• २०८१ जेठ ६ आइतबार

मकालु आधार शिविमा फसेका चार नेपालीको उद्धार, विदेशी पर्यटकको शव उठेन

kharibot

प्रतिनिधी तस्वीर

किमाथाङ्का । सङ्खुवासभाको मकालु गाउँपालिका–२ मकालु आधार शिविरबाट चार जनाको उद्धार भएको छ । 

मकालु आधार शिविरको हिउँमा फसेका चार नेपालीको आज हेलिकप्टरमा उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ । विश्वको पाँचौँ अग्लो मकालु हिमाल आरोहणका लागि गत असोज २५ गते तीन विदेशी पर्यटकसहित सात नेपाली मकालु आधार शिविर पुगेका थिए । मकालु आधार शिविरको हिउँमा काठमाडौँका अनोज चुडाल, सोलुखुम्बुका जङ्ग कुलुङ राई, दीपक कुलुङ राई, दीनेन्द्र कुलुङ राईलाई हेलिकप्टर मार्फत उद्धार गरेर सोलुखुम्बु लगिएको टोलीका सदस्य निरज कार्कीले जानकारी दिए । 

कार्कीका अनुसार सोलुखुम्बुका विष्णु कुलुङ राई र तेन्जिङ भोटेको उद्धार हुन बाँकी रहेको बताए । विष्णु र तेञ्जिङ मकालु–२ को लाङमालेमै रहेको कार्कीले बताए । मकालु आधार शिविरको हिउँमा फसेका कार्की र डेनमार्कका दुई नागरिकलाई हेलिकप्टरमार्फत उद्धार गरेर आइतबार नै काठमाडौँ लगिएको थियो । गत असोज २५ गते तीन विदेशी पर्यटकसहित १० जनाको टोली ताप्लेजुङ हुँदै मकालुतर्फ आधार शिविर गएका थिए । 

मृत्यु भएका विदेशी पर्यटकको शव उठेन 

विश्वको पाँचौँ अग्लो मकालु हिमाल आरोहणका लागि मकालु आधार शिविर पुगेका डेनमार्कका नागरिक थोर्वजन एडर्शनको शव चार दिन बित्दा पनि उठ्न सकेको छैन । गत शुक्रबार मकालु–२ मकालु आधार शिविरमा एडर्शनको मृत्यु भएको थियो । मृतक एडर्शनको शव कानूनी प्रक्रिया सकेपछि मात्र उठ्ने जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी प्रमुख लालध्वज सुवेदीले जानकारी दिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय