• २०८१ बैशाख १४ शुक्रबार

निर्वाचन घोषणापछि कस्ता छन् काँग्रेसका चुनौती ?

kharibot

काठमाडौं । सरकारले मङ्सिर ४ गतेका लागि एकैचरणमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन घोषणा गरेसँगै देश अब आम निर्वाचनमा होमिएको छ । संबिधान निर्माणपछि भएको निर्वाचनको ५ बर्षे कार्यकाल समाप्त हुदै गर्दा दोस्रो आम निर्वाचनमा देश जान लागेको छ ।

यस अवसरमा निर्वाचनको घोषणा भइसकेपछि सत्तारुढ दल नेपाली काँग्रेस कस्तो रणनीति लिएर चुनावमा जादै छ त ? काँग्रेस भित्रका समस्या के के छन् ? काँग्रेसले गठबन्धनलाई अब कसरी लिएर लैजाला ? आदि विषयमा यहाँ विश्लेषण गर्न खोजिएको छ ।

अलोकप्रिय नेतृत्व 

अहिले काँग्रेस सत्तामै रहेर चुनावमा जाने तयारीमा रहेको बेला काँग्रेसका अगाडी प्रशस्त चुनौती देखिएका छन् । ओली नेतृत्वको सरकारको बहिर्गमनपछि देउवाले सत्ता सम्हालेको यस एक बर्षे अवधिमा परिवर्तनको आभास आम जनतालाई दिन नसक्नु र ओलीले गरेकै गल्तिहरु गर्दै गएको विषय काँग्रेसका लागि निर्वाचनमा महँगो पर्नसक्ने देखिन्छ । आम मतदातामा सरकार प्रमुखको रुपमा देउवाले खेलेको भूमिकाप्रति सकारात्मक धारणा छैन । देउवाले सुशासन, महंगी नियन्त्रण लगायतका विषयमा जान अपेक्षा अनुसार काम नै गर्न सकेनन् । सरकार अझ भन्नु पर्दा प्रधानमन्त्रीको विशेष चासो आम सरोकारका विषय सम्बोधन गर्ने भन्दा यसअघि ओलीले नियुक्ति गरेकालाई हटाउने र आफ्ना मान्छे भर्नेमा बढी केन्द्रित भएको देखियो ।

यसले आमा जनतामा काँग्रेस नेतृत्वप्रति सकरात्मक धारणा यस अवधिमै बन्न सकेन । सबै भन्दा डरलाग्दो अवस्था अहिले आम जनताको किचन महँगो भएको छ । बजारमा दैनिक प्रयोग हुने बस्तुको मुल्य आकासिएको छ, यस बारेमा सरकार र यसको नेतृत्व गरेको काँग्रेस थाहा नपाए जस्तो गरेको अवस्थामा छ । अवश्य पनि जनताले चुनावमा यो बिर्सने छैनन् । सरकारको नेतृत्व गरिरहेको हुनाले काँग्रेसका लागि निर्वाचनमा महंगी महँगो पर्ने देखिन्छ ।

गठबन्धन

काँग्रेसका लागि दोस्रो चुनौती गठबन्धन हुने देखिन्छ । स्थानीय चुनावमा पनि काँग्रेसले गठबन्धनको धर्म निर्वाह नगरेको आरोप सहयात्री दलहरुले लगाइरहेका छन् । मत परिणामले त्यो देखाएको पनि छ ।

काँग्रेसमा निर्वाचनमा गठबन्धन गर्ने विषयमा एकमत देखिदैन । काँग्रेसको ठुलो पंक्ति एक्लै चुनाव लड्नु पर्छ भन्ने पक्षमा छ । काँग्रेसको पछिल्लो केन्द्रीय समितिको बैठकमा पनि यो देखिएको छ । बैठकमा बोल्ने धेरै सदस्यले काँग्रेस एक्लै चुनाव लड्नुपर्छ भन्ने पक्षमा बोलेका थिए । अब देउवाका अगाडी सबै नेता कार्यकर्तालाई मनाएर गठबन्धन कायम राख्नुपर्ने चुनौती रहेको छ ।

त्यसैगरी गठबन्धनमा सिटको बाँडफाँड पनि प्रमुख चुनौती रहेको छ । अहिलेको संसदको समिकरणमा एमाले ठुलो दल, काँग्रेस दोस्रो र माओवादी केन्द्र तेस्रो रहेको छ । काँग्रेस र खासगरी प्रधानमन्त्री देउवा काँग्रेसलाई ठुलो पार्टी बनाउने र सकेसम्म माओवादी केन्द्रलाई अहिलेभन्दा कम्जोर बनाएर प्रचण्डको बार्गेनिङ शक्ति कम गर्ने ररणनीतिमा हुने देखिन्छ । किनकी माओवादी बलियो भएमा प्रचण्ड प्रधानमन्त्री बन्नका लागि समीकरण परिवर्तन गर्न समेत पछि नपर्ने भएकाले देउवाले कम्तिमा पनि माओवादीलाई साइजमा राख्ने प्रायस गर्ने सजिलै बुझ्न सकिन्छ । हालै सम्पन्न स्थानीय चुनावमा पनि उनको यहि रणनीति थियो, जसका कारण माओवादीले अघिल्लो चुनावभन्दा कम मत पाएको छ ।
काँग्रेसले आफ्नो रणनितिलाई गठबन्धनमा कसरी लागू गराउछ, गठबन्धनमा रहेका दलले काँग्रेसको रणनीतिलाई कसरी र कति असफल बनाउछन् यो रोचक पनि देखिएको छ ।

देउवा निकट नेताहरुले काँग्रेसले १६५ मध्ये कम्तिमा १०० सिट आफुले लिने प्रायस गर्ने बताएका छन् । काँग्रेसले १०० सिट प्रत्यक्षमा लिन सकेमा समानुपातिकबाट आउने सिटको आधारमा बहुमत नजिक पुग्न प्रयास गर्ने रणनितिमा रहेको बुझिएको छ ।

एजेण्डा

काँग्रेससँग चुनावमा जाने एजेण्डाको पनि कमि देखिएको छ । यस अघि ओली सरकारमा रहदा ओलीलाई गालि गरिरहेको काँग्रेस अहिले आफुनै गाली खाइरहेको छ । आफ्नै नेतृत्वको सरकारले राम्रो काम नगरेपछि त्यसलाई चिर्न काँग्रेस नेतृत्वले सकेको छैन वा प्रयास नै गरेको छैन ।

काँग्रेससँग सुशासन र विकासको एजेण्डा छैन भन्दा पनि हुन्छ । अझ अर्को शब्दमा भन्दा काँग्रेसले अगाडी सार्ने सुशासन र विकासको एजेण्डामा जनताले पत्याएर मत दिने अवस्था देखिदैन । अहिलेको एक बर्षे कार्यकालले काँग्रेसप्रति जनताको अविश्वास झन् बढेको देखिएको छ । काँग्रेसले अहिले चुनावमा भन्ने एजेण्डा हामीले संबिधानको रक्षा गर्यौं भन्ने हो ।

ओलीले संबिधान मास्न खोजेका थिए, हामीले रक्षा गर्यौं भनेर काँग्रेसले भोट माग्दा कति जनताले भोट दिन्छन्, अहिले भन्न सकिन्न । काँग्रेस पार्टीको संरचना, काम गर्ने तरिका हेर्दा जनतालाई आकर्षित गर्ने गरि एजेण्डा लिएर चुनावमा जान्छ भन्ने कुरा पत्याउन सकिन्न । कुनै चमत्कार नै भयो भने त्यो अलग हुने छ ।

निष्कर्षमा भन्दा यो स्थानीय चुनाव जस्तो व्यक्ति हेर्ने चुनाव पनि होइन । संसदीय चुनावमा पार्टी महत्वपूर्ण हुन्छ । अब काँग्रेसको काम गर्ने तरिका र आम मतदातासँग भएका अन्य विकल्पका बीच मतदाताले के छान्छन् अहिलेनै भन्न सकिन्न तर काँग्रेसको अहिलेको सरकारको काम, गठबन्धनको स्वार्थ केन्द्रित राजनीति र एजेण्डाविहीनताको अवस्थामा काँग्रेसका लागि आम निर्वाचन सुखद हुन्छ भनेर भन्ने अवस्था छैन ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै