• २०८१ जेठ ७ सोमबार

हुम्लाको गोठी गाउँमा गाडी पुग्दा स्थानीय खुसी

kharibot

सिमकोट (हुम्ला)। हुम्लाको दक्षिणी भेगमा अवस्थित सर्केगाड गाउँपालिका–५ को गोठी गाउँपालिकामा पहिलो पटक गाडी पुग्दा स्थानीय खुसी भएका छन् । 

गाउँपालिका केन्द्र सर्केगाड बजारमा गाडी पुगे पनि गाउँमा सडकले भने छोएको थिएन । गाउँमै मङ्गलबार गाडी र त्यसमा चढेर यात्रु पुगेपछि यहाँका स्थानीय निकै खुसी भएका हुन् । 

स्थानीय कविन्द्र शाहीले स्थानीयको वर्षौंदेखि गाडी देख्ने सपना पूरा भएपछि बाजागाजासहित खुसियाली मनाएको बताए ।

सो विकट घरआँगनलाई सडक सञ्जालले जोडेको हेर्ने चाहना पूरा भएको र आवतजावतदेखि सम्पूर्ण सामग्री ढुवानीमा सहज हुने भएको उनले बताए । अब यहाँका स्थानीयले पालिकाको केन्द्रदेखि गोठी गाउँसम्म आवतजावत गर्दा पैदल हिँड्नुपर्ने बाध्यताको अन्त्य भएको छ ।

सडक सञ्जालसँग जोडिएपछि एकसाथ छ वटा बोलेरो जिप गोठी गाउँमा पुगेका थिए । आफ्नै गाउँमा गाडी पुगेको देखेर यहाँका ज्येष्ठ नागरिक पनि खुसी भएका अर्का स्थानीय जैमल शाहीले बताए ।

गाडी पुगेपछि अब गोठी गाउँ राष्ट्रिय सडक सञ्जालसँगसमेत जोडिएको छ । सर्केगाड गाउँपालिका केन्द्र यसअघि नै राष्ट्रिय सडक सञ्जालसँग जोडिएको थियो । 

गाउँमा ताँती लागेर आएका बोलेरो जिप र त्यसमा रहेका यात्रु तथा सवारी चालकलाई बाजागाजा तथा फूल अबिरले स्वागत गरिएको थियो ।

गाडी चालकलाई स्थानीयले फूलमाला र अक्षता लगाएर भव्य स्वागत गरेका थिए । दुर्गम गाउँमा गाडी पुगेपछि अब बिरामीदेखि सबैखाले यात्रुलाई यात्रामा सहज मात्र नभएर सामान ढुवानी गर्न पनि सजिलो हुने भएको शाहीले बताए । 

सर्केगार्ड, गोठी, रोडिकोट, फुचा, राहदेव, पङ्खा हुँदै मारघोरसम्मको सडक निर्माणका लागि पूर्वाधार विकास कार्यालयले रु चार करोड ४९ लाख बजेटको व्यवस्था गरेको थियो । 

अघिल्लो आर्थिक वर्षबाट सो सडकको निर्माण सुरु भए पनि विष्फोटक पदार्थ व्यवस्था गर्न निर्माण कम्पनीलाई समस्या भएका कारण ढिलागरी सडक निर्माण पूरा भएको हो । उक्त सडक पाँचदेखि दश मिटर चौडाइ छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै