• २०८१ बैशाख ८ शनिबार

अनलाइनबाट एनओसी लिन सकिने

kharibot

काठमाडौं । विदेशमा उच्च शिक्षा अध्ययनका लागि चाहिने वैदेशिक अध्ययन अनुमति पत्र-एनओसी लिन अब काठमाडौं नै धाउनु नपर्ने भएको छ ।

सावर्जनिक सेवा प्रवाह छिटो-छरितो बनाउने सरकारको लक्ष्य अनुसार शिक्षा मन्त्रालयले आजदेखि एनओसीमा अनलाइन प्रणाली लागू गरेको हो । अब विद्यार्थीले घरमै बसेर एनओसी प्राप्त गर्नसक्ने व्यवस्था मिलाइएको मन्त्रालयले जनाएको छ ।

उच्च शिक्षा अध्ययनका लागि विदेशमा जान चाहने विद्यार्थीले अध्ययन अनुमतिपत्र-एनओसी पत्र लिन घण्टौं लाइनमा बस्नु पर्ने बाध्यता थियो । यस्तो अवस्था अन्त्य गर्न शिक्षा मन्त्रालयको वैदेशिक अध्ययन अनुमति पत्र शाखाले सोमबारदेखि अनलाइनबाट एनओसी वितरण सुरु गरेको हो । विद्यार्थीले अनलाइन माध्यमबाट आवेदन दिएपछि कागजातहरु भेरिफिकेसन गर्ने, राजस्व दाखिला गर्ने र एनओसी आफैँ प्रिन्ट गर्नसक्ने व्यवस्था मिलाइएको छ ।

यस्तै, शिक्षा मन्त्रालयले २३ वटा विभिन्न बैंक र वित्तिय संस्थासँग सम्झौता गरी विदेशी मुद्रा सटही गर्न सकिने व्यवस्थासमेत मिलाएको छ । यसका अलावा विद्यार्थीको विवरण हेर्न राष्ट्रिय परीक्षा बोर्ड तथा अध्यागमन विभागसँग पनि जोडिइसकेको मन्त्रालयको भनाइ छ । यसबाट विद्यार्थीको समय र रकमसमेत बच्ने भएको छ ।

तर, स्नातकोत्तर तह र त्यसभन्दा माथिका तह अध्ययन गर्न जाने विद्यार्थीका लागि अनलाइन सुविधा उपलब्ध छैन, उनीहरु काठमाडौं नै आउनुपर्ने छ । अनलाइनबाट एनओसीसँगै विदेशी मुद्रासमेत सटही गर्न पाउने भएपछि विद्यार्थी र अभिभावक खुसी छन् ।

विश्वका १०६ देशमा ७० भन्दा वढी विषयमा अध्ययनका लागि नेपाली विद्यार्थीहरु विदेशिने गरेका छन् ।

चालु आर्थिक वर्षको १० महिनामा ९१ हजार २१७ जनाले एनओसी लिएका छन् भने यसअवधिमा वैदेशिक अध्ययनका नाममा ६८ अर्ब रुपैयाँ बाहिरिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै