• २०८१ बैशाख २४ सोमबार

प्रदीप गिरी: काँग्रेस भित्रका कम्युनिष्ट !

kharibot

काठमाडौँ । राजनीतिमा एक व्यक्तिको प्रभाव र स्वीकार्यता यति धेरै हुन्छ भन्ने कुरा प्रदीप गिरीको निधनपछि देखियो । हुन त हाम्रो समाज मान्छे सधैका लागि बिदा भएपछि अलि बढी भावुक हुन्छ र आफ्ना भावना व्यक्त गर्दछ । यति नै भावना, सम्मान र महत्व जीवित हुदा समाजले गर्ने भए सायद देश, समाज बदलिएर अर्कै भैसक्थ्यो होला ।

तर प्रदीप गिरीको निधनले नेपालको राजनीतिमा एउटा फेरी नभरिने खाडल सिर्जना गरेको छ । उनको सादकी जीवन र दार्शनिक व्यक्तित्वले प्रभावमा नपारेको कुनै दल, वर्ग थिएन भन्दा पनि हुन्छ ।

'संसद्मा प्रदीप गिरीले बोल्ने भनेपछि सबै सांसद पर्खिएर बस्थे । मार्क्सवादको बारेमा समेत गहिरो अध्ययन गर्ने आदर्श नेता स्व गिरी सबैका प्रिय नेता हुनुहुन्थ्यो ।' यी अभिव्यक्ति कुनै काँग्रेस नेताका होइनन् । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका संसदीय दलका उपनेता तथा पुर्व सभामुख सुवासचन्द्र नेम्वाङले आइतबार सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालय परिसर पुगेर स्व गिरिप्रति श्रद्धाञ्जली दिँदै गर्दा व्यक्त गरेका अभिव्यक्ति हुन् ।

सादगी जीवन, निष्ठा र आदर्शको प्रतीक राजनीतिज्ञ गिरीप्रति आदर्शभाव व्यक्त गर्ने अधिकांशको बोली र लय एउटै थियो । उनलाई काँग्रेस भित्रका कम्युनिष्ट भन्न सकिन्थ्यो ।

कम्युनिस्टलाई मार्क्सवाद पढाउने गुरु :

राजनीतिकरुपमा नेपाली कांग्रेसको छत्रछायाँमा रहेका तर जीवनभर उनि मार्क्सवादी अध्ययन, चिन्तन र मननमा रमाए । उनी अर्थात् समाजवादी चिन्तक प्रदीप गिरी । “आर्थिक विकासलाई मात्र समाजवाद भन्न सकिँदैन”, नेपाली कांग्रेसको सक्रिय राजनीतिमा रहेका समाजवादी चिन्तक गिरीले सधै यसमा जोड दिँदै आए । आर्थिक समृद्धिका लागि जीवित व्यक्तिलाई खुसी बनाउनुपर्ने धारणा विचार थियो उनको । 

वामपन्थी राजनीति गर्ने धेरै पार्टी र समूह भए पनि उनलाई धेरैले आफ्ना गुरुका रुपमा मानेको तथ्य कार्लमाक्र्सको द्विशतवार्षिकका अवसरमा आयोजित कार्यक्रममा गिरीलाई प्रमुख प्रशिक्षकका रुपमा गरिएको निमन्त्रणाबाट पनि केही खुल्थ्यो । सन् २०१८ मा मार्क्सवा अध्ययन समूहले त उनलाई सल्लाहकार नै राखेको थियो । 

यस आधारमा स्वर्गीय गिरी मार्क्सवादी अध्येताका रुपमा स्थापित थिए । उनको जीवनभरको विचार समूह नेपाली कांग्रेस थियो । तर गिरी काल माक्र्स र भिआइ लेनिनको बौद्धिकताप्रति कम्युनिष्टभन्दा बढी काबिल थिए । 

तत्कालीन माओवादीले सञ्चालन गरेको ‘जनयुद्ध’ लाई राजनीतिक मुद्दा भएको र सोही आधारमा समाधानका लागि पहल गर्नुपर्ने धारणा राख्ने मुलुकका थोरै नेतामध्ये एक थिए उनी । जुनसुकै मञ्चमा पनि गिरीले वामपन्थ र माक्र्सवादी आन्दोलनको सकारात्मक पक्षकाबारेमा धारणा राख्दै आएका थिए । उनले कैयौँ सार्वजनिक कार्यक्रममा समेत सो कुरा स्पष्टरुपमा बताएका थिए  । गिरीले पूर्वीय र पश्चिमा दर्शन, भौतिकतावादी चिन्तन तथा आध्यात्मिक सोचबारे सरल भाषामा सबैले बुझिने गरी बताउनसक्ने क्षमता थियो । 

गिरीले सोभियत सङ्घका तत्कालीन नेता लेनिनको जीवनी, नारी, माक्र्सवाद र अर्थशास्त्रलगायतका पुस्तकसमेत लेखेका छन् । यस्तै उनले ‘विश्वेश्वरप्रसाद कोइरालाका आधारभूत सङ्कलन’ नामक पुस्तकको सम्पादन गरेका छन् । विसं २०७६ पुसमा राजधानीमा ‘माक्र्स फर्किए...’ नामक नाटक मञ्चन भएको थियो ।

सो नाटकको प्रदर्शनसँगै कांग्रेसका नेता गिरीलाई नाटकमाथि टिप्पणी गर्न आमन्त्रण गरिएको थियो । त्यसबेला उनले गरेका टिप्पणी थियो, “संसारमा जबसम्म असमानता छ, तबसम्म माक्र्स जिवित रहन्छन् । संसारमा जबसम्म बर्बता छ, तबसम्म माक्र्स जीवित रहन्छन् । आज माक्र्स मरे भन्ने मान्छेले सुन्नुभएको छ भने मरेका माक्र्स आज जीवित माक्र्सभन्दा सयगुना सशक्त भएर आएका छन् । सावधान रहनुहोस् ।” लेखक चैतन्य मिश्रको पुस्तक ‘लोकतन्त्र र आजको माक्र्सवाद’को विमोचन गर्दै २०७६ भदौ १४ गते आयोजित समारोहमा गिरीले व्यक्त गरेका धारणाले मार्क्सवादप्रति उनको लगाव कत्ति थियो भन्ने बुझ्न सकिन्छ । 

उनले मार्क्सवाद मानवताको दृष्टिकोणले उच्च रहेको छ । पुँजीवादले हार्दै गएको उल्लेख गर्दै उनले  सन् १९१७ देखि क्युबाको क्रान्ति सन् १९५९ को समयसम्म पुँजीवादले हार्दै गएको बताए । उनले माक्र्स र लेनिनले भनेका कुरा अहिलेका सन्दर्भमा किन लागू भएन भन्नेबारेमा जवाफ खोज्नुपर्ने बताएका थिए  । 

निष्ठाका धरोहर

विसं २०५६ को प्रतिनिधिसभा निर्वाचनमा नेता प्रदीप गिरीको गृहजिल्ला  सिरहा पुगेका प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले गिरीको चुनावी सभामा भनका थिए ‘‘तपाईंहरू प्रदीप गिरीलाई जिताएर पठाउनुस्, म शक्तिशाली मन्त्री बनाउँछु, पछि प्रधानमन्त्री नै बनाउँछु ।’’ 

सोही मञ्चमा बसेका गिरी प्रधानमन्त्रीको यो घोषणापछि हासे भने उनका क्षेत्रका समर्थकले गड्गडाहट ताली बजाए । संयोग यस्तो भयो कि पछि उनको चुनाव हारे । आफ्ना स्पष्ट र प्रखर विचारसहित प्रायः सञ्चारमाध्यममा आइरहने नेता गिरीलाई पछि एक अन्तर्वार्ताका क्रममा प्रश्न सोधियो, 'तपाइँले चुनाव जितेको भए त यतिखेर मन्त्री हुनुहुन्थ्यो होला हगि ?' उनको प्रतिक्रिया थियो,  'हो, हुन्थेँहोला । तर मलाई मन्त्री बन्नबाट भगवानले बचाएका छन्, त्यसैले म खुसी छु । किनभने मैले चुनाव जितेको भए किसुनजीको आग्रह टार्न सक्दिनथेँ होला, त्यसैले भगवानले चुनाव हराएर मन्त्री हुनबाट बचाए ।'

प्रदीप गिरी नेपालको समकालीन राजनीतिमा सादगी, चिन्तनशील र अध्ययनशील व्यक्तित्वका रुपमा स्थापित नाम हो । त्यसैले त चार-चार पटकसम्म सांसद बनेका गिरीमा मन्त्री बन्ने चाह कहिल्यै जागेन । उनले  सार्वजनिक रुपमै भन्ने गर्थे, 'मन्त्री हुँदा स्वतन्त्रता गुम्छ, मैले मनमौजी गर्न मिल्दैन, मेरो आफ्नो स्वतन्त्रता र आफ्नैपनको जीवन गुम्न पनि सक्छ । मन्त्री भएपछि मेरा सबै जीवनशैलीमा परिवर्तन ल्याउनुपर्ने हुन्छ, म फुटपाथमा हिँड्दै त्यहाँका पुस्तक पढ्न नपाउने स्थितिमा पनि पुग्न सक्छु, मप्रति जनताका आशा अपेक्षा बढी होलान्, त्यसैले मलाई व्यक्तिगत जीवनमा हस्तक्षेप मान्य छैन ।'

हाम्रो देशमा यतिखेरको राजनीति त्यस्तो छैन । मन्त्री बन्नुपर्ला भनेर भाग्नखोज्ने नेता सायदै कुनै पार्टीमा भेटिएलान् । अनि उनीजस्तो सांसद पदको पारिश्रमिक आएको दिन पुस्तक पसलमा गएर पुस्तक किन्न रुचाउने अध्ययन र चिन्तनमा समय व्यतित गर्ने नेता पनि विरलै छन् । त्यसैले उनले एक प्रखर चिन्तक मात्र होइन कि समाजवादी विचारका अगुवाको पहिचान निर्माण गर्न  सफल भएका छन् । 

गिरीको जीवनशैली खुल्ला र उच्च विचारका धनीहरुका लागि पनि सरल र सादा जिउन सकिने अनुकरणीय उदाहरण हो । उनको पहिरनको पहिचान धेरै पछिसम्म पनि खद्दरको कुर्था र सुरुवाल थियो । स्वतन्त्रता र समानताका पक्षपाती उनको जन्मघर बाहेक अन्यत्र गाडी, घोडा या घरबङ्गला जोड्ने कुनै रहर रहेन । यहाँसम्म कि उनले कहाँ खान्थे , कहाँ सुत्थे भन्ने पनि कहिले त ठेगान नै हुँदैनथ्यो । आफ्नो पुर्खौली सम्पत्ति पनि उनले एक आश्रमका रुपमा दिइसकेका छन् । 

देशमा अहिले अन्य राजनीतिक दर्शन अवलम्बन गर्नेहरूको पनि उनिप्रति उत्तिकै सम्मान देखिन्छ । त्यसैले प्रदीप गिरी नाम यतिखेर नेपाली राजनीतिको एक विशेष र विशिष्ट स्वरुपको मानकका रुपमा स्थापित हुन पुगेको छ । सधैँ युवा र यही वर्गप्रति भरोसा राख्ने उनको विचारलाई अहिलेको हर दलको युवा पिँढीले पछ्याउन सक्यो भने यही हतियारले हिजोआजकोजस्तो राजनीतिलाई प्रदीप गिरीको वैचारिक उचाइसम्म पुर्याउन सक्छ ।  

 उनले भारतको जवाहरलाल नेहरू विश्वविद्यालयबाट दर्शनशास्त्र र अर्थशास्त्रमा स्नातकोत्तर गरेका थिए । बनारसमा छात्र संघमा चुनाव लड्दादेखि नै बीपीको संगत पाएका उनले  विपीको राष्ट्रियता, प्रजातन्त्र र समाजवादको सिद्धान्तमा अडिग रही राजनीतिक सङ्घर्ष जारी राख्ने क्रममा पटक पटक गरेर करिब चार वर्ष जेल जीवन बिताए । 

विसं २०४२ पछि कृष्णप्रसाद भट्टराई र गणेशमान सिंहको नजिक भएर काम गर्नुगरेका भएका उनि कांग्रेसमा समावेशीकरणका पक्षधर थिए । उनले  नै कांग्रेस पार्टीले ‘जमदम’ को नीति लिनुपर्ने भनी प्रस्तुत गरेका थिए । उनी कार्यक्रमलाई ज– जनजाति, म– महिला, द– दलित र म– मधेसी भनी अथ्र्याउथे  । पिछडिएको क्षेत्र कर्णाली र पिछडा वर्ग, अल्पसंख्यकहरूलाई राज्यको मूलप्रवाहमा ल्याउन सक्यो भने मात्र लोकतान्त्रिक गणतन्त्र बलियो हुने तर्क उनी बारम्बार गर्थे । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै