• २०८१ बैशाख २४ सोमबार

सुर्य नेपाल इस्टर्न ओपनको दोस्रो दिन शुक्रलाई अग्रता

kharibot

धरान । सुर्य नेपाल गल्फ टुर २०२२-२३ अन्तर्गत सिजनको दोस्रो प्रतियोगिता सुर्य नेपाल इस्टर्न ओपनको दोस्रो  दिन नेपाल नम्बर एक शुक्र बहादुर राई चार स्ट्रोकको अग्रता बनाउन सफल भएका छन् ।

पार-७० को धरान गल्फ क्लबको कोर्समा उनले बोगी रहित ६-अन्डर ६४ को कार्ड तयार पार्दा समग्रमा १०-अन्डर १ सय ३० को सानदार स्कोर बनाए। यो स्कोरमा उनले पहिलो दिनका लिडर निरज तामाङलाई चार स्ट्रोकले पछि पारेका छन्। दोस्रो दिन निरजले १-अन्डर  ६९ खेल्दै समग्रमा ६-अन्डर १ सय ३४ स्कोर जोडे। सञ्जय लामाले इभन-पार ७० खेल्दै ४-अन्डर १ सय ३६ सहित तेस्रो स्थानमा दोस्रो दिनको खेल सकाए। भुवन नगरकोटीले दोस्रो दिनको खेल इभन-पार ७० मा सकाउदा कुल ३-अन्डर १ सय ३७ स्कोर सहित चौथो स्थानमा रहे ।

एमेच्योर खेलाडी राजकुमार राई ३-अन्डर ६७ को स्कोरमा समग्रमा २-अन्डर १ सय ३८ को नतिजामा पाँचौ स्थानमा रहे। दोस्रो दिन ४-अन्डर ६६ को सानदार प्रदर्शन गरेका धन बहादुर थापा समग्रमा १-अन्डर १ सय ३९ सहित छैटौ स्थानमा उक्लिए।‌ जयराम श्रेष्ठले दोस्रो दिन १-ओभर ७१ को स्कोर कार्ड बनाउदा कुल १-ओभर १ सय ४१ सहित सातौ स्थानमा रहेका छन् ।  

यसैगरी इभन-पार ७० खेलेका रामे मगर कुल १ सय ४२ स्कोर सहित आठौ स्थानमा रहदा १-ओभर ७१ खेलेका दिनेश प्रजापति र सुर्य प्रसाद शर्मा १ सय ४३ स्कोर सहित संयुक्तरुपमा नवौ स्थानमा छन् । 

एमेच्योरतर्फ राजकुमार राईले युवराज भुजेललाई ६ स्ट्रोकले पछि पारे। युवराजले दोस्रो दिन १-ओभर ७१ को स्कोरमा स्थानीय प्रो बलभद्र राईसँग ११ औ स्थान बाडे। बलभद्रले दोस्रो दिन २-ओभर ७२ मा खेल सकाए । 

३६ होलको समाप्तीमा अग्रता बनाउने क्रममा शुक्रले ४-अन्डर ३२ मा फ्रन्ट नाइन सकाए। पहिलो चार होलमा पार बचाएका उनले पाँचौ, छैटौ, सातौ र नवौ होलमा बर्डी प्रहार गरे। यसपछि उनले १२औं र १५ औं होलको बर्डीको मद्दतले ब्याक नाइन २-अन्डर ३२ मा पुरा गरे । 

निरजले फ्रन्ट नाइन २-अन्डर ३४ मा र ब्याक नाइन १-ओभर ३५ मा सकाए । फ्रन्ट नाइनको तेस्रो, पाँचौ र सातौ होलमा‌ बर्डी प्रहार गरेका निरजले चौथो र १३ औं होलमा एक-एक सट खेर फाले । 

यसैगरी सञ्जय लामाले फ्रन्ट नाइन १-ओभर ३७ मा सकाए । उनले चौथो र सातौ होलमा बोगी खेल्दा पाँचौ होलमा बर्डी प्रहार गरे। ब्याक नाइन १-अन्डर ३३ मा सकाउने क्रममा १० औं, १५औं र १६औं होलमा बर्डीको सफलता प्राप्त गर्दा ११औं र १५औं होलमा एक-एक सट गुमाए । ‌

३६ होलको समाप्तीमा कुल १४-ओभर १ सय ४४ सम्म स्कोर जोडेका २१ जना व्यवसायीक तथा ६ जना एमेच्योर खेलाडीहरूले कट बनाए । प्रोफेसनलतर्फ दीपक मगर, भुवन कुमार रोक्का, दीपक आचार्य, टंक बहादुर कार्की, रमेश अधिकारी, सबिन सापकोटा, थाम बहादुर राई, रबि खड्का, दल बहादुर लामा, कमल तामाङ र पशुपति शर्माले‌ अन्तिम १८ होलको खेलको लागि स्थान पक्का गरे । 

नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसनको आयोजना र सुर्य नेपाल प्राईभेट लिमिटेडको प्रायोजनमा जारी ५४ होलको प्रतियोगितामा २९ प्रोफेसनल र  ११ एमेच्योर खेलाडीले सहभागिता जनाएका छन् । 

कुल आठ लाख  पुरस्कार राशी रहेको प्रतियोगिताको विजेताले १ लाख ४० हजार प्राप्त गर्नेछन् । उपविजेताले ९० हजार तथा तेश्रो हुनेले ६७ हजार प्राप्त गर्नेछन् ।  उत्कृष्ट २१ भित्र पर्न सफल प्रोफेसनल खेलाडीले नगद पुरस्कार प्राप्त गर्नेछन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै