• २०८१ बैशाख १६ आइतबार

चीनको वुहानमा फेरी लकडाउन

kharibot

काठमाडौँ । चीनको वुहानको एक जिल्लामा चारवटा लक्षणविहीन कोभिडका घटनाहरू भेटिएपछि तीन दिने लकडाउन गरिएको छ ।

कोभिड-१९ को प्रकोप रोक्न चीनको शून्य कोभिड नीति छ । जानकारीका अनुसार वुहानको जियाङ्शिया जिल्लामा तीन दिनको अस्थायी तालाबन्दी घोषणा गरिएको छ ।

९ लाख ७० हजार जनसङ्ख्या भएको जियाङ्जिया जिल्लाका अधिकारीहरूले बुधबार मुख्य सहरी क्षेत्रमा तीन दिनसम्म अस्थायी नियन्त्रण उपायहरू लागू गर्ने घोषणा गरेको चिनियाँ मिडियाहरुले उल्लेख गरेका छन् ।

बार, सिनेमाघर र इन्टरनेट क्याफे, साना क्लिनिक र कृषि उत्पादन बजार लगायत सबै मनोरञ्जन स्थलहरू बन्द गरिएको छ। प्रदर्शन, रेस्टुरेन्ट खाना र ठूला जमघटहरू निलम्बित गरिएको छ । सबै पूजास्थलहरू पनि बन्द गरिएको छ र धार्मिक गतिविधिहरूमा प्रतिबन्ध लगाइएको छ । शैक्षिक संस्था र पर्यटकीय केन्द्रको सञ्चालन पनि ठप्प छ ।

विज्ञप्ति अनुसार बसदेखि मेट्रो सेवासम्मका सबै सार्वजनिक यातायातलाई निलम्बन गरिएको छ र अत्यावश्यक काममा बाहेक जिल्ला नछाड्न सर्वसाधारणलाई आग्रह गरिएको छ ।

अधिकारीहरूले चार उच्च जोखिम क्षेत्रहरू पनि पहिचान गरेका छन् जहाँ बासिन्दाहरूलाई उनीहरूको घर छोड्न निषेध गरिएको छ। यस बाहेक अन्य चार छिमेकी क्षेत्रलाई मध्यम जोखिमको रूपमा चिन्ह लगाइएको छ, जसको मतलब त्यहाँका बासिन्दाहरूले आफ्नो ठाउँ छोड्न सक्दैनन्।

यी उपायहरूको उद्देश्य मानिसहरूमा संक्रमणको जोखिम कम गर्नु र कम से कम समयमा शून्य कोभिडको लक्ष्य हासिल गर्नु रहेको बताइएको छ । जियाङ्शिया जिल्लाका अधिकारीहरूले मंगलबार ढिलो चारवटा एसिम्प्टोमेटिक संक्रमण भेटिएको घोषणा गरेका थिए । त्यसपछि यी व्यापक प्रतिबन्धहरू लगाइएको छ। नियमित परीक्षणको क्रममा चार कोभिड केस रिपोर्ट गरिएको थियो ।

मध्य चीनको हुबेई प्रान्तको यातायात र औद्योगिक हब वुहानले २०२० को सुरुमा विश्वको पहिलो कोभिड तालाबन्दी लागू गरेको थियो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै