• २०८१ बैशाख २४ सोमबार

बुढाथोकीको निधनमा कांग्रेसले तीनदिनसम्म झन्डा आधा झुकाउने

kharibot

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सम्पन्न भएको छ ।  आज आकस्मिक रुपमा बसेको सो बैठकले केन्द्रीय सदस्य एवं पूर्व मन्त्री केशवकुमार बुढाथोकीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ ।

नेपाली कांग्रेसका अनुसार केन्द्रीय सदस्य, संविधान सभा सदस्य एवं पूर्व सामान्य प्रशासन मन्त्री केशवकुमार बुढाथोकीको विराटनगरस्थित विराट मेडिकल कलेजमा उपचारका क्रममा हिजो माघ २२ गते असामयिक निधन भएको थियो ।

२००१ साल असोज २२ गते पिता रणकेशर बुढाथोकी र माता नन्दकुमारी बुढाथोकीको सुपुत्रका रुपमा जन्मनु भएका स्वर्गीय बुढाथोकीले नेपाली कांग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा नेतृत्वदायी भूमिका निर्वाह गरेको भन्दै कांग्रेसले स्मरण गरेको छ । उनको सक्रिय योगदान पार्टीको इतिहासमा सदा स्मरणीय रहने जनाउँदै कांग्रेसले उनको निधनबाट पार्टी मर्माहत र स्तब्ध भएको जनाएको छ ।

‘नेता केशवकुमार बुढाथोकीको निधनप्रति कार्यसमितिको यो आकस्मिक बैठक गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ । साथै, उहाँको आत्माको चीर शान्तिको कामना साथ शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दछ,’ जारी बिज्ञप्तिमा भनिएको छ ।

आज बसेको बैठकको निर्णय अनुसार माघ २३-२५ गते अर्थात तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र सबै जिल्ला कार्यालयहरूमा झण्डा आधा झुकाउने र पूर्व निर्धारित सबै कार्यक्रमहरू स्थगित गर्ने, माघ २४ गते बुधबारका दिन केन्द्र, प्रदेश तथा जिल्ला कार्यालयहरू बन्द गर्ने, स्वर्गारोहणको १३ औं दिनसम्म केन्द्र, प्रदेश र जिल्ला कार्यालयहरूमा शोक पुस्तिका राख्ने निर्णय गरेको कांग्रेसले जनाएको छ ।

साथै, स्वर्गारोहणको १३ औं दिनमा सम्बन्धित जिल्ला झापामा शोक सभाको आयोजना गर्ने मुख्य सचिव कृष्णप्रसाद पौडेलद्धारा जारी बिज्ञप्तिमा उल्लेख छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै