काठमाडौँ । हाल सरकारमा रहेको माओवादी केन्द्रले सरकार नछोड्ने भएको छ ।
गृहमन्त्री जनार्दन शर्माले आज गृह मन्त्रलायमा पत्रकार सम्मेलनको आयोजना गर्दै निर्वाचन सार्ने तयारीमा प्रधानमन्त्री रहेकाले सरकार नछोड्ने निष्कर्षमा पुगेको जानकारी दिएका छन् । गृहमन्त्री शर्माले आफुहरुले निर्वाचन आयोगबाट निर्वाचन सार्ने तयारीमा प्रधानमन्त्री रहेको सूचना पाएपछि सरकारबाट फिर्ता हुनबाट पछि हटेको बताए ।
प्रधानमन्त्रीले निर्वाचन सार्ने प्रपन्च गरेको थाहा पाएपछि सरकार छाड्ने विज्ञप्तिमा हस्ताक्षर गर्दै गर्दा स्थगित गरेको पनि उनले जानकारी दिए । साथै शर्माले सरकारमा बस्न आफुहरुलाई कुनै लोभ नभएको बताउदै निर्वाचन सार्ने चलखेल आफुहरुले नमान्ने स्पष्ट पारे ।
यस अघि उपप्रधानमन्त्री कृष्णबहादुर महराले पनि आफ्नो मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै सरकार छोड्ने बारे अस्पष्ट जवाफ दिएका थिए ।
सरकारमा बस्ने की छोड्ने बारे माओवादी केन्द्रका अध्यक्ष र प्रधानमन्त्री शेर बहादुर देउवाबीच आज बिहान छलफल भएको बताइए पनि माओवादी केन्द्रले ठोस निर्णय भने अझै गरेको छैन ।