काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले अध्यक्ष महन्थ ठाकुरलाई राष्ट्रपतिको साझा उम्मेदवारका रुपमा अघि सार्ने निर्णय गरेको छ ।
मंगलबार बसेको कार्यकारिणी समिति बैठकले अध्यक्ष ठाकुरलाई पार्टीका तर्फबाट राष्ट्रपतिको साझा उम्मेदवारका रुपमा अघि सार्ने निर्णय गरेको हो ।
ठाकुरको नाममा समर्थन जुटाउन लोसपा नेताहरुले मंलगबारनै प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई बालुवाटारमा भेटेका छन् । त्यस्तै लसपाका नेताहरुले आज नेपाली कांग्रेस र नेकपा एमालेका नेतालाई भेट्ने तयारी गरेका छन् ।
यसबाहेक संसद्मा प्रतिनिधित्व गर्ने अन्य सबै दललाई भेटेर राष्ट्रपतिमा ठाकुरका पक्षमा समर्थन गर्न आग्रह गर्ने लोसपा नेताहरुले जनाएका छन् ।
माघ २७ गते संसद् बैठक सकिएलगत्तै एमाले अध्यक्ष केपी ओलीले ठाकुरलाई आफ्नै गाडीमा राखेर बालकोट लगि राष्ट्रपतिको विषयमा झन्डै पौने घण्टा छलफल गरेका थिए ।
हालै नेपाल भ्रमणमा आएका भारतीय विदेश सचिव विनय कुमार क्वात्राले पनि राष्ट्रपतिमा ठाकुरको नाम लिएको रिपोर्ट बाहिर आएको थियो ।