• २०८१ बैशाख ४ मंगलबार

उपराष्ट्रपतिमा रामसहायप्रसाद यादव विजयी

kharibot

काठमाडौँ । उपराष्ट्रपति पदमा जसपाबाट उम्मेदवार बनेका रामसहायप्रसाद यादव विजयी भएका छन् ।

शुक्रबार सम्पन्न मतदानमा यादवले एमालेकी अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी ममता झालाई पराजित गर्दै उपराष्ट्रपतिमा निर्वाचित भएका हुन् ।  यादवले कुल ३० हजार ३२८ मतभार प्राप्त गरेका छन् । उनले संघीय संसद्‌तर्फ १४ हजार ५३६ र प्रदेशसभातर्फ १५ हजार ७९२ मतभार प्राप्त गरेका छन् ।

यादवलाई नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीको समर्थन रहेको थियो ।

नेपालको संविधानको धारा ६७ मा नेपालमा एक उपराष्ट्रपति हुने व्यवस्था गरिएको छ । राष्ट्रपतिको अनुपस्थितिमा राष्ट्रपतिबाट गरिने कार्य उपराष्ट्रपतिबाट सम्पादन गरिने संविधानमा उल्लेख छ । निर्वाचन, मनोनयन वा नियुक्ति हुने राजनीतिक पदमा बहाल रहेको कुनै व्यक्ति उपराष्ट्रपतिको पदमा निर्वाचित भएमा निजको त्यस्तो पद स्वतःरिक्त हुने संवैधानिक प्रावधान छ । उपराष्ट्रपतिको पदावधि पाँच वर्षको हुनेछ । 

नेपालको संवैधानिक प्रावधानअनुसार उपराष्ट्रपतिको तेस्रो निर्वाचन हुन लागेको हो । मुलुक सङ्घीय लोकतान्त्रिक शासन व्यवस्थामा प्रवेश गरेपछि पहिलो उपराष्ट्रपतिको निर्वाचन भएको थियो । पहिलो उपराष्ट्रपतिमा परमानन्द झा निर्वाचित भएका थिए । दोस्रो निर्वाचनबाट उपराष्ट्रपतिमा नन्दबहादुर पुन निर्वाचित भएका थिए ।

यादव हालै सम्पन्न निर्वाचनमा बारा-२ बाट निर्वाचित भएका थिए । उनि यस अघि २०६४ र २०७४ को निर्वाचनमा पनि सोही क्षेत्रबाट निर्वाचित भएका हुन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै