काठमाडौँ । महसा अमिनीको मृत्युपछि इरानमा सुरु भएको विरोध प्रदर्शन अहिले पनि जारी छ । विरोधमा महिलाहरुले हिजाब फुकालेर आगो लगाइरहँदा आन्दोलनकारीको ओठबाट ‘तनशाह मुर्दाबाद’ जस्ता नाराहरु सुनिन थालेका छन् ।
इरानको कुर्दिस्तान प्रान्तको सकिज सहरकी कुर्दी महिला महसा अमिनीको १६ सेप्टेम्बरमा अस्पतालमा मृत्यु भएको थियो । महसा अमिनी तीन दिनदेखि कोमामा थिइन् । उनको उमेर २२ वर्ष मात्र थियो । प्रत्यक्षदर्शीहरूले अमिनीलाई तेहरानमा गिरफ्तार गरेपछि भ्यानमा कुटपिट गरिएको बताएका छन्, तर प्रहरीले उक्त आरोप अस्वीकार गरेको छ ।
१७ दिनदेखि जारी आन्दोलनले कतै उग्र रुप लिइरहेको छ । कथित प्रहरी कुटपिटबाट महसा अमिनीको आवाज शान्त भएको हुन सक्छ, तर यसको प्रतिध्वनिले इरानी सरकारको कान दुखाएको छ।
इरानबाट विश्वभर महिलाको स्वतन्त्रतालाई लिएर प्रश्न सोधिने गरेको छ । इरानको मोरालिटी पुलिसलाई कठघरामा उभ्याइएको छ, जसले हिजाबसँग सम्बन्धित नियमहरू पालना गराउन जिम्मेवार छ ।
यसै बीच इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीले महसा अमिनीको मृत्युपछि देशमा जारी अनिश्चितताको लागि अमेरिका र इजरायललाई दोष दिएका छन् । खामेनीले यस विषयमा सार्वजनिक रूपमा बोलेको यो पहिलो पटक हो ।
उनले ट्वीटमा भनेका छन्- 'म स्पष्टसँग भन्छु कि अमेरिका र इजरायल यी दंगा र असुरक्षाको पछाडि छन् । उनीहरूले विदेशमा बस्ने केही देशद्रोही इरानीहरू र उनीहरूका सशुल्क एजेन्टहरूको मद्दत लिए ।'
उनले इरानमा भइरहेको हिंसात्मक प्रदर्शनमाथि प्रश्न उठाएका छन् । खामेनीले अर्को ट्वीटमा भनेका छन्, बालिकाको मृत्यु एउटा दुखद घटना हो जसले हामीलाई पनि दुःखी बनायो । केही व्यक्तिले बिना प्रमाण र अनुसन्धान नै सडकलाई जोखिमपूर्ण बनाएको उनले बताए । कुरान, मस्जिद, बैंक र जनताका गाडीमा आगो लगाइन्छ, महिलाको हिजाब हटाइन्छ । यी सामान्य कार्यहरू होइनन् । यो योजना अन्तर्गत गरिएको थियो ।
सर्वोच्च नेता अयातोल्लाह अली खामेनीले भनेका छन्, केही व्यक्तिहरू केही घटनाहरू शत्रु देशले नियोजित गरेको भन्ने कुराको विरुद्धमा छन् । तिनीहरू अमेरिका र इजरायलको गुप्तचर सेवाहरूलाई मद्दत गर्न खडा छन् । यसका लागि उनीहरूले गलत विश्लेषण र भाषणबाजी पनि गर्छन् ताकि यो शत्रु देशले गरेको हो भनी अस्वीकार गर्न सकियोस् ।
अन्त्यमा उनले भने, ‘विश्वभर दंगा हुन्छ, फ्रान्सको सन्दर्भमा उनले भने, ‘यहाँ बेलाबेलामा ठूला–ठूला दंगा भइरहेका छन्, तर के अमेरिकाका राष्ट्रपतिले युरोपेली दंगा गर्नेहरूलाई समर्थन गरेका छन् वा कसैले घोषणा गरेको छ ? हामी तपाईको साथमा छौं ? के अमेरिकी मिडियाले उनीहरूलाई समर्थन गरेको छ, के हामीसँग त्यस्तो कुनै रेकर्ड छ ?'
शुक्रबार देशको गुप्तचर मन्त्रालयले यस मामिलामा फ्रान्स, जर्मनी, इटाली, नेदरल्यान्ड्स र पोल्याण्डलगायत नौ विदेशी नागरिकलाई पक्राउ गरेको जनाएको छ ।