• २०८१ बैशाख १५ शनिबार

सुर्य नेपाल एनपीजीए म्याच प्लेको उपाधिको लागि दिनेश र रमेश भिड्ने

kharibot

काठमाडौं । दिनेश प्रजापति र रमेश अधिकारी सुर्य नेपाल गल्फ टुर २०२२-२३ अन्तर्गत सिजनको तेस्रो प्रतियोगिता सुर्य नेपाल एनपीजीए म्याच प्लेको उपाधिको लागि भिड्ने भएका छन् । 

रोयल नेपाल गल्फ क्लबमा भएको सेमिफाइनलमा १३औं वरियताका रमेश अधिकारीले १०औं वरियताका भुवन कुमार रोक्कालाई २/१ ले हराउँदै फाइनलमा स्थान सुरक्षित गरे ।

यसैगरी अर्को सेमीफाइनलमा सातौं वरियताका दिनेश प्रजापतिले आठौं वरियताका धन बहादुर थापालाई २/१ ले नै माथ दिएर फाइनलको यात्रा तय गरे । सुर्य नेपाल टुरमा करियरकै पहिलो उपाधि जित्ने दाउमा रहेका दिनेश अब मात्र एक जित टाढा रहेका छन् ।

दिनेश र रमेशले उपाधिका लागि भोली ३६-होलको प्रतिस्पर्धा गर्नेछन् भने धन र भुवनले तेश्रो स्थानका लागि १८ होलको खेल खेल्नेछन् । 

यसअघि आजै भएको क्वाटरफाइनलमा अप्रत्याशित नतिजा आएका छन्। जहाँ नेपाल नम्बर एक खेलाडी शुक्र बहादुर राई, दोस्रो वरियताका भुवन नगरकोटी, तेस्रो वरियताका जयराम श्रेष्ठ र पाँचौ वरियताका रबि खड्का पराजित भए । 

शुक्रलाई वरियताको १०औं स्थानमा रहेका भुवन कुमार रोक्काले ३/१ ले माथ दिए । अर्को क्वाटरफाइनलमा धन बहादुर थापाले भुवनलाई ३/२ ले हराउदै अन्तिम चारमा स्थान बनाएका थिए । यसैगरी दिनेश प्रजापतिले तेस्रो वरियताका जयराम श्रेष्ठलाई ३/२ ले हराए । पुर्व नम्बर एक खेलाडी रबि खड्काको चुनौती १३औ वरियताका रमेश अधिकारीले समाप्त पारीदिए। रमेशले पाँचौ वरियताका रबिलाई ३/२ को नतिजामा पाखा लगाए‌ । 

गत सिजनको उत्कृष्ट १६ प्रोफेसनल गल्फरले प्रतियोगितामा भाग लिने भएतापनि चार खेलाडी देश बाहिर रहेकोले उत्कृष्ट २० सम्मका खेलाडीले मौका पाएका हुन् । सुर्य नेपाल प्रालिको प्रायोजनमा पीजीए नेपालले आयोजना गरेको प्रतियोगिताको कुल पुरस्कार राशी २ लाख ५० हजार रहेको छ ।

विजेता खेलाडीले ६० हजार रुपिया प्राप्त गर्नेछन् भने उपविजेताले ४२ हजार पाउँनेछन्। तेश्रो र चौंथो हुने प्रोले क्रमशः ३२ हजार र २४ हजार प्राप्त गर्नेछन् । क्वाटरफाइनलमा पराजित हुने चार खेलाडीले समान ११ हजार प्राप्त गर्नेछन् र पहिलो चरणबाट बाहिरिने आठ खेलाडीले समान ६ हजार प्राप्त गर्नेछन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै