• २०८१ बैशाख १७ सोमबार

जसपाको महाधिवेशन जेठमा जनकपुरमा हुने

kharibot

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) को पहिलो महाधिवेशन यही जेठ २७, २८ र २९ गते जनकपुरमा हुने भएको छ । जसपाको शुक्रबार बसेको केन्द्रीय समितिको बैठकले  महाधिवेशन यही जेठ २७, २८ र २९ गते जनकपुरमा गर्ने निर्णय गरेको हो ।

जसपा २०७७ वैशाख १२ गते समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टी नेपाल समायोजन गरेर बनाइएको थियो । 

कानुन अनुसार पार्टी गठन भएको ५ वर्ष भित्र महाधिवेशन गरीसक्नु पर्छ । जसपाका अध्यक्ष उपेन्द्र यादवले आफ्नो जीवन कालमा एक पटक मात्र महाविधेशनको सामना गरेका छन् । उनको पार्टी स्थापना भए देखि नै पटक पटक जुट्दै फुट्दै आएको छ ।

दुई पार्टीबिच एकीकरण भई नयाँ पार्टी गठन भएमा एकीकृत पार्टीले ५ वर्षसम्म महाधिवेशन गर्नु पर्ने कानुनी बाध्यता छ । पार्टी गठन भएको ५ वर्ष नपुग्दै यादवले अर्को पार्टीसँग एकीकरण गरी नयाँ पार्टीको घोषणा गर्ने हुनाले महाधिवेशन गर्ने समय अरु ५ वर्ष धकेलिने गर्छ ।

यादवले २०५४ सालमा मधेशी जनाधिकार फोरम नामको गैर सरकारी संस्थाबाट राजनीतिक दलको यात्रा शुरु गरेका थिए । त्यसपछि २०६० सालमा विराटनगरमा फोरमको पहिलो महाधिवेशन भएको थियो । निर्वाचन आयोगमा भने २०६४ को संबिधान सभा चुनाव अघि फोरम राजनीतिक दलको रुपमा दर्ता भएको थियो ।

२०७६ सालमा फोरम र डा. बाबुराम भट्टराईको नयाँ शक्ति पार्टी एकीकरण गरेर समाजवादी पार्टी नेपाल बनाइएको थियो । त्यसपछि २०७७ मा समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टी एकीकरण गरेर जसपा नेपाल बनाइएको थियो । त्यसपछि महन्थ ठाकुर लगायतका नेताहरु अलग भएर २०७८ भादुआमा लोकतान्त्रिक समाजवादी पार्टी बनाए भने डा. बाबुराम भट्टराईले पनि २०७८ मै यादवसंग अलग भएर नेपाल समाजवादी पार्टी बनाएका थिए ।
   

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै