• २०८१ बैशाख २५ मंगलबार

 बेलहिया÷सुनौली नाका हुदैं नेपाल घुम्न आउने पर्यटक बढे

kharibot

फाइल फोटो ।

बुटवल । नेपाल प्रवेश गर्ने सबैभन्दा ठूलो नाका रुपन्देहीको बेलहिया÷सुनौली हुँदै नेपाल भ्रमणमा आउने विदेशी पर्यटकको संख्या गत वर्षको तुलनामा यसवर्ष वृद्धि भएको छ । 

बेलहिया अध्यागमन कार्यालयका अनुसार सन् २०१७ जनवरीदेखि नोभेम्बरसम्म यो नाका हुँदै एक लाख ३४ हजार ७०८ पर्यटक नेपाल भित्रिएका छन् । यो तथ्यांक भारतबाहेक तेस्रो मुलुकबाट नेपाल भित्रिएका पर्यटकको हो । 

उक्त कार्यालयका सूचना अधिकृत गिरिराज खनालका अनुसार गतवर्षको सोही अवधिसम्म एक लाख ३१ हजार ९३७ पर्यटक नेपाल आएका थिए । गत वर्षको तुलनामा यो संख्या झण्डै दुई हजार ७७१ ले बढी हो । 

यो नाका हुँदै यो वर्षको जनवरीमा एक हजार ७२६, फेब्रुअरीमा २६ हजार २७७, मार्चमा २८ हजार ४५३, अप्रिलमा छ हजार ४१४, मेमा एक हजार ३८८, जुनमा ९५६, जुलाईमा एक हजार ९१३, अगष्टमा ११ हजार ६८६, सेप्टेम्बरमा आठ हजार ४८०, अक्टुबरमा १८ हजार २७७ र नोभेम्बरमा २० हजार ५८८ पर्यटक नेपाल भित्रिएका हुन् । 

कार्यालयका अनुसार सन् २०१३ मा खस्किएको पर्यटक आगमन त्यसपछि निरन्तर वृद्धि भइरहेको छ । सन् २०१४ मा एक लाख १७ हजार २६३, २०१५ मा एक लाख २० हजार ६३७, २०१६ मा एक लाख ४७ हजार ६०८ पर्यटक यो नाकाबाट नेपाल भित्रिएका थिए । 

चालू आर्थिक वर्षको ११ महिनामा सबैभन्दा बढी ४७ हजार ८११ श्रीलंकाली पर्यटक यो नाका हुँदै नेपाल भ्रमणमा आएका छन् । त्यसपछि थाइल्याण्डका २८ हजार ५११, म्यानमारका २४ हजार ५७, दक्षिण कोरियाका पाँच हजार २१३, भियतनामका चार हजार ३२४, चिनियाँ पर्यटक तीन हजार ९६१ छन् । 

यो नाका हुँदै आउने पर्यटकको मुख्य गन्तव्य बुद्धजन्मस्थल लुम्बिनी हो । बौद्धमार्गीहरु लुम्बिनी भ्रमणपछि धेरै भारततर्फ नै फिर्ता जान्छन् भने केही कपिलवस्तु र रामग्राम स्तूपसम्म पुग्ने गरेका छन् । 

एघार महिनामा लुम्बिनी आउने बौद्धधर्मावलम्बी मुलुकका पर्यटकमात्रै एक लाख १५ हजार भन्दाबढी छन् । युरोपेली, अमेरिकी तथा दक्षिण पूर्वी एशियालगायत मुलुकका पर्यटक भने कोही लुम्बिनी त कोही सिधै पोखरा, चितवन, काठमाडौँ, मनाङ तथा मुस्ताङ जाने गरेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै