• २०८१ बैशाख २१ शुक्रबार

दक्षिण एसियाली स्केट बोर्ड प्रतियोगिता भोलिदेखि

kharibot

काठमाडौँ। पाँचौँ दक्षिण एसियाली स्केट बोर्ड प्रतियोगिता तथा स्केट जात्रा बिहीबारदेखि सञ्चालन हुने भएको छ । 

नेपाल स्केट बोर्ड, स्केट बोर्डिङ सङ्घ तथा स्केट एन्ड नेपालको संयुक्त आयोजना बुटबलमा हुन लागेको उक्त प्रतियोगितामा विभिन्न नौ टोलीको सहभागिता रहने आयोजक सङ्घका अध्यक्ष अच्युत खनालले जानकारी दिए । 

प्रतियोगितामा दक्षिण एसियाका नेपालसहित भारत, बङ्गलादेश, श्रीलङ्का, भुटान, पाकिस्तान र माल्दिभ्स तथा आमन्त्रित राष्ट्रमा म्यान्मार र थाइल्यान्डले प्रतिस्पर्धा गर्नेछन् । उक्त प्रतियोगितामा नेपालबाट एक सय खेलाडीको सहभागिता रहने आयोजकले जनाएको छ । 

तीन दिनसम्म चल्ने उक्त प्रतियोगिताको पहिलो दिन छनोट चरणका खेल हुनेछन् । छनोट चरणबाट प्रत्येक राष्ट्रको १६ खेलाडी सेमिफाइनलमा प्रवेश गर्नेछन् । सेमिफाइनलबाट प्रत्येक राष्ट्रको आठ खेलाडी उपाधि होडमा प्रवेश गर्नेछन् । 
प्रतियोगितामा पुरुष/महिलामा गेम्स अफ स्केटबोर्ड र वेस्ट रन स्पर्धामा प्रतिस्पर्धा हुनेछ ।

दुवैको स्पर्धा प्रदर्शनका आधारमा शीर्ष तीन स्थान हात पार्ने खेलाडीको टुङ्गो लगाइने छ । पुरुष/महिला दुवैमा शीर्ष तीन स्थान हात पार्ने खेलाडीले क्रमशः एक हजार अमेरिकी डलर, पाँच सय अमेरिकी डलर र दुई सय ५० अमेरिकी डलर नगद पुरस्कार प्राप्त गर्नेछन् ।

उक्त प्रतियोगिताका खेल बुटवलको तिलोत्तमास्थित डुङ्गा स्केट पार्कमा खेलाइने आयोजक सङ्घका उपाध्यक्ष एवं प्रतियोगिता संयोजक जाग्रित पहाडीले जानकारी दिए । 

प्रतियोगितामा शीर्ष तीन स्थान हात पार्ने पुरुष/महिला खेलाडीलाई जर्मनीको स्केट एड इन्टरनेसनलमा तालिमको अवसर पनि प्रदान गर्ने आयोजक सङ्घका अध्यक्ष अच्युत खनालले जानकारी दिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै