• २०८१ बैशाख १५ शनिबार

कतार इनर्जीले गर्यो भारतको पेट्रोनेटसँग २० वर्षको ग्यास सम्झौता

kharibot

दोहा । कतार भारतको पेट्रोनेटलाई २० वर्षसम्म तरलीकृत प्राकृतिक ग्यास (एलएनजी) आपूर्ति गर्न सहमत भएको खाडी इमिरेट्सको सरकारी स्वामित्वको ऊर्जा फर्मले मङ्गलबार घोषणा गरेको छ । 

कतार इनर्जीले सम्झौताअन्तर्गत भारतका लागि सरकारी स्वामित्वको पेट्रोनेटलाई प्रतिवर्ष ७५ लाख टन एलएनजी आपूर्ति गर्ने कतारी कम्पनीले विज्ञप्तिमा जनाएको छ । कतारइनर्जीका प्रमुख कार्यकारी एवं ऊर्जामन्त्री साद अल–काबीले भने, “यो सम्झौता कतार र भारतबीच लामो समयदेखिको ऊर्जा साझेदारीमा अर्को कोसेढुङ्गा हो र यो भारतमा पहिलो एलएनजी सिपमेन्टको २०औँ वार्षिकोत्सवका अवसरमा आएको छ ।”

कतारइनर्जीको एलएनजी फ्लिटले भारतलाई ग्यासको पहिलो आपूर्ति सन् २०२८ मेदेखि गर्नेछ । “यो नयाँ सम्झौताले भारतसँगको सम्बन्ध अझ सुदृढ हुनेछ र यसको ऊर्जा मिश्रणमा प्राकृतिक ग्यासको योगदान बढाउने दृष्टिकोणलाई समथन गर्नेछ भन्ने हामीलाई विश्वास छ”, काबीले भने । 

अमेरिका, अस्ट्रेलिया र रुससँगै कतार विश्वको शीर्ष एलएनजी उत्पादकहरूमध्येको एक हो । चीन, जापान र दक्षिण कोरियाको नेतृत्वमा रहेका एसियाली मुलुकहरू कतार ग्यासका लागि प्रमुख बजार हुन् तर युक्रेनमाथि रुसको आक्रमणपछि आपूर्तिमा शङ्का भएपछि युरोपेली मुलुकहरूबाट पनि माग बढेको छ । 

गत वर्ष घोषणा गरिएको चीनको सिनोपेक, फ्रान्सको टोटल, बेलायतको शेल र इटालीको एनीसँग दीर्घकालीन कतारको ग्यास आपूर्ति सम्झौताको घोषणाको लहरपछि यो सम्झौता भएको हो । जनवरीको अन्त्यमा कतारइनर्जीले बङ्गलादेशलाई १५ वर्षसम्म प्रतिवर्ष १५ लाख टन एलएनजीको आपूर्ति गर्नका लागि अमेरिकास्थित एक्सेलरेट इनर्जीसँग सम्झौताको घोषणा गरेको थियो ।         

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै