• २०८१ बैशाख १७ सोमबार

चुनावी प्रचारमा देउवा भर्सेज ओली : बन्ला त कम्युनिष्ट सरकार ? 

kharibot

काठमाडौँ । बिक्रम सम्वत ३० को दशकमा उनीहरुकै शव्दमा सामन्तहरुको जिउदै टाउको गिडेर साम्यवादी सत्ता स्थापनाका खातिर लाल क्रान्तिको बिगुल फुक्ने झापाका मैनाली कामरेडहरु अहिले संघीय लोकतान्त्रिक गणतन्त्र अन्तर्गतको चुनाव २०७४ मा सुस्ताईरहेका छन् । 

झापा क्रान्तिका एक नायक राधाकृष्ण मैनाली कहिले राधा त कहिले कृष्णको भुमिकामा माले, एमाले, दरवार, माओवादी हुदै एमालेमा नै आएर थन्किएका छन्, स्टोरका कवाडी सामानको हैसियतमा । 

अर्का झापा विद्रोहका नायक सीपि मैनाली माले, एमाले र मालेहुदाँसम्म परिवार दलको हैसियतमा खुम्चिएका छन् । झापा विद्रोहका अरु कैयन लाल योद्धाहरु को कता हराए, त्यसको सही हिसाबसम्म राख्ने जाँगर कुनै कम्युनिष्ट वा वाम दलसँग छैन । 

त्यसै मध्येका एक हुन केपी ओली जो, जीवनभर माओवादीलाई सत्तोसराप गरेर कहिल्यै थाकेनन्, तर चुनाव २०७४ मा उनै माओवादीको बुई चढेर भावी प्रधानमन्त्रीको सपना बुनिरहेका छन् । झापा विद्रोहकै लिगेसीमा हुर्किएको दाबी गर्ने नेकपा एमालेका अध्यक्ष हुनुका नाताले, एक पट्क प्रधानमन्त्रीको हटसिटमा ९ महिने स्वाद लिएका कारण ओलीलाई एनी हाउ आफूलाई सिंहदरवार पुनः पुरयाउ भन्ने एक सुर चढेको छ । त्यसैले उनले चित्रबहादुर केसीदेखि राजेन्द्र लिंग्दनेसम्म, एकनाथ ढकालदेखि ह्दयेस त्रिपाठीसम्मलाई सूर्य ध्वजावाहक कामरेड उम्मेद्धवार बनाएका छन् । प्रचण्ड माओवादीलाई त काँधै थापेर वकालत गरिरहेका छन । 

कुरा क्लीएर छ, स्व. जननेता मदनकुमार भण्डारीको बहुदलीय जनवाद अर्थात सन् ९० को दशकमा विश्वबाट साम्यवादी सत्ता तासको पत्ता झैं बर्लिनको पर्खालसंगै भत्किदै गर्दा नेपाली कम्युनिष्टहरुका लागि सत्ता यात्राको लागि तय गरिएको नयाँ वैचारिक कार्यदिशाको मुख्य पालनकर्ता हो हालको एमाले । ओली नेतृत्वको एमाले, एमालेसंगै चुनावी गठबन्धनसंगै पार्टी एकताका लागि भगिरथ प्रयत्न गरिरहेको माओवादी पनि । भाई एमाले भैसकेको माओवादी पनि पुरै एमाले हुने औपचारिक घोषणा मात्रै हुन बाँकी छ । 

यस्तो बेलामा नेपालमा कार्ल मार्क्सकालिन दास क्यापिटालिज्मको साम्यवादी अर्थतन्त्रको बाटो नेपाली वाम भनिने दलहरु एमाले वा माओवादीहरुबाट चुनावी विजयकै साथ ल्याईदै छ भन्ने तथ्य खास जनता र बुझक्कड वर्गका लागि  त ठूलै राजनीतिक व्यंग्य हो । किन भने विश्व सर्वहारा वर्गको मुक्तिको प्रतिक हसियाँ हथौडाको लाल झण्डा फहराएकै भरमा र मार्क्स, लेनीन र माओका नाममा पार्टी व्राण्ड गरेकै भरमा नेपालमा साम्यवादी कोही भैदिने थिए भने नेपाल दशकौं अघि साम्यवादीहरुको देश बनिसक्नुपर्ने थियो । 

सत्तामा पुग्नु र कमाउनु नै नेपाली वामहरुको उदेश्य नहुदो हो त पहिलो कम्युनिष्ट प्रधानमन्त्री स्व. मनमोहन अधिकारी वा त्यसपछिका ५ थान वाम प्रधानमन्त्रीहरु माधव नेपाल, झलनाथ खनाल, बाबुराम भट्टराई, केपीओली वा प्रचण्डले देशलाई साम्यवादी बनाईसकेका हुन्थे । 

अहिले वाम गठबन्धनको समाजवादी यात्राको हुँकार सुनेर सबैभन्दा बढी हास्दा हुन ३० को दशकमा तत्कालिन मालेको सामन्त सफाया आन्दोलनका भुत्तभोगी र पीडित झापाली जनताहरु । किन भने झापा जिल्ला लाल किल्लाको गिल्ला अरुले भन्दा ज्यादा केपी, सीपी, आरकेहरुले गरेको तथ्यका ज्यूदा साक्षी मात्रै झापाली जनता हुन् , छन् । त्यही झापामा पुगेर नेपाली कांग्रेसद्वारा सोमबार गौरादहमा भव्य चुनावी सभा सम्पन्न गरयो । 

सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वाम गठबन्धन लोकतन्त्र विरोधी भएको दावी मात्रै गरेनन्, वाम गठबन्धनमार्फत देशमा एक दलीय कम्युनिष्ट शासन स्थापना गर्न खोजिएको आरोप पनि लगाए । संभवतः झापाली क्रान्तिको आलोकमा जनवादी सपना बाडेर धनवादी कमरेड बनिरहेका वामहरुलाई नै एकदलीय कम्युनिष्ट शासनका हाऊगुजी देखाउने प्रधानमन्त्री देउवाको कथनले झापाली जनहरुलाई निकै हसाएको हुनुपर्छ । 

किन भने नामले वाम र कामले मिलीजुली खाम गर्ने कम्युनिष्टहरु आफैमा सच्चा कम्युनिष्ट रहेनन् भन्ने तथ्यको वोध सबैभन्दा बढी झापाली जनतालाई नै भएको हुनुपर्छ । 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रतिनिधि सभाका लागि प्रत्यक्ष निर्वाचन तर्फका उम्मेदवार रहेको झापा क्षेत्र नं ५ को गौरादह नगरपालिकामा आयोजित आम सभामा  देउवको ठोकुवा थियो, नेपालमा एक दलीय कम्युनिष्ट शासन स्थापना गर्न खोजिँदैछ । एक दलीय कम्युनिष्ट तानाशाही लाद्न खोजिएको छ । भन्न थालिसके यो संविधान ठीक छैन, राष्ट्रपति शासन लाउनुपर्छ । हो भन्न त वाम गठबन्धनले देउवाले आरोप लगाए जस्तै कुरा भनेका हुन नै । तर भनेर मात्रै हुन्थ्यो भने त उनीहरुले साम्यवादी स्वगै बनाईसकेका हुन्थे सिंगै सगरमाथाको देशलाई । 

ओलीको चुनावी क्षेत्रमा देउवाको साथमा वरिष्ठ कांग्रेस नेता रामचन्द्र पौडेल वाम गठबन्धनका शीर्ष नेता विरुद्ध खनिदै भने, वामपन्थी दलहरुले संसदीय व्यवस्थामाथि धावा बोलेका छन् । वरिष्ठ नेता पौडेलको कथन थियो, यो गठबन्धनले नेपालको भलो गर्दैन । यो अनिष्टको संकेत हो । अहिले संविधानले जुन अधिकार दिएको छ त्यसको कार्यान्वयन संसदीय व्यवस्थामा मात्र हुन्छ । देउवा पौडेलहरुको बाणी मात्रै सत्य हो भने त मंसिर २१ पछि नै देश की कम्वोडिया बन्छ, की तत्कालिन सोभियत रुस वा नभए पनि क्यूवा त हुन्छ हुन्छ । तर के भूधरातलीय वाम राजनीतिक यथार्थ त्यही हो त ? होईन नै ।

किन भने जगजाहेर छ माओवादी २०६३ पछि र तत्कालिन माले अर्थात हालको एमाले ३० को असफल झापा विद्रोहसंगै संसदीय व्यवस्थाका हिमायती र रक्षक बनिसकेका हुन् । तर देउवा र पौडेल अझै उनै वामको साम्यवादी भूतसंग डराईरहेका छन । यसले एकातिर काँग्रेससँग वामहरुलाई हेर्ने र चिन्ने वा उचित प्रतिवाद गर्ने अस्त्र समाप्त भएको संकेत गर्छ भने अर्कोतिर वाम गठबन्धनलाई जस्तालाई तस्तै गर्ने शव्दभण्डार, रणनीति र चालवाजी वयोवृद्ध हुदै गएका देउवा र पौडेलहरुमा कम हुदै गएको प्रमाणित गर्छ ।

सत्तामा बसेको काँग्रेसले नामै मात्रैका वामको भूत जगाएर होईन, सुन्दर नेपालको सपनासंग जनताको भावना जोडेर मन जित्ने हो भने, आफ्ना सत्ताकालिन शासकीय भुलहरुको निर्मम समीक्षा गरेर जनतासंग सच्चिएको प्रमाणित हुने हो भने देउवा र पौडेल वा सो स्तरका नेताहरुले काल्पनीक साम्यवादी अधिनायकवादसंग तर्सिएको भेउ जनतालाई दिनु भन्दा ज्यादा जनताको सम्वृद्धि र सम्पन्नताको खाका दिए बेश हुन्थ्यो की चनावी समरमा विजयका लागि ?

गत मंसिर ७ गते नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरा पुगेर काँग्रेस विरुद्ध खनिएको प्रतिवाद झै लाग्ने गरी त्यसको केही दिनमै पहिलो चरणको निर्वाचन सकिने बित्तिकै देउवा ओलीको निर्वाचन क्षेत्र पुगेर वाम विरुद्ध खनिनु उनीहरुको राजनीतिक सौदावाजी त ठीकै होला । तर सचेत मतदाताका लागि यो अलि हजम हुने प्रतिवाद होईन की ? 

निश्चय नै दोश्रो चरणको मतदानका लागि करीब डेढ साताभन्दा पनि कम समय रहँदा प्रमुख दलहरुबीच आरोप, प्रत्यारोप बढ्दै गएको देखिन्छ । यो अस्वभाविक नभए पनि पाच्य पनि होईन । अरुको आँगमा जुम्रा खोज्ने दलहरुले आफ्नो आँगमा भैसी देखेर जनताको भावना र माग संवोधन गर्नतिर ध्यान दिए सबैको भलो हुन्थ्यो की ? 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै