• २०८१ बैशाख १५ शनिबार

निर्वाचन घोषणापछि कस्ता छन् एमालेका चुनौती ?

kharibot

काठमाडौं । सरकारले मङ्सिर ४ गतेका लागि एकैचरणमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन घोषणा गरेसँगै देश अब आम निर्वाचनमा होमिएको छ । संबिधान निर्माणपछि भएको निर्वाचनको ५ बर्षे कार्यकाल समाप्त हुदै गर्दा दोस्रो आम निर्वाचनमा देश जान लागेको छ ।

यस अवसरमा निर्वाचनको घोषणा भइसकेपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमाले कस्तो रणनीति लिएर चुनावमा जादै छ त ? एमाले भित्रका समस्या के के छन् ? एमालेले गठबन्धनविरुद्ध कस्तो रणनिति बनाउला ? आदि विषयमा यहाँ विश्लेषण गर्न खोजिएको छ ।

गठबन्धननै अवरोध 

चुनाव घोषणा भएको अहिलेको अवस्थामा एमालेका लागि प्रमुख अवरोध नै सत्तारुढ गठबन्धन हुने देखिएको छ । सत्तारुढ गठबन्धनले मङ्सिर ४ को निर्वाचनमा तालमेल गरेर जाने निर्णय गरिसकेका छन् । यस अवस्थामा एमालेको सत्तामा कम्ब्याक मुश्किल हुने देखिएको छ । स्थानीय निर्वाचनमा पनि गठबन्धनविरुद्ध एमालेलाई मुश्किल भएको थियो ।

गठबन्धनले संसदीय निर्वाचनमा तालमेल गर्न अहिले नै कार्यदल बनाएर भदौको पहिलो सातासम्म बाँडफाँड टुंगाउने भनेकाले स्थानीय चुनाव भन्दा अलि व्यवस्थित ढंगले गठबन्धन चुनावमा जानसक्ने अहिले अनुमान गर्न सकिन्छ । गठबन्धन जति एकजुट हुन्छ, एमालेलाई त्यति नै समस्या हुदै जाने अहिले भन्न सकिन्छ । एमालेले स्थानीय चुनावमा पनि गठबन्धन बाहिर रहेका दलहरुसँग तालमेल गरेको थियो । र त्यो संसदीय निर्वाचनमा पनि कायम हुने देखिन्छ । अब एमालेको प्रमुख प्राथमिकता गठबन्धन राम्रोसँग हुन नदिने नै हुने देखिन्छ । यसका लागि एमालेका नेताहरुले लगातार सत्तारुढ दलका पार्टीहरुलाई प्रहार गरिरहेका छन् । स्थानीय चुनावमा जस्तो व्यक्ति छान्ने निर्वाचन संसदीय चुनाव नहुने भएकाले एमालेको रणनिति गठबन्धनलाई हरेक पाइलामा तोड्ने नै हुने देखिन्छ । यसका लागि एमालेले अहिलेको सरकारले गर्न नसकेका कामहरुलाई जनतामा लैजाने र गठबन्धनका कार्यकर्ताको मनोविज्ञान तोड्ने रणनीति लिने देखिन्छ ।

पार्टी भित्रको असन्तुष्टि

एमालेमा अहिले केपी शर्मा ओलीको नेतृत्वमा बाहिरबाट हेर्दा एक ठाउमा देखिए पनि पार्टी भित्रको गुट उपगुट अहिले चरममा रहेको छ । काँग्रेसको जस्तो गुट उपगुट एमालेमा बाहिर नदेखिने भए पनि स्थानीय चुनावमा एमालेलाई केहि ठाउहरुमा यसको असर परेको देखिएको छ । उदाहरणको लागि एमालेको गढ मानिएको रुपन्देही जिल्ला लिन सकिन्छ ।

उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलको अन्तरद्वन्दका कारण बुटवल उपमहानगरपालिका र तिलोत्तमा नगरपालिकाको नेतृत्व एमालेले गुमाएको छ । त्यस्तै कैयौं ठाउमा राम्रो उम्मेदवारलाई नजरअन्दाज गर्दा एमाले हर्न पुगेको थियो । संसदीय चुनावमा पनि पार्टी भित्रको असन्तुष्टिले एमालेलाई नोक्सान हुने देखिन्छ । एमालेमा मुख्यगरी अहिले तीन धार देखिन्छ । विष्णु पौडेल र शंकर पोखरेलबीच ओलीपछि पार्टीको नेतृत्व कसले गर्ने भन्ने अन्तरसंघर्ष रहेको छ । फेरी दुवै नेता लुम्बिनी प्रदेशका भएकाले यसको असर अझ बढी लुम्बिनीमा देख्न सकिन्छ । पछिल्लो समय नेता पौडल ओलीको धेरै नजिक भएपनि अहिले शंकर पोखरेलले ओलीपछिको नेतृत्व लिने गरि पार्टीमा आफ्नो स्थान बनिरहेको विश्लेषण गरिन्छ ।

त्यस्तै अर्को पक्ष एमाले विभाजन हुदाका १० भाई भनिएका नेताहरु रहेका छन् । विभाजन अघि माधव नेपाल पक्षमा रहेका नेताहरुले विभाजन हुदा एमालेमै बस्ने निर्णय गरे । जसमा भीम रावल, घनश्याम भुसाल, योगेश भट्टराई, गोकर्ण विष्ट जस्ता नेताहरु रहेका छन् । उनीहरु अहिले पनि एमालेमा स्पष्ट भूमिका नपाएको बताइन्छ । उनीहरुलाई ओलीले विश्वास नगर्दा राजनीतिक भविष्य नै के हुन्छ भन्ने अवस्थामा रहेका छन् । ओली सरकार ढाल्नमा यी नेताहरुले भूमिका खेलेको भन्दै ओलीले अहिले पनि उनीहरुलाई मन देखि विश्वास गरेको अवस्था छैन । यस अन्तरद्वन्दको शिकार उनीहरु भएमा एमालेलाई नोक्सान हुने देखिन्छ ।

फुटको असर

एमालेमा स्थानीय तहको निर्वाचनमा फुटको असर थोरै नै भएपनि देखिएको छ । माधवकुमार नेपालले एकीकृत समाजवादी बनाएपछि एमालेलाई ठुलो असर त गरेन तर कतिपय स्थानीय तहमा एमालेलाई हराउने तहको असर परेको छ । अझ संसदीय निर्वाचनमा यो बढी प्रष्ट रुपमा देख्न सकिने विश्लेषण गरिएको छ । नेता नेपालले अहिले गठबन्धनमा रहेर आफ्ना लागि केहि सिट सुरक्षित गर्ने रणनितिमा रहेकाले उनी यसमा कति सफल हुन्छन्, त्यो अहिले त भन्न सकिन्न तर यसको असर एमालेलाई भने पर्ने देखिन्छ ।

सरकार संचालनको असर

पछिल्लो पाँच बर्षमा एमाले अध्यक्ष ओलीले करिब साढे तिन बर्ष सरकारमा रहे । दुई तिहाई करिब बहुमत रहेको सरकारको नेतृत्व गरेका ओलीले आफ्नो बहुमत र पार्टी दुवैलाई बचाउन सकेनन् । बरु उनको कार्यकालमा भएका अनियमितताका प्रकरणले हरेक दिन घेराबन्दीमा परे । एक पछि अर्को अनियमितताको घटना बाहिरिदा स्वयं आफ्नो पार्टीले समेत सरकारलाई डिफेन्ड गर्न सकेन । अहिले पनि एमालेलाई त्यसको असर पर्ने देखिन्छ । समग्रमा अहिलेको गठबन्धन सरकारले पनि राम्रो नगरेको अवस्थामा त्यसको विकल्प एमाले हुन सक्थ्यो, तर यस बिचमा एमालेले चालेका कदम, संसदमा देखाएको व्यवहार, जनार्दन शर्मा प्रकरण र एम अधिकारी प्रकरणमा गरिएको लेनदेन आदि घटनाक्रमले मतदातामा एमाले गठबन्धनको विकल्प हुन सक्ने सम्भावना कम देखिन्छ ।

निष्कर्षमा एमालेका लागि सत्तारुढ गठबन्धन, पार्टी भित्रको असन्तुष्टि, फुटको असर र आफुले यस अवधिमा सत्ता संचालन गर्दाका खराब कामको असर आउदो निर्वाचनमा पर्ने देखिन्छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै