• २०८१ बैशाख १७ सोमबार

अस्तित्वको लडाईमा आम आदमी पार्टी, केजरीवाल पनि पक्राउ पर्न सक्ने !

kharibot

काठमाडौँ । भारतमा छोटो समयमा स्थापित भएको आम आदमी पार्टी अहिले आफ्नो अस्तित्वको लडाई लडिरहेको छ । केन्द्रमा रहेको भारतीय जनता पार्टी नेतृत्वको सरकारले आम आदमी पार्टीका एक पछि अर्को नेतालाई निशाना बनाउदै विभिन्न मुद्धामा जेल पठाएपछि आम आदमी पार्टीको भविष्य के हुन्छ भन्ने प्रश्न उठ्न थालेको छ ।

मनी लान्ड्रिंग मुद्दामा तत्कालिन उपमुख्यमन्त्री मनीष सिसोदियाको जमानत याचिका खारेजसँगै ईडीले मुख्यमन्त्री अरविन्द केजरीवाललाई पनि समन जारी गरेको छ । उनलाई दिल्ली सरकारको पुरानो अन्तःशुल्क नीतिसँग सम्बन्धित विषयमा सोधपुछका लागि बोलाइएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । केजरीवाल नोभेम्बर २ मा ईडीसमक्ष हाजिर हुनुपर्ने बताइएको छ । आम आदमी पार्टीकी नेता एवं दिल्लीकी मन्त्री आतिशीले केजरीवाललाई पक्राउ गर्न सक्ने आशंका व्यक्त गरेकी छन् ।

यसैबीच पार्टीका प्रवक्ता सौरभ भारद्वाजले केन्द्रले आम आदमी पार्टीलाई ध्वस्त पार्न खोजेको आरोप लगाएका छन् । केन्द्र सरकारका एजेन्सीहरूले केही समयदेखि आम आदमी पार्टीमाथि हमला गरिरहेको आरोप लगाउदै उनले आम आदमी पार्टीको अस्तित्व मेटाउन सरकार प्रयत्नशील रहेको बताएका छन् ।

दिल्लीमा आम आदमी पार्टी सरकारका तीन मन्त्रीहरू सत्येन्द्र जैन, मनीष सिसोदिया र सञ्जय सिंह दिल्ली रक्सी नीतिसँग सम्बन्धित मुद्दामा पक्राउ परेर हाल जेलमा रहेका छन् । अब ईडीले मुख्यमन्त्री अरविन्द केजरीवाललाई दिल्ली सरकारको पुरानो अन्तःशुल्क नीतिसँग सम्बन्धित सोधपुछको लागि समन जारी गरेपछि उनलाई पनि पक्राउ गर्न सक्ने आशंका गरिएको छ ।

राजनीतिक विश्लेषकहरुले अहिले भारतमा सत्तारुढ दल बिजेपीलाई चुनौती दिनसक्ने पार्टी आम आदमी पार्टी मात्र रहेकोले नरेन्द्र मोदीको सरकारले आम आदमी पार्टीका नेताहरुलाई निशाना बनाएको विश्लेषण गरिरहेका छन् ।

वरिष्ठ पत्रकार शरद गुप्ताले अदालतले बारम्बार दिल्ली एक्साइज नीतिसँग सम्बन्धित मुद्दामा 'मनी ट्रेल' को प्रमाण कहाँ छ भनेर सोधिरहेको तर अहिलेसम्म न त सीबीआई न ईडीले कुनै ‘मनी ट्रेल’ पेश गर्न सकेको छ भन्दै केन्द्र सरकारको नियतमा प्रश्न गर्छन् । नोभेम्बर २ मा अरविन्द केजरीवाललाई सोधपुछपछि हिरासतमा लिएमा पार्टीलाई ठूलो खतरा हुने आशंका पनि छ । किनभने अहिले पार्टीका लगभग सबै ठूला नेताहरु जेलमा छन् । यस्तो अवस्थामा आम आदमी पार्टीसामु कम विकल्प हुने छन् र पार्टीको भविष्य संकटमा पर्ने विश्लेषण हुन थालेको छ ।

अहिले भारतमा मध्य प्रदेश र राजस्थान चुनावको तयारी छ भने २०२४ मा आम निर्वाचन हुदै छ । आम आदमी पार्टी अहिले विपक्षी गठबन्धनमा रहेको छ । विश्लेषकहरुले २०२४ को निर्वाचनमा विपक्षीलाई कम्जोर बनाउने रणनीति अनुसार अहिलेको सबैभन्दा सफल पार्टीलाई बिजेपीले निशाना बनाएको बताउछन् । आम आदमीले अहिले दिल्ली र पन्जाबमा सरकार चलाइरहेको छ ।

आम आदमी पार्टीलाई लामो समयदेखि कभर गर्ने भारतीय पत्रकार कृष्णमोहन शर्माले आम आदमी पार्टीले सामना गर्ने खतरा निकै बढेको टिप्पणी गरेका छन् । कृष्णमोहन शर्मा भन्छन्- 'पार्टीका ठूला नेताहरू सत्येन्द्र जैन, मनिष सिसोदिया र सञ्जय सिंह जेलमा रहेका र अहिले पार्टीका संयोजक तथा मुख्यमन्त्री अरविन्द केजरीवाललाई ईडीले बोलाएकोले आम आदमी पार्टीलाई सीमान्तीकृत गर्ने खतरा छ ।' उनी भन्छन्- 'स्रोतका अनुसार ईडीसँग अरविन्द केजरीवाल विरुद्ध यति धेरै प्रमाण छ कि उनलाई पक्राउ गर्न सकिन्छ ।' यदि उनी पक्राउ परे भने यसले आम आदमी पार्टीको मेरुदण्ड भाँचिने छ । उनको स्थानमा केजरीवालकी पत्नी सुनिता केजरीवाल, सौरभ भारद्वाज वा आतिषीलाई मुख्यमन्त्री बनाउन सकिन्छ तर यसले फाइदा भने नगर्ने बताइन्छ ।

उनी भन्छन्- 'अरविन्दको गिरफ्तारीले आम आदमी पार्टीलाई गहिरो समस्यामा पार्न सक्छ । यी मध्ये कोही पनि दिल्लीको नेतृत्व गर्ने क्षमता छैन । यस्तो अवस्थामा अरविन्द केजरीवालको गिरफ्तारीसँगै आम आदमी पार्टी पतनतर्फ जान सक्छ भन्ने मान्न सकिन्छ ।'

सीबीआईले यस वर्ष अप्रिलमा केजरीवालसँग सोधपुछ गरेको थियो । तर, केजरीवाललाई सीबीआई एफआईआरमा आरोपी बनाइएको थिएन । अब ईडीले यस मामिलामा केजरीवाललाई बोलाएको छ । यस मामिलामा पूर्व उपमुख्यमन्त्री मनिष सिसोदिया र सञ्जय सिंहलाई पक्राउ गरिएको छ ।

सोमबार सर्वोच्च अदालतले यस मामिलामा सिसोदियाको जमानत याचिका खारेज गरेको थियो । केजरीवाललाई ईडीले जारी गरेको समनमा यस मामिलामा ३३८ करोड भारुको ‘मनी ट्रेल’ भएको प्रमाण रहेको बताइएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै