकारले सञ्चारमैत्री कार्ययोजना बनाउँदै

kharibot

जनकपुरधाम। मधेस प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले आमसञ्चार माध्यमको विकासका लागि कार्यायोजनाका साथ काम गर्ने बताएका छन् । 

जनकपुरधाममा आज सञ्चारकर्मीसँग छलफल गर्दै मन्त्री लेखीले प्रदेश सरकार सञ्चारमाध्यम तथा सञ्चारकर्मीमैत्री नभएको गुनासो अन्त्य गर्न तत्काल कार्ययोजना बनाइ काम गर्ने बताए ।  

“हिजोका दिनमा के भयो र कसले के गरे, के गरेनन् भन्नेतर्फ म जान चाहन्न तर म नेतृत्वमा आएपछि सञ्चारकर्मी र सञ्चारसम्बद्ध संस्थाबारे गम्भीर छु । विभिन्न तहमा छलफल सुरु गरेको छु”, मन्त्री लेखीले भने, “सञ्चारजगत्लाई मर्यादित र सम्मानित बनाउन आजैका मितिदेखि काम गर्छु । मन्त्रालयका अधिकारीसँग बसेर कार्ययोजना बनाउने मेरो योजना छ । त्यसमा तपाईंहरूबाट पनि सल्लाह, सुझाव लिनेछु ।”

मन्त्री लेखीले लोककल्याणकारी विज्ञापन, सञ्चारकर्मीको पेसागत तथा भौतिक सुरक्षाका लागि समन्वय, सूचनामा सहज पहुँचका लागि ‘सूचना डेस्क’, र मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्ने परिपाटी बसाउन पहल गर्ने बताए । 

कार्यक्रममा सञ्चारकर्मीले सङ्घीयता ल्याउन भएका आन्दोलन र परिवर्तनमा महत्वपूर्ण भूमिका खेलेका स्थानीय सञ्चारमाध्यमलाई प्रदेश सरकारले उपेक्षा गरेको गुनासो गरेका थिए । 

प्रदेश सरकारका निकायले सूचना लुकाउने, मन्त्रिपरिषद्कै निर्णय सार्वजनिक नगर्ने, मिडियालाई  कमजोर बनाउने, स्थानीय मिडियालाई प्रवद्र्धन गर्ने ठोस् योजना नल्याउने र लोककल्याणकारी समानुपातिक विज्ञापनलाई व्यवस्थित बनाउनमा ध्यान नदिनेजस्ता कारणले समस्या भएको सञ्चारकर्मीको गुनासो थियो । 

त्यस क्रममा नेपाल पत्रकार महासङ्घ मधेस प्रदेशका अध्यक्ष राजेश कर्णले प्रदेश सरकार सञ्चारमाध्यम र सञ्चारकर्मीमैत्री नभएको बताए ।

“गएको एक वर्षमा मात्रै १३ जना पत्रकारमाथि आक्रमण, धम्की र कुटपिट भएका छन् । विज्ञापन र अन्य स्रोतको अभावमा मिडिया हाउस बन्द हुने र पत्रकारहरू बेरोजगार बन्ने अवस्था आइसकेको छ ।”, अध्यक्ष कर्णले भने, “धेरै साथी समस्यामा छन् । केही गम्भीर रोगसँग लड्दैछन् । केहीले उपचार अभावमा ज्यान गुमाइसके तर सरकारले समस्या समाधानको  ठोस नीति लागू गरेको छैन । विगतमा स्वास्थ्य बीमा, पत्रकारको उपचारका लागि रु ५० हजार दिने घोषणा कार्यान्वयन भएन ।” 

पत्रकार महासङ्घ धनुषाका अध्यक्ष मनिका झा, पत्रकारहरू श्यामसुन्दर शशी, शैलेन्द्र महतो क्रान्ति, टीकाराम सुनार, धर्वेन्द्र झा, श्रीनारायण साहलगायतले प्रदेश सरकारलाई मिडियामैत्री बनाउन नयाँ भूमिकामा आएका मन्त्री लेखीले समन्वयकारी भूमिका निर्वाह गर्ने अपेक्षा व्यक्त गरे ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै