• २०८१ बैशाख १४ शुक्रबार

ओली-मधेसको नयाँ समिकरण र भारत कनेक्सन 

kharibot

काठमाडौँ । निर्वाचन अघिसम्म विपरित ध्रुवमा रहेका वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र मधेशवादी दलहरु संघिय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी(राजपा) बीच एकाएक बढेको नजदिकीले नेपाली राजनीतिमा फेरी नयाँ समीकरण बन्न लागेको देखिएको छ ।

एमाले र माओवादी एक पार्टी हुदै गर्दा तराई र खासगरी प्रदेश नम्बर २ का दुइ प्रमुख दल पनि ओली सरकारमा जाने तयारी गर्नुले अबको केन्द्रीय र प्रदेसिक राजनीतिमा नयाँ समिकरण बन्न लागेको प्रष्ट हुन्छ । तर यो समीकरण अहिलेको आवश्यकता हो या फेरी पनि कुनै विदेशीको इच्छा र योजना अनुसार बन्दै छ भन्ने प्रश्न फेरी पनि उठेको छ ।

यस समीकरणको उद्धेश्य र कार्य योजना प्रष्ट नभए पनि प्रधानमन्त्री ओलीले दुइतिहाई बहुमतको सरकारको नेतृत्व र देशको शासन प्रणालीमा हस्तक्षेपकारी भूमिका खेल्ने आकांक्षा भने देखिन्छ ।  

प्रतिनिधि सभामा बहुमत मै रहेका एमाले-माओवादी फोरम र राजपालाई सरकारमा ल्याएर काँग्रेसलाई एक्लो प्रतिपक्ष बनाउन खोजेको प्रष्ट हुन्छ । चुनाव अघिसम्म फोरम र राजपालाई काधमा लिएर हिडेको काँग्रेसले संबिधान संशोधनलाई प्रमुख एजेन्डा बनायो तर  अब फोरम र राजपा ओली-प्रचण्डको काधमा जादै छन् । 

भारत कनेक्सन :

प्रधानमन्त्रीमा नियुक्त नहुदै देखि नै ओली र भारतको विषयमा धेरै अड्कल बाजी भएका थिए । भारतीय प्रधानमन्त्रीले निर्वाचन पछि ओलीलाई फोन गरेर  बधाई मात्र दिएनन् प्रधानमन्त्री नियुक्त हुनासाथ फेरी फोन गरे र विशेष दुतको रुपमा आफ्नी विदेशमन्त्री सुष्मा स्वराजलाई काठमाडौँको नाडी छाम्न पठाए ।

धेरैले यसलाई अब नेपाल भारत जाने होइन भारत काठमाडौँ धाउने हो भनेर नेपालको लागि कुटनीतिमा पहिलो पटक नैतिक विजय भएको रुपमा पनि ब्याख्या गरे । तर ओलीसँगको सम्बन्ध सुधार गर्न भएको सुष्माको काठमाडौँ भ्रमणपछि मधेस केन्द्रित दलसँग उनको निकटता अचानक बढ्न थाल्यो र त्यो सरकारमा सामेल हुनेसम्म पुग्दै छ ।

स्थिति यस्तो सम्म बन्दै छ हिजो अनेकौ बहाना बनाएर संबिधानको विरोध गर्ने राजपा अहिले वार्ता निष्कर्षमा नपुग्दै ओलीलाई समर्थन गर्न तयार भएको छ । सरकारको स्थायित्व र विकासका लागि यी घटनाक्रम सकरात्मक हुन् तर कसैको इसारामा भएको हो भने यो नेपालको हितमा अवश्य हुने छैन ।  

राजपाद्वारा प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीलाई समर्थन 

प्रधानमन्त्री ओलीले आइतबार प्रतिनिधिसभामा लिने विस्वासको मतमा राजपाले समर्थन गर्ने जनाएर पनि उनीहरु सत्तामा जाने निश्चित भएको संकेत गरेका छन् । 
त्यस्तै फागुन २९ गते हुने राष्ट्रपति निर्वाचनमा राजपाले विद्यादेवी भण्डारीलाई समर्थन गर्ने भएको छ । 

राजपा अध्यक्षमण्डलको बैठकले राष्ट्रपति निर्वाचनमा भण्डारीलाई समर्थन गर्ने निर्णय गरेको सो पार्टीका महासचिव केशव झाले जानकारी दिएका छन् । उनका अनुसार वाम गठबन्धन सरकारमा सहभागी हुनेबारे पछिल्ला दिनमा भइरहेको छलफल सकारात्मक बन्दै गएको छ । सत्ता नेतृत्वकर्ता एमाले र माओवादी केन्द्रसँग भइरहेका छलफल र वार्ता सकारात्मक ढंगले अघि बढिरहेकाले पनि राष्ट्रपतिमा राजपाले भण्डारीलाई समर्थन गरेको बताइन्छ । 

महासचिव झाले संविधान संशोधनमा कुरा मिलेपछि सरकारसँग सहकार्य गर्ने गरी छलफल चलिरहेको र सोही आधारमा राष्ट्रपतिमा समर्थन गर्ने निर्णय भएको बताए । राष्ट्रपति भण्डारी र नेपाली काँग्रेसका तर्फबाट लक्ष्मी राईले यही फागुन २९ गते हुने राष्ट्रपति निर्वाचनमा प्रतिष्पर्धा गर्दै छन् ।

प्रदेश नम्बर २ मा बाम गठबन्धन सरकारमा जान्छ – माधव नेपाल

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले शुक्रबार रौतहटको एक कार्यक्रममा बाम गठबन्धन प्रदेश २ मा सरकारमा जाने बताए । सहरी विकास मन्त्रालय अन्तर्गतको सडक निर्माणको सिलान्यास कार्यक्रममा नेता नेपालले राष्ट्रपति निर्वाचन पछि केन्द्रमा सरकार विस्तार हुने, राजपा-फोरम केन्द्रमा सरकारमा जाने र एमाले-माओवादी प्रदेश २ मा सरकारमा जाने बताए ।

घटनाक्रमले अब दुइतिहाई बहुमतको सरकार बन्ने निश्चित भएको छ । नेपालको राजनीतिक इतिहासमा २०१५ साल पछि ठुलो जनमत पाएर सरकार बनेको छ । प्रधानमन्त्री ओलीलाई देशको कायापलट गर्ने विशिष्ट अवसर प्राप्त छ । राजनीतिक स्थिरता तर्फ मुलुक गैरहेको अवस्थामा देशका सवै अंगलाई विकासमा केन्द्रित गर्ने सुनौलो अवसर प्राप्त छ ।

तर एमाले-माओवादी, ओली-प्रचण्ड, उपेन्द्र यादव-महन्थ ठाकुरको इच्छामा मात्र यस्तो गठबन्धन बन्दै छ त ? फेरी पनि विदेशीको इसारामा नयाँ प्रयोग हुदै छ भने देशका लागि त्यो दुर्भाग्य हुने छ, आशा गरौ त्यस्तो नहोस । किनकी मुलुकलाई अस्थिर बनाउने तत्व जुनसुकै बेलापनि सक्रिय हुने गर्दछन् ।    

पछिल्ला स्वराज र अब्बासी भ्रमणको चर्चा 

प्रधानमन्त्रीमा ओलीको नियुक्ति पछि भारतीय विदेशमन्त्री सुष्म स्वराज र पाकिस्तानका प्रधानमन्त्री शाहिद खाकान अब्बासीको भ्रमणलाई अर्थपुर्ण तरिकाले हेरिएको छ । 

भलै ति भ्रमणहरूको असर के कति पर्यो वा पर्ला त्यो समयले बताउने छ । नेपालको नयाँ सरकार बन्नै लाग्दागत माघ १८ गते सुष्म स्वराज अचानक नेपाल आईन् । एमाले अध्यक्ष केपीओली देखि मधेशीदलका नेताहरूसँग गरिएको भेटघाटले यस अर्थमा पनि महत्व राख्दछ कि त्यो भ्रमण पश्चात नै संविधान संसोधनमा निकै कठोर देखिएका ओली एकाएक लचक देखिए भने ओलीलाई सबैभन्दा ठूलो मधेश बिरोधि ठान्ने राजपा र संघिय समाजवादी फोरम एकाएक ओलीसँग सहकार्य गर्न तयार भए ।

त्यस्तै पाकिस्तानी प्रधानमन्त्री अब्बासी फाल्गुन २१ गते नेपाल आइपुगे । सार्क सम्मेलनको क्रममा बाहेक पाकिस्तानी प्रधानमन्त्रीले नेपाल भ्रमण गरेको यो लामो समयपछि हो । अमेरीका विरोधि र चीनतर्फ झुकाव भएका भनिएका अब्बासी ओली प्रधानमन्त्री हुने वित्तिकै नेपाल आउनु र उनले नेपालले चीनको वेल्ट एण्ड रोडबाट फाइदा लिन सक्नुपर्छ भनेर जोड दिनुलाई विशेष अर्थका साथ हेरिएको छ । भ्रमण प्रमुख प्रतिपक्ष दलको नेता काङ्ग्रेस सभापति शेर बहादुर देउवासँग भने उनले भेट गर्ने कुनै चासो देखाउनु पनि उनको भ्रमणमा चर्चाको विषय बन्यो । 

राजपाले उपराष्ट्रपति मागेको चर्चा

उपेन्द्र यादव नेतृत्वको फोरम सरकारमा जाने लगभग निश्चित भएपछि विगत दुई-तीन दिनदेखि राजपासँग प्रधानमन्त्री ओलीको छलफल चलिरहेको छ । फोरमको सरकारमा सहभागिता देखि अत्तालिएको राजपाले पनि ओली नेतृत्वको सरकारमा जान शक्ति केन्द्रको प्रयोग गरेर पहल गरिरहेको छ । राजपाले सरकारमा जान महत्वपूर्ण मन्त्रालयसँगै उपराष्ट्रपति मागेको अहिले चर्चा छ यद्यपि यस खबरलाई राजपा र एमालेका नेताहरुले पुष्टि गरेका छैनन् । शिर्ष तहमा मात्र छलफल भएकाले यसको आधिकारिकता प्रष्टिएको छैन । 

राजपा नेता महन्थ ठाकुरले उपराष्ट्रपति बन्ने इच्छा देखाएको बताइएको छ । राजपाको आन्तरिक समीकरण मिलाउन हाल एमालेसँग अलि नजिक रहेका राजेन्द्र महतो ठाकुरलाई उपराष्ट्रपति बनाएर आफु मन्त्री हुने होमवर्कमा जुटेको बताइन्छ ।

तर एमाले-माओवादीबीचको भागबन्डामा राष्ट्रपति एमालेले पाइसकेको अवस्थामा उपराष्ट्रपति माओवादी केन्द्रको भागमा परेको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै