• २०८१ बैशाख २१ शुक्रबार

गोटाबाया थाइल्याण्ड जाने तयारीमा

kharibot

काठमाडौँ । श्रीलंकाका अपदस्थ राष्ट्रपति गोटाबाया राजापाक्षेले थाइल्याण्ड प्रवेश गर्न अनुमति मागेका छन् । गोटाबाया हाल सिंगापुरमा रहेका छन् ।

उनीहरु जुलाई १४ मा माल्दिभ्स हुँदै सिंगापुर पुगेका थिए । श्रीलंकाको सात दशकमा सबैभन्दा खराब आर्थिक संकट र हजारौं प्रदर्शनकारीहरूले राष्ट्रपति भवनमा आक्रमण गर्दा भएको अभूतपूर्व अशान्तिले गोटाबाया राजापाक्षेलाई देश छोड्न बाध्य तुल्याएको थियो ।

सिङ्गापुर पुगेपछि गोटाबाया राजापाक्षेले राष्ट्रपति पदबाट राजीनामा इमेलमार्फत संसदका सभामुखलाई पठाएका थिए । श्रीलंकाको इतिहासमा आफ्नो कार्यकाल पूरा नगरी राजीनामा दिने उनी पहिलो राष्ट्रपति पनि हुन् ।

राजापाक्षे बिहीबार सिङ्गापुर छोडेर थाइल्याण्डको राजधानी बैंकक जाने अपेक्षा गरिएको छ ।

श्रीलंकाको विदेश मन्त्रालयले गोटाबायाको बैंकक भ्रमणको बारेमा प्रश्नहरूको तुरून्त जवाफ दिएन । थाई विदेश मन्त्रालयका प्रवक्ता तानी संग्रातले राजापाक्षेसँग कूटनीतिक राहदानी भएको बताए, जसले उनलाई ९० दिनसम्म देश प्रवेश गर्न अनुमति दिन्छ ।

श्रीलंकाका पूर्व राष्ट्रपतिको थाइल्याण्ड प्रवेश अस्थायी बसाइको लागि भएको बताइएको थियो ।

पूर्वराष्ट्रपति गोटाबाया राजापाक्षेले थाइल्याण्डमा राजनीतिक शरण लिने कुनै मनसाय नभएको र पछि अर्को देश जाने बताएको पनि श्रीलंकाली पक्षले बताएको छ । श्रीलंका छाडेपछि राजापाक्षे सार्वजनिक रूपमा कतै देखा परेका छैनन्, न त उनले कुनै वक्तव्य जारी गरेका छन् । सिङ्गापुर सरकारले यस महिना गोटाबाया राजपाक्षेलाई आफ्नो देशमा कुनै विशेषाधिकार वा छुट नदिइएको बताएको थियो।

७३ वर्षीय गोटाबाया राजापाक्षेले राष्ट्रपति बन्नुअघि लामो समय सेनामा अफिसरका रूपमा काम गरेका थिए । उनले श्रीलंकाको रक्षा सचिवको रुपमा पनि काम गरिसकेका छन् । यस समयमा, उनले श्रीलंकाली सेनालाई एलटीटीईसँग सम्झौता गर्न स्वतन्त्र हात दिए । त्यसपछि सन् २००९ मा श्रीलंकाली सेनाले एलटीटीई प्रमुख प्रभाकरणलाई मारेर देशबाट आतङ्कवाद समाप्त गरेको थियो । यस अवधिमा, श्रीलंकाली सेनामाथि व्यापक मानवअधिकार उल्लंघन र युद्ध अपराधको गम्भीर आरोप लगाइएको थियो । तर, राजापाक्षेले यी आरोपलाई सधैँ अस्वीकार गर्दै आएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै