• २०८१ बैशाख १७ सोमबार

प्रतिनिधि सभा नियमावली मस्यौदा समितिमा संकल्प प्रश्तावबारे छलफल

kharibot

काठमाडौं । संसदमा पेस गरिएका संकल्प प्रश्ताव कार्यान्वयनका लागि सरकार बाध्य हुनेगरी नियमावलीमा व्यवस्था मिलाउन प्रतिनिधि सभाका सांसदहरु सहमत भएका छन् । 

सोमवार सिंहदरबारमा बसेको प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको बैठकमा बोल्दै नेकपा (एमाले) का उपाध्यक्ष एवम सांसद सुवासचन्द्र नेम्वाङ, नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखक, जनता समाजवादी पार्टी, नेपालका सांसद प्रदीप यादवले संसदमा पेस गरिएको संकल्प प्रश्ताव कार्यान्वयनका लागि सरकार बाध्य हुने गरी नियमावलीमा व्यवस्था गर्न उपयुक्त हुने बताउका हुन् । पूर्वसभामुख समेत रहेका एमाले सांसद नेम्वाङले संकल्प प्रश्ताव संसदबाट पास गर्नुपर्ने कुरालाई पनि नियमावलीमा बाध्यकारी व्यवस्थाको रुपमा राख्नुपर्ने आवश्यक्ता औंल्याए । 

सांसद नेम्वाङले भने, ‘किन हामी संकल्प प्रश्ताव विचार गरेर पास गर्छौं भने त्यसलाई कार्यान्वयन गर्नुपर्छ भनेर हो । कार्यान्वयन गर्नेकुरा मात्रै संकल्प प्रश्तावमा राख्छौं भन्ने कुरालाई सुनिश्चित गरौं । त्यसो गरियो भने अलि बाध्यकारी हुन्छ कि ।’

नेपाली काँग्रेसका प्रमुख सचेतक लेखकले मन्त्रीले संसदमा संकल्प प्रश्ताव ल्याउन आवश्यक नरहेको धारणा राखे । उनले सरकारलाई निर्देशन दिने काम संसदको भएकाले सांसदहरुले मात्रै संकल्प प्रश्ताव संसदमा राख्न उपयुक्त हुने तर्क समेत गरे । 

प्रमुख सचेतक लेखकले भने, ‘मन्त्रीले संसदमा संकल्प प्रश्ताव राख्न पर्दैन । क्याबिनेटबाट पास गरेर संसदमा गर्छौं भन्नु संकल्प नै होइन र । सरकारलाई निर्देशित गर्ने संकल्प भएकाले त्यसलाई सरकारले नै ल्याउनुपर्छ भन्ने छैन ।

प्रायजसो संकल्प भनेको के हो भने सरकारलाई कुनै राय व्यक्त गर्ने, सिफारिस गर्ने, सरकारको कुनै कुरामा असन्तुष्टि व्यक्त गर्ने र यसलाई यसरी गर भनेर सरकारलाई निर्देशन दिने उद्देश्य हो संकल्पको । त्यसकारण यो सबै कुरा पार्लियामेन्टले सरकारलाई गर भन्ने भएको हुनाले सरकारले आफै संकल्प ल्याएर पार्लियामेन्टबाट पास गराएर अघि बढ्नुपर्छ भन्ने कुराले खासै अर्थ राख्दैन । त्यसकारण यो नराख्दा पनि हुन्छ ।’

जनता समाजवादी पार्टी, नेपालका सांसद प्रदीप यादवले २०७४ सालको प्रतिनिधि सभा बैठकमा पेस गरिएको एउटा संकल्प प्रश्तावको सूचना संघीय संसद सचिवालयमा ४ महिनासम्म अड्किएको स्मरण गराउँदै त्यसलाई पास गराउने र कार्यान्वयन हुने सुनिश्चितता नियमावलीमा नै व्यवस्था गर्नुपर्ने बताए । उनले संकल्प प्रश्ताव अघि बढाउने कुरामा सभामुखको आदेश मात्रै पर्खेर बस्ने अवस्थाको अन्त्य हुन आवश्यक रहेको समेत बताए । 

सांसद यादवले भने, ‘२०७४ सालको प्रतिनिधि सभा बैठकमा मलाई सम्झना छ । माननीय खगराज अधिकारीबाट संकल्प प्रश्ताव दर्ता भएको थियो । त्यो संकल्प प्रश्ताव सचिवालयमा दिनुभएको थियो । यसमा ७ दिन भित्र भन्ने लेखिएको छ । तर ४ महिनासम्म सो सूचना सचिवालयमा नै अड्कियो । त्यो सूचना जब संसदमा पेस भयो । सभामुखको अनुमतिले पटकपटक छलफलको क्रममा चाहीँ आउँथ्यो । तर त्यो हटाइन्थ्यो । फेरि आउँथ्यो, फेरि हटाइन्थ्यो । यसरी कति दिन हटाउन सक्ने ? संसदको भुमिका राख्ने हो भने संसदलाई पावरफुल बनाऔं । सभामुखको आदेश मात्रै चल्ने हो भने माननीयहरुको के काम ?’ 

सद यादवले संकल्प प्रश्तावलाई संसदमा पेस गरेपछि त्यसको कार्यान्वयन सरकारले गर्नैैपर्ने पनि बताए । गत माघ १० गते गठन गरिएको २१ सदस्यीय सो मस्यौदा समितिलाई १५ दिन भित्र मस्यौदा तयारी पारी प्रतिनिधि सभा बैठकमा पेस गर्ने कार्यादेश दिएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै