काठमाडौं ।नेपाली कांग्रेसबाट एनपी साउद परराष्ट्रमन्त्री बनेका छन् । उनले शीतलनिवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् विस्तार गरेका छन् । गत पुस १० गते प्रधानमन्त्री बनेका प्रचण्डले आज आठौंपटक मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।
यस्तै नेकपा एकीकृत समाजवादीका तर्फबाट नन्दा चपाईं भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री बनेकी छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा एकीकृत समाजवादीकै प्रकाश ज्वाला यसअघि नै मन्त्री भइसकेका छन् ।
सत्ता गठबन्धनमा भएको भागबन्डाअनुसार नेपाली कांग्रेसले अर्थसहित आठ मन्त्रालय पाएको छ । जसअनुसार कांग्रेसबाट पूर्णबहादुर खड्का नेतृत्वमा चारजना मन्त्री सरकारमा गइसकेका छन् ।
प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको तयारीका लागि परराष्ट्रमन्त्री नियुक्त गरिएको छ । प्रचण्डले वैशाख तेस्रो सातासम्म भारत भ्रमण गर्ने तयारी गरेको बताइएको छ ।
प्रधानमन्त्री नियुक्त भएको चार महिना पुग्नै लाग्दा पनि प्रचण्डले सरकारलाई पूर्णता दिन भने अझै सकेका छैनन् ।
अहिले पनि प्रधानमन्त्रीसँग स्वास्थ्य, कानुन, वन, खेलकुद र खानेपानी मन्त्रालयको जिम्मेवारी रहेको छ ।