• २०८१ बैशाख १९ बुधबार

एन्करले हिजाब लगाउन नमानेपछि रोकियो इरानी राष्ट्रपतिको अन्तर्वार्ता

kharibot

काठमाडौँ । इरानमा सुरु भएको हिजाबको विवाद बढ्दै गएको छ । पछिल्लो घटनामा, न्यूयोर्कमा एक टिभी एन्करले हिजाब लगाउन अस्वीकार गरेको विषय अहिले चर्चामा रहेको छ ।

इरानका राष्ट्रपति इब्राहिम रायसीले समाचार च्यानल सीएनएनलाई अन्तर्वार्ता दिन लागेका थिए । उनले एन्करको अगाडि हिजाब लगाएर अन्तर्वार्ता लिन सर्त राखे । तर एन्करले त्यसो गर्न अस्वीकार गरेकी छन् ।

इरानी राष्ट्रपति राईसी संयुक्त राष्ट्र संघको महासभा बैठकमा भाग लिन हाल न्यूयोर्कमा छन् । यसै क्रममा सेप्टेम्बर २१ मा उनले अन्तर्राष्ट्रिय न्युज च्यानल सीएनएनमा एन्कर क्रिस्टिन इमानपुरसँग अन्तर्वार्ता लिनुपर्ने थियो । राष्ट्रपति इब्राहिमले क्रिस्टिनलाई हिजाब लगाउन र उनको अन्तर्वार्ता लिन आग्रह गरे । तर क्रिस्टिनले राष्ट्रपतिको अनुरोधलाई अस्वीकार गरेकी थिइन् । हिजाबकै कारण इरानी राष्ट्रपतिको अन्तर्वार्ता हुन नसकेको विषय अहिले चर्चामा रहेको छ ।

इरानी नागरिक हुन् एन्कर क्रिस्टिन 

एंकर क्रिस्टिन इमानपुर इरानी हुन् । उनी तेहरानमा हुर्किएकी थिइन् । उनले भनेकी छन्, ‘जब म इरानमा रिपोर्टिङ गर्थें, त्यहाँको कानुन र चलन पालना गर्न हिजाब लगाउने गर्थेँ । अहिले म यस्तो देशमा छु जहाँ अन्तर्वार्ताका लागि हिजाब लगाउने नियम छैन । म कुनै पनि इरानी अधिकारीसँग अन्तर्वार्ताका लागि हिजाब लगाउने छैन । १९९५ देखि, मैले धेरै मानिसहरूसँग अन्तर्वार्ता लिएँ, तर कसैले मलाई हिजाब लगाउन भनेनन् ।'

हिजाबको विरोध अस्वीकार्य

इरानका राष्ट्रपति इब्राहिम रायसीले देशमा भइरहेको विरोध प्रदर्शनलाई उपद्रव फैलाएको वर्णन गरेका छन् । उनले इरानमा अभिव्यक्ति स्वतन्त्रता छ, तर यसरी विरोध गर्नु अस्वीकार्य भएको बताए ।

इरानमा हिजाबविरुद्ध चलिरहेको विरोध प्रदर्शन १५ सहरमा फैलिएको छ । प्रहरी र आन्दोलनकारीबीच हिंसात्मक झडप पनि भइरहेको छ । आन्दोलनकारीलाई रोक्न प्रहरीले गोली चलाएको थियो । ६ दिनमा मृत्यु हुनेको संख्या ३१ पुगेको छ । सयौं घाइते भएका छन् । हजारौं मानिस पक्राउ परेका छन् ।

सेप्टेम्बर १३ मा इरान प्रहरीले महसा अमिनी नामकी युवतीलाई हिजाब नलगाएको भन्दै पक्राउ गरेको थियो । तीन दिनपछि अर्थात् १६ सेप्टेम्बरमा उनको मृत्यु भयो । इरानी सञ्चारमाध्यमका अनुसार अमिनी पक्राउ परेको केही घण्टापछि नै कोमामा गएकी थिइन् । उनलाई अस्पताल लगियो । अमिनीको टाउकोमा चोट लागेर मृत्यु भएको समाचारमा जनाइएको छ ।

महसा अमिनीको मृत्यु र हिजाब अनिवार्य गरेको विरोधमा धेरै महिलाले कपाल काटेका छन् । यति मात्र होइन, हिजाब पनि जलाइएको थियो । आन्दोलनरत महिलाहरुले हिजाब अनिवार्य सट्टा ऐच्छिक बनाउनुपर्ने माग गर्दै आएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै