काठमाडौं : संघीय समाजवादी फोरम अहिले सरकारमा नजाने भएको छ । फोरमले संविधान संशोधनको विषयलाई शर्तको रुपमा अघि सार्दै तुरुन्त सरकारमा नजाने निर्णय गरेको हो ।
आइतबार बसेको फोरमको पदाधिकारी बैठकले संविधान संशोधनका विषयमा जारी छलफल ठोस निष्कर्षमा पुगेपछि मात्र सरकारमा जाने निर्णय गरेको छ ।
बैठकले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागिताका लागि संविधान संशोधनको विषयलाई शर्तको रुपमा अघि सारेको हो ।
प्रधानमन्त्री ओलीले औचित्यका आधारमा मात्र संविधान संशोधन हुने अडान दोहोर्याइरहेका बेला फोरमले यस्तो निर्णय गरेको हो । बैठकले संविधान संशोधनका सवालमा जारी वार्ता निष्कर्षमा पुगे लगत्तै पार्टीले मन्त्रीको नाम सरकारलाई पठाउने बताएको छ ।
यस विषयमा सरकारसँग आबद्ध दलसँग थप छलफल गर्ने निर्णय आइतबारको बैठकले गरेको छ । संविधान संशोधनमा कुरा नमिल्दा शुक्रबार विस्तार भएको मन्त्रिपरिषद्मा फोरम सहभागी भएन् ।