• २०८१ बैशाख १५ शनिबार

कालोमोसो प्रकरणमा नेविसंघ मोरङका सभापति पक्राउ

kharibot

विराटनगर । पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्ष महेश दाहालमाथि कालोमोसो दलेको घटनामा संलग्न नेपाल विद्यार्थी संघ (नेविसंघ) मोरङका सभापति सरोज पोखरेललाई प्रहरीले पक्राउ गरेको छ । 

कालोमोसो प्रकरणको नेतृत्व गरेका पोखरेललाई सुनसरी र मोरङ प्रहरीको संयुक्त टोलीले बुधबार बिहान मोरङको बूढीगंगा क्षेत्रबाट पक्राउ गरेको हो । 

विश्वविद्यालय सेवा आयोगको कार्यालयले घटनामा संलग्नविरुद्ध मंगलबार सुनसरीको इलाका प्रहरी कार्यालय इटहरीमा किटानी जाहेरी दिएको थियो । पक्राउ परेका पोखरेलसहित ३ जनाको नाममा किटानी जाहेरी परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घटनामा १०–१५ जना संलग्न रहेको भनेर जाहेरीमा उल्लेख गरिएको छ ।

पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्ष दाहालमाथि गत सोमबार बिहान ९:३० बजेतिर कालोमोसो छ्यापिएको थियो । नेविसंघको नाम लिँदै पुगेको समूहले इटहरी उपमहानगरपालिका–२ स्थित निवासबाट बाहिर बोलाएर दाहालको अनुहारमा मोसो खन्याइदिएको थियो । कार्यालय जाने तयारी गर्दै गरेका बेला निवासमा पुगेर दाहालमाथि अमानवीय हिसाबको दुव्र्यवहार गरिएको प्रहरीको भनाइ छ । 

सेवा आयोगको विज्ञापन रद्ध गर्नुपर्ने माग राख्दै आयोगको कार्यालयमा गत पुसमा नेविसंघको नाममा ताला लगाइएको थियो । कांग्रेसकै अगुवाईमा केही दिनअघि ताला खोलिएको छ । 

सेवा आयोगले विद्यार्थी संगठनका नाममा राखिएको माग पूरा गर्ने अधिकार आफूसँग नभएको स्पष्ट पारिसकेको छ ।यस घटनामा नेविसंघको चर्को आलोचना भएपछि केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले विज्ञप्ति जारी गर्दै घटनाको जिम्मेवारी नेविसंघले नलिने स्पष्ट पारेका थिए । मंगलबार विज्ञप्ति जारी गर्दै उनले कालोमोसो दलिएको घटनालाई अमानवीय भन्दै उनले गलत हर्कतमा संलग्न जोसुकैलाई पनि कारबाहीको दायरामा ल्याउन गृह मन्त्रालय र विश्वविद्यालय प्रशासनसँग माग गरेका थिए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय