काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल र नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन बोल्डिनबीच भेटवार्ता भएको छ ।
शुक्रबार शिक्षा तथा खेलकुद मन्त्रालयमा भएको भेटमा नेपाल–अमेरिकाबीचको शैक्षिक सहकार्य र खेल कूटनीतिबारे छलफल भएको हो ।
भेटमा दुवै देशबीच शिक्षा क्षेत्रमा लामो समयदेखि हुँदै आएको सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा कुराकानी भएको थियो । मन्त्री पोखरेलले नेपालको आधारभूत शिक्षा सुधार तथा जनशक्ति विकासमा अमेरिकी सहयोगले महत्वपूर्ण योगदान पुर्याएको भन्दै धन्यवाद दिएका थिए ।
मन्त्री पोखरेलले विद्यार्थी, शिक्षक तथा विश्वविद्यालयका प्राध्यापकबीच आदानप्रदान कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने बताएका थिए । फुलब्राइट छात्रवृत्तिलगायत शैक्षिक कार्यक्रमलाई निरन्तरता दिने विषयमा पनि छलफल भएको थियो ।
कार्यवाहक राजदूत बोल्डिनले भोटेकोशी बाढीबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै नेपालको विकासमा अमेरिकी सहयोग निरन्तर रहने बताएकी थिइन् ।
भेटमा सन् २०२८ मा अमेरिकाको लस एन्जलसमा हुने ओलम्पिक तथा प्याराओलम्पिकलाई लक्षित गरी नेपाली खेलाडी र प्रशिक्षकलाई तालिम, खेलाडी विकास तथा खेल व्यवस्थापनमा सहयोग गर्ने विषयमा पनि छलफल भएको थियो । दुवै पक्षले शिक्षा र खेलकुद क्षेत्रमा सहकार्य विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।









