• २०८१ बैशाख १५ शनिबार

पाकिस्तानका राष्ट्रपति जरदारीले छोरीलाई बनाए 'फर्स्ट लेडी'

kharibot

काठमाडौँ । पाकिस्तानका राष्ट्रपति आसिफ अलि जरदारीले आफ्नो छोरी आसिफा भुट्टो ज़रदारीलाई देशको फर्स्ट लेडी बनाएका छन् । सामान्यतया, प्रथम महिलालाई कुनै देशको राष्ट्रपति वा प्रधानमन्त्रीको पत्नी मानिन्छ । तर पाकिस्तानमा राष्ट्रपति जरदारीले आफ्नी छोरी असिफा देशको प्रथम महिला हुने बताउदै ऐतिहासिक घोषणा गरेका छन् ।
आसिफ अली जरदारीकी पत्नी तथा पाकिस्तानका पूर्व प्रधानमन्त्री बेनजिर भुट्टोको सन् २००७ मा हत्या भएको थियो ।

त्यतिबेला असिफा भुट्टो मात्र १४ वर्षकी थिइन् । बेनजिर भुट्टो इस्लामिक देश पाकिस्तानको पहिलो महिला प्रधानमन्त्री थिइन् र सन् १९९८ मा प्रधानमन्त्री बनेपछि उनी तीन सन्तानकी आमा बनकी थिइन् ।

जरदारी पहिलो पटक सन् २००८ मा राष्ट्रपति बनेका थिए भने बेनजिर भुट्टोको २००७ मा हत्या भएको थियो । त्यसबेला आधिकारिक रूपमा पहिलो महिलाको रूपमा कसैलाई नियुक्त गरिएको थिएन । जरदारी सन् २०१३ सम्म पाकिस्तानको राष्ट्रपति थिए ।

तर यसपटक पाकिस्तानमा नयाँ सरकार बनेपछि र आसिफ अली जर्दारीले गत आइतबार देशको १४औँ राष्ट्रपतिको सपथ लिएपछि उनकी कान्छी छोरी असिफाको नाम पहिलो महिला पदका लागि घोषणा गरिएको थियो । अहिले आसिफा ३१ वर्षकी छिन् ।

असिफा सन् २०२० देखि राजनीतिमा सक्रिय छिन् । बख्तावर भुट्टो जरदारी आसिफाकी दिदी हुन् । बख्तावर भुट्टोले सामाजिक सञ्जालमा लेखेकी छन्- आसिफा अली जरदारीले पनि प्रथम महिलालाई दिइने सुविधा पाउनेछन् ।

उनी पाकिस्तान पिपुल्स पार्टी अर्थात पीपीपीको चुनावी अभियानमा सक्रिय थिइन् । आसिफाले आफ्नो राजनीतिक करियर नोभेम्बर २०२० मा पीपीपीको र्‍यालीबाट सुरु गरेकी थिइन् ।

यो विषय चर्चामा आएपछि कानुनका विज्ञहरुले राष्ट्रपतिलाई आफ्नो परिवारको कुनै पनि महिला सदस्यलाई प्रथम महिलाको पद दिने अधिकार रहेको बताएका छन् । यस विषयमा कानूनमा कुनै बाध्यता नरहेको उनीहरुको भनाई छ । सन् १९७५ को कानुनमा राष्ट्रपतिलाई दिइएको अधिकारमध्ये प्रथम महिलाको उल्लेख छैन । गृह मन्त्रालयले जारी गरेको कागजातमा पनि प्रथम महिला वा प्रथम पतिको उल्लेख छैन ।

संविधान र कानुनबमोजिम राष्ट्रपतिलाई दिइने सुविधा उनका परिवारका सदस्य र सन्तानलाई पनि उपलब्ध छ । कानुनअनुसार राष्ट्रपतिको परिवारका सदस्यले सरकारी निवास र विमान प्रयोग गर्न पाउँछन् । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै