• २०८१ जेठ ३ बिहीबार

एशियाडलाई कराते खेलाडी छनोट

kharibot

काठमाडौँ  ।  आगामी भदौमा इन्डोनेसियामा हुने १८औँ एशियाली खेलकूद (एशियाड)का लागि कराते खेलाडी छनोट भएका छन् । 

समान ४–४ पुरुष÷महिला गरी आठ खेलाडी छनोट भएको रेफ्री संयोजक राजेन्द्र कपालीले जानकारी दिए । छनोट भएका एकबाहेक सबै विभागीय टोलीका खेलाडी हुन् । 

पुरुष एकल कातामा नेपाली सेनाका पर्शुराम बास्तोला, ५५ केजीमा नेपाल प्रहरीका सोनाम लामा, ६७ केजीमा काठमाडौँका नवीन रसाइली र ८४ केजीमुनि प्रहरीका दिवस श्रेष्ठ छनोट भए । 

यता महिला तर्फको एकल कातामा प्रहरीकी चन्चला दनुवार, ५० केजीमा एपिएफकी अनु अधिकारी, ६१ केजीमा प्रहरीकी सुनिता महर्जन र ६८ केजीमाथि सेनाकी रीता कार्की छनोट भए । 

दक्षिण कोरियाको इन्चोनमा भएको गत संस्करणमा करातेले नै नेपाललाई पदकविहीन हुनबाट जोगाएको थियो । त्यतिबेला विमला तामाङले महिला एकल कातामा जितेको कांस्य पदक नै नेपालको एक मात्र पदक थियो ।

१८औँ एशियाली खेलकूदका लागि कराते खेलाडी छनोट गर्न राष्ट्रिय खेलकूद परिषद् (राखेप) ले वैशाख १० गते राखेपकी सदस्य शान्ति सिंहको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको थियो । 

समितिका सदस्यहरुमा तालिम तथा प्रशिक्षण विभागका निर्देशक रीमबहादुर रानाभाट, राष्ट्रिय टिम तयारीका निर्देशक अर्जुनबहादुर विक, करातेका मुख्य प्रशिक्षक शोभितराज प्रसाईं र नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै