• २०८१ बैशाख २१ शुक्रबार

शहिद सप्ताहअन्तर्गत आज माथेमाको सम्झना

kharibot

काठमाडौँ । शहिद धर्मभक्त माथेमाले सहादत प्राप्त गर्नुभएको स्थान काठमाडौँको सिफल उकालोमा आज स्मृतिसभा गरी उनलाई सम्झाना गरिएको छ ।  

शहिद सप्ताह मूल समारोह समिति काठमाडौँ महानगरपालिकाको आयोजना प्रजातन्त्र प्राप्तिका लागि धर्मभक्त माथेमाले अमरत्व प्राप्त गरेको स्थानमा स्मृतिसभा गरिएको हो । कामपाले यही माघ १० गतेदेखि माघ १६ गतेसम्म शहिद सप्ताह कार्यक्रम गर्दै आएको छ ।   

शहिदको सालिकमा पुष्पगुच्छा अर्पण गर्दै कामपाको उपप्रमुख सुनिता डङ्गोलले सुखसयल त्यागेर नागरिक स्वतन्त्रताका लागि  प्राण उत्सर्ग गरेको बताइन् । 

शहिद माथेमाको सम्मानमा कामपाले वडा नं २३ ओमबहालमा पार्क बनाएको छ । महानगरको लगानीमा निर्माण हुने मानवसेवा आश्रम उनकै नामबाट बनाउने योजनामा रहेको डङ्गोलले जानकारी दिइन् ।  

सभामा वडा नं ७ का अध्यक्ष विमल होडाले, असल शासन र विधिको शासनको संस्थागत विकासले मात्र सहिदको सपना पूरा हुने बताए । 

त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति केदारभक्त माथेमाले विद्यालयस्तरमा शहिदकाबारेमा बुझाउन सक्नुपर्ने बताए ।

विसं १९६६ आश्विन ९ गते काठमाडौँको ओमबहाल, नबहिलमा  जन्मिएका माथेमालाई तत्कालीन सासकका विरुद्धमा गतिविधि सञ्चालन गरेको आरोपमा १९९७ कात्तिक २ गते पक्राउ गरिएको थियो । उनलाई १९९७ माघ १३ गते काठमाडौँको सिफलमा ३१ वर्षको उमेरमा  बकाइनोको रुखमा झुन्ड्याएर प्राणदण्ड दिइएको थियो ।

तत्कालीन राणा प्रधानमन्त्री जुद्ध शमशेरले १९९७ साल माघ ६ गते शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गङ्गालाल श्रेष्ठ र दशरथ चन्दलाई ज्यानदण्ड दिने निर्णय गरेका थिए । निर्णय भएको चार दिनपछि शुक्रराज शास्त्रीलाई टेकु मचलीमा झुन्ड्याएर, सात दिनपछि धर्मभक्त माथेमालाई सिफल उकालोमा झुन्ड्याएर र नौ दिनपछि दशरथचन्द र गङ्गालाल श्रेष्ठलाई विष्णुमती नदी किनार शोभा भगवतीमा गोली हानी मृत्युदन्ड दिइएको थियो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै