• २०८१ बैशाख २१ शुक्रबार

शौचालय बनेपछि लहानबासीको फेरिएको दिनचर्या

kharibot

लहान (सिरहा) । आशादेवी पासमानलाई अचेल सबेरै घाम झुल्किनुभन्दा अगाडि आँखा मिच्दै साथीहरुलाई जम्मा गरी हुल बाधेर खुट्टी खोलाको किनारमा शौच गर्नुपर्ने विवशता हटेको छ । घर नजिकै सामुदायिक शौचालय बनेसँगै सिरहाको लहान नगरपालिका–५ बलुवा टोलकी आशादेवीजस्तै यहाँका नागरिकको दैनिकीमा परिवर्तन आएको छ । 

आफ्नै टोलमा बनेको शौचालयमा सुरक्षितरुपमा दिसा पिसाब गर्न पाएपछि आशादेवी बाहिर शौच गर्नुपर्ने चिन्ताबाट मुक्त भएकी छिन् । अलि पर खोला किनारमा बिहान झिसमिसेमै शौच गर्न जाँदा लाग्ने समय अब उनी घरधन्दामा बिताउँछिन् । 

सामुदायिक शौचालय बनेपछि आशादेवीजस्तै मुख्य गरी यहाँका गृहणी महिलाको समयको बचत मात्र भएको छैन, कसैले देख्छ की भनेर किस्तावन्दीमा डराइडराइ दिसा बस्नुपर्र्ने बाध्यता पनि हटेको छ ।

सड्चालीस परिवार बस्दै आएको बलुवा टोलमा अधिकांश व्यक्ति सुकुम्बासी दलित समुदायका छन् । उनीहरुसित न शौचालय बनाउने जग्गा छ, न त लगानी गर्ने पैसा । “घरमा शौचालय नहुँदा धेरै दुःख भोग्नुपर्ने बाध्यता थियो । झिसमिसे अँध्यारोमै खुला दिसा बस्नुपर्दा किरामिरा तथा सर्पको डर थियो”, आशादेवीले भनिन्, “अझ झरी पर्दा र  खोलामा आएको बाढीले त झन शौच गर्न कहाँ जाने होला भन्ने चिन्ता हुन्थ्यो । अब नजिकै शौचालय बनेपछि यो समस्याबाट मुक्ति पाइयो ।”  

‘वाटर एड नेपाल’को प्राविधिक सहयोग र दलित जनकल्याण युवा क्लब, लहान नगरपालिका, नेपाल खानेपानी संस्थान लहानको संयुक्त साझेदारीमा सञ्चालित ‘विकन परियोजना’अन्तर्गत टोलमा सामुदायिक शौचालय सञ्चालनमा आएपछि बाहिर खोला किनारतिर खुला शौच गर्नुपर्ने बाध्यताको अन्त्य भएको हो ।

चार वर्ष अघि नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गरियो । खुला दिसामुक्तको मानक पूरा गर्ने नेपाल दक्षिण एसियाकै पहिलो देश भनी घोषणा गरिए पनि त्यसले मधेसका दलित तथा गरिब बस्तीलाई छुनै सकेन । लहान–५ का निवर्तमान वडाध्यक्ष मोहम्मद सुलेमान अन्सारी भन्छन्, “यस समुदायमा सबै सुकुम्बासी छन् । उहाँहरुसँग जग्गा अभावले घरमा शौचालय बनाउने कुरा भएन । नदी किनारमा खुला ठाउँमा शौच गर्न बाध्य थिए । यो ठाउँमा सामुदायिक शौचालय बनाइदिनुप¥यो भनी नगरपालिका र विभिन्न सङ्घसंस्थालाई बारम्बार अनुरोध गरिरह्यौँ र अहिले आएर हाम्रो पहलकदमी सार्थक बनेको छ ।” 

यसअघि टोलवासीले शौचालय बनाइदिने आश्वासन मात्र पाएका थिए । “जो आए पनि नाम लेखेर जान्थे”, स्थानीय निरादेवी पासमानले भने, “टोलमा घरभन्दा राम्रो शौचालय बन्छ होला भनेर त शाोचेको पनि थिएन । टोलमा कसैले घर दिन्छु, कसैले घरैघर चापाकल दिन्छु भन्थे, तर उहाँहरुले (दलित जनल्याण) त साँच्चिकै नै यति राम्रो चर्पी बनाइदिनुभयो” खुसी हुँदै निरादेवी पासमानले भने । 

स्थानीयका अनुसार पहिला पहिला बलुवा टोलमा  मुख छोपेर हिँड्नुपर्ने अवस्था थियो । नदीको किनारमा एक लाइनमा महिला तथा अर्र्को लाइनमा पुरुष शौच गर्न बसेका हुन्थे । पहिले जताततै दिसापिसाब मात्र देखिने बलुवा टोलमा शौचालय बनेपछि गाउँ सफा भएको छ । सरसफाइले स्थानीयको स्वास्थ्यमा पनि सुधारसमेत आएको छ । शौचालय अभावमा घरवरपर जथाभावी दिसापिसाबका कारण झाडापखाला, आउँ, टाइफाइडलगायत रोगले सताउने भए पनि अहिले कमी आएको स्थानीय बताउँछन् ।

दलित हक अधिकारको क्षेत्रमा काम गर्ने दलित जनकल्याण युवा क्लबले गरिब, निमुखा र दलितको जीविकापार्जनको लागि विगतदेखिनै उल्लेखनीय कार्य गर्दैआएको बताउनुहुन्छ क्लवका कार्यकारी निर्देशक विनोदकुमार विसुन्के । दलित बस्तीमा शौचालयको अभाव देखेपछि उक्त समस्यालाई सामधान गर्न उक्त कार्य अगाडि बढाएको उनले जानकारी दिए । 

लहान–५ का वडाध्यक्ष मोहम्मद अब्दुल करिमले शौचालयको अभावमा खुला ठाउँमा शौच गर्न बाध्य र समाजमा पछाडि पारिएको यस क्षेत्रलाई आफ्नो पहिलो प्राथमिकतामा राखेर काम गरिएको बताए । सामुदायिक शौचालय तयार भइसकेपछि लहान नगरप्रमुख महेशप्रसाद चौधरीले भने, “घरभन्दा राम्रो शौचालय बनेको छ, यसको संरक्षण गर्नु हामी सबैको जिम्मेवारी हो ।”

शौचालय अपाङ्गतामैत्री छ । चौध शौचालय ४७ परिवारले प्रयोग गर्दछन् । उनीहरुले ‘बलुवा टोल सामुदायिक शौचालय मर्मतसम्भार समिति’ गठन गरेका छन् । शौचालयको स्थायित्वका लागि भन्दै प्रयोगकर्ताले मासिक शुल्क प्रतिघर रु एकसयका दरले सङ्कलन गर्ने गरेको र उक्त रकम शौचालयमा प्रयोग भएको बिजुलीको महसुल तिर्न तथा शौचालय व्यवस्थापनमा खर्च गरिने समितिका सचिव किरणकुमारी पासमानले जानकारी दिए । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै