• २०८१ बैशाख २४ सोमबार

अभिनेत्री श्रीदेवीको मुम्बईमा अन्तिम संस्कार, लाखौ फ्यानले दिए श्रद्धान्जली 

kharibot

मुम्बई । बलिवुडकी चर्चित अभिनेत्री श्रीदेवीको आज मुम्बईमा अन्तिम संस्कार गरिएको छ । 

बुधबार अपराह्न राजकीय सम्मानका साथ श्रीदेवीको अन्तिम संस्कार गरिएको हो । श्रीदेवीलाई उनका पति बोनी कपुरले मुखाग्नी दिएको भारतीय संचारमाध्यमहरुले बताएका छन् ।

अन्तिम संस्कार अघि अभिनेत्री श्रीदेवीको अन्तिम दर्शनका लागि करिब ३ घण्टा राखिएको थियो । सो अवसरमा लाखौ सर्वसाधारण, फिल्मी सेलिब्रेटी, परिवारजनको उपस्थिती रहेको बताइएको छ ।  त्यसपछि अपराह्न २ बजेबाट शवयात्रा सुरु भएर अन्तिम संस्कार गरिएको थियो ।

अन्तिम संस्कार हुने ठाउ बाहिर हजारौ सर्वसाधारणको उपस्थिती रहेको थियो । अभिनेत्री श्रीदेवीलाई अन्तिम दर्शन गर्न बलिवुडका कैयौ सेलिब्रेटीहरु उपस्थित भएका थिए ।

महानायक अमिताभ बच्चन, शाहरुख खान, सुनिल सेट्टी, जावेद अख्तर, करण जोहर, अजय देवगन, काजोल, ऐश्वर्या राय बच्चन, माधुरी दिक्षित जस्ता सेलिब्रेटीले अन्तिम दर्शन गर्दै श्रद्धान्जली दिएका थिए ।  

यस अघि दुबईको अस्पतालले पोस्टमार्टम रिपोर्ट दिन ढिला गरेपछि उनको पार्थिव शरीरलाई मङ्गलबार अबेर राति मात्र दुबईबाट मुम्बई  ल्याइएको थियो ।  सोमबार दुबइ सरकारले बलिउडकी चर्चित नायिका श्रीदेवीको मृत्यु दुर्घटनाबस ‘वाथ टव’मा डुबेर भएको जानकारी गराएको थियो । 

दुबईमा आफ्ना भान्जाको वैवाहिक कार्यक्रममा सहभागी हुन गएका बेला गत शनिबार राति निधन भएकी अभिनेत्री श्रीदेवीको तीन दिन पछि मात्र शव भारत ल्याइएको थियो । 

सन् १९६३ अगस्ट १३ तारिखमा भारतको तामिलनाडुमा जन्मिएकी श्रीदेवीले झण्डै चार वर्षको उमेर देखि नै तमिल चलचित्र उद्योगमा अभिनय सुरु गरेकी थिइन् ।

३ सय भन्दा धेरै चलचित्रमा अभिनय गरेकी श्रीदेवीका नगिना, हिम्मतवाला, मिष्टर इण्डिया, चालबाज, चादनी जस्ता दर्जनौ सुपर हिट चलचित्र रहेका छन् ।  पछिल्लो समय पनि अभिनयमा व्यस्त रहेकी श्रीदेवीको पछिल्लो फिल्म मम प्रदर्शनमा आएको थियो । 

भारतकी पहिलो 'महिला सुपरस्टार' का रुपमा आफ्नो छबि बनाएकी श्रीदेवी उनी बाल कलाकारको रुपमा सन् १९७५ मा ‘जुले’ फिल्मबाट बलिउडमा प्रवेश गरेकी थिइन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै