काठमाडौँ । प्रिमियर लिग क्लब एभर्टनले आइतवार आफ्ना मुख्य प्रशिक्षक राफेल बेनिटेजलाई बर्खास्त गरेको छ ।
कार्लो एन्सेलोटीको ठाउमा २०२१ को जुनमा एभर्टनको प्रशिक्षक बनेका बेनिटेजलाई लगातारको क्लबको खराब प्रदर्शनपछि एभर्टनले बर्खास्त गरेको हो ।
एभर्टनमा २२ खेलमा प्रशिक्षक बनेका स्पेनिस प्रशिक्षक बेनिटेजले केबल ७ खेलमा जित दिलाए भने ५ खेल बराबरी खेलेको थियो, जबकी १० खेलमा हार बेहोरेको थियो ।
एभर्टनले एक विज्ञप्ति मार्फत टोलीको प्रबन्धकको रूपमा राफेल बेनिटेजलाई हटाइएको जानकारी दिएको छ । क्लबले उनको ठाउमा आउने नयाँ प्रशिक्षकको बारेमा छिटै जानकारी दिने बताएको छ ।
एभर्टनले अब अर्को खेल जनवरी २२ मा एस्टन भिल्लाबिरूद्ध फेरि खेल्नेछ । हाल प्रिमियर लिगमा एभर्टन १९ खेल खेलेर १९ अंक सहितनै १६औं स्थानमा रहेको छ ।









