काठमाडौँ । युइएफए नेसन्स लिगअन्तर्गत गएराति भएको रोमाञ्चक खेलमा स्पेनलाई ३–२ गोलले पराजित गर्दै इंग्ल्यान्ड समूह ‘ए३’ को विजेता बनेको छ ।
स्पेनको घरेलु मैदान म्याड्रिडस्थित रियाद एयर मेट्रोपोलिटानोमा भएको खेलमा इंग्ल्यान्डले उत्कृष्ट प्रदर्शन गर्दै विश्वकप विजेता स्पेनको ४३ खेलदेखिको अपराजित यात्रामा पूर्णविराम लगाएको हो ।
खेलको पहिलो हाफको अन्तिम मिनेटमा ह्यारी केनले पेनाल्टीमार्फत गोल गर्दै इंग्ल्यान्डलाई अग्रता दिलाएका थिए । दोस्रो हाफमा इंग्ल्यान्डले आफ्नो अग्रता थप बलियो बनायो। खेलको ५३औँ मिनेटमा एज्री कोन्साले गोल गर्दै अग्रता दोब्बर बनाए भने ५७औँ मिनेटमा बेन ह्वाइटले तेस्रो गोल थपे ।
तीन गोलले पछि परेको स्पेनले खेलमा पुनरागमनको प्रयास गरेको थियो । खेलको ६३औँ मिनेटमा इंग्ल्यान्डका इलियट एन्डरसन रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएपछि स्पेनले खेलमा दबाब बढाएको थियो । त्यसको फाइदा उठाउँदै स्पेनका मिकेल ओयार्जाबालले ६५औँ मिनेटमा पेनाल्टीमार्फत गोल गरे । त्यसपछि निको विलियम्सले ७५औँ मिनेटमा लामिन यामालको पासमा गोल गर्दै स्पेनलाई ३–२ को स्थितिमा पुर्याए ।
खेलको अन्तिम समयसम्म स्पेनले बराबरी गोलको प्रयास गरे पनि सफल हुन सकेन। इंग्ल्यान्डले ३–२ को जित निकाल्दै महत्त्वपूर्ण तीन अंक जोड्यो ।
यस जितसँगै इंग्ल्यान्ड र स्पेन दुवैले समूह चरणमा १५–१५ अंक जोड्दै क्वार्टरफाइनलमा स्थान बनाएका छन् । गोल अन्तरका आधारमा इंग्ल्यान्ड समूह विजेता बन्दा स्पेन उपविजेता बनेको छ ।
खेलमा पराजित भएसँगै स्पेनको लगातार ४३ खेलसम्म कायम रहेको अपराजित यात्रा पनि टुंगिएको छ ।









