• २०८१ बैशाख १५ शनिबार

पोखरास्थित महेन्द्रपुलमा शौचालय निर्माण

kharibot

साङ्केतिक तस्बिर

लेखनाथ (कास्की) । पोखराको मुख्य बजार महेन्द्रपुलमा अत्यधुनिक सार्वजनिक शौचालय निर्माण गरिएको छ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) र पोखरा महानगरपालिकाको साझेदारीमा रु ९५ लाखको लागतमा सार्वजनिक शौचालय निर्माण गरिएको हो । उक्त शौचालयको आज पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) का अध्यक्ष रविना थापाले संयुक्त रुपमा उद्घाटन गरे । 

पोखरा–९ महेन्द्रपुलको सार्वजनिक जग्गामा रहेका जीर्ण भवनहरु विस्थापित गरी आठ आना क्षेत्रफलमा निर्माण गरिएको अपाङ्गमैत्री शौचालयमा चमेना गृह, बगैँचा र शौचालयभित्र स्तनपान कक्षसहित सेनेटरी प्याड पनि उपलब्ध हुने छ । महिला–पुरुष उक्त सार्वजनिक शौचालय केही दिनभित्र नै सञ्चालनमा ल्याइने छ । 

अत्याधुनिक सार्वजनिक शौचालय निर्माणसँगै पोखरा आउने स्वदेशी तथा विदेशी पर्यटकलाई अप्ठ्यारो परिस्थितिमा दिसापिसा गर्नका लागि सहजता मिल्ने विश्वास स्थानीय एवं समाजसेवी नरेन्द्र लालचनले बताए ।

गैरआवासीय नेपाली सङ्घको रु ६० लाख र पोखरा महानगरपालिकाको रु ३५ लाख गरी ९५ लाखमा निर्माण बगैँचासहितको अत्याधुनिक शौचालयको उद्घाटन गर्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उक्त शौचालय पोखराकै नमूना बनेको बताए । 

शौचालय परिसरमा चमेनागृहसहित स्तनपान कक्ष र सेनेटरी प्याडको पनि व्यवस्था गरिएको नगरप्रमुख आचार्यको भनाइ छ । शौचालय निर्माणसँगै यसको उचित सदुपयोग र संरक्षण गर्ने दायित्व प्रयोगकर्ता सबैको भएको उनले बताए । 

“शौचालयमा जम्मा हुने दिसापिसावबाट बायो ग्यास निकालेर चमेनागृहमा प्रयोग गरिने योजना महानगरले अगाडि सारेको छ”, प्रमुख आचार्यले भने, “चमेनागृह आसपासमा चौतारी निर्माण गरिने छ भने अधिकांश ठाउँ खुल्ला रहने छ ।”

एनआरएनएका अध्यक्ष एवं मेगा प्रोजेक्ट संयोजक रविना थापाले शौचालय निर्माणले पोखराको स्वच्छता प्रवद्र्धनमा विशेष योगदान गर्ने विश्वास व्यक्त गरे । सङ्घले पोखरा महानगरपालिकाको साझेदारीमा अन्य योजना निर्माण गर्ने तयारीमा रहेको अध्यक्ष थापाको भनाइ छ ।

पोखरा महानगरपालिकाभित्र हाल १५ स्थानमा महानगरले निर्माण गरेका सार्वजनिक शौचालय र ६० स्थानमा निजी साझेदारीमा सञ्चालन गरिएका सार्वजनिक शौचालय सञ्चालन छन् । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै