काठमाडौँ । अस्ट्रेलियामा हराएको रेडियोएक्टिभ पदार्थले भरिएको एउटा सानो क्याप्सुल अझै भेटिएको छैन । अष्ट्रेलियामा रेडियोएक्टिभ पदार्थले भरिएको एउटा सानो क्याप्सुल बेपत्ता भएपछि खोजी कार्य भइरहेको छ ।
मिडिया रिपोर्टका अनुसार यो क्याप्सुल आधा सेन्टिमिटर भन्दा सानो छ । यो रेडियो एक्टिभ सीजियम-१३७ भरिएको छ । यो क्याप्सुल छोएमा गम्भीर रोग लाग्न सक्ने बताइएको छ ।
यो क्याप्सुल जनवरी १२ मा न्यूम्यान र पर्थ शहरको बीचमा हराएको अस्ट्रेलियाको फायर एण्ड इमर्जेन्सी विभागले जानकारी दिएको छ । बिभागले यो क्याप्सुल देखेमा नछुन र टाढा रहन चेतावनी दिएको छ ।
रेडियोएक्टिभ सिजियम-१३७ सामान्यतया खानीमा प्रयोग हुने पदार्थ हो । यसलाई खनन स्थलमा ट्रकमार्फत ल्याइएको थियो ।
क्याप्सुललाई हतियारका रूपमा प्रयोग गर्न नसकिने तर यसले क्यान्सरजस्ता गम्भीर रोग निम्त्याउन सक्ने विभागले जनाएको छ ।
बिभागले यो क्याप्सुलको एक तस्वीर समेत जारी गरेको छ । यो क्याप्सुलको लम्बाइ ८ मिमी र चौडाइ ६ मिमी छ ।
यो क्याप्सुल नभेटिएमा लामो समय पछिसम्म पनि यसको असर हुने बताइएको छ । अस्ट्रेलियाको न्युक्लियर साइन्स एण्ड टेक्नोलोजी अर्गनाइजेसनले हरेक पहिना परमाणु मेडिसिनका दुई हजार प्याकेज ट्रकमा यसरी नै एक ठाउबाट अर्को ठाउमा लैजाने नियमित प्रक्रियाकै क्रममा यो क्याप्सुल हराएको हो ।
अहिले क्याम्सुल हराएको सम्भावित १४ सय किलोमिटरको क्षेत्रमा यसको खोजी भइरहेको बताइएको छ । यो क्याप्सुल खोजी कार्यका लागि न्युक्लियर विज्ञलाई समेत खटाइएको छ । यस घटनालाई अस्ट्रेलियामा भएको विशेष घटनाको रुपमा हेरिएको छ ।