• २०८१ बैशाख २२ शनिबार

साझा प्रकाशनको निर्वाचन प्रक्रिया शुरु

kharibot

प्रतिनिधी तस्वीर

काठमाडौँ । साझा प्रकाशनको यही पुस २५ गते तय गरिएको २४औँ साधारणसभामा अध्यक्षसहित तीन सञ्चालक सदस्यका लागि निर्वाचन प्रक्रिया शुरु भएको छ ।

निर्वाचनका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया शुरु भएको छ भने यही पुस १५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने निर्वाचन समितिका सदस्य–सचिव होमनाथ भट्टराईले जानकारी दिएका छन् ।

कूल एक हजार ४५७ अंशियार (शेयर सदस्य) रहेको भाषा–साहित्यको सो ऐतिहासिक संस्थाको नयाँ व्यवस्थानुसार सञ्चालक समितिको अध्यक्षमा पहिलो पटक निर्वाचन हुन लागेको हो । विगतमा नेपाल सरकारबाट संस्थामा अध्यक्षको नियुक्ति हुने गरेको थियो । तीन सञ्चालक सदस्यमध्ये एक महिला अनिर्वाय हुनुपर्नेछ । यसैगरी लेखा सुपरीवेक्षण समितिका एक संयोजक र दुई सदस्यका लागि निर्वाचन हुनेछ । उम्मेदवारबीच सहमति नभएमा यही पुस २१ गतेदेखि २४ गतेसम्म निर्वाचनका लागि समय निर्धारण गरिएको छ ।

संस्था आर्थिक रुपमा गिर्दो अवस्थामा रहेकाले आपसमा मिलेर बचाउनुपर्ने भावनाका साथ सहमतिमा सञ्चालक समिति चयनका लागि अनौपचारिक पहल जारी रहेको जनाइएको छ । निर्वाचित पदाधिकारीको कार्यकाल चार वर्षको हुनेछ । संस्थाको कूल नौ सदस्यीय सञ्चालक समितिमा अर्थ मन्त्रालय, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय र विषयगत मन्त्रालयबाट एक÷एक जना सहसचिव रहनेछन् भने एक विज्ञ सदस्यमा नेपाल सरकारले नियुक्त गर्नेछ ।

सहकारी ऐन, २०७४ को दफा ३५ मा साझा प्रकाशनलाई समावेश गरिएकाले यसको नयाँ संरचना कार्यान्वयन ल्याइएको हो । गत २०७२ मा भएको २३ औँ साधारणसभाबाट निर्वाचित सदस्यको तीन वर्षे अवधि दुई वर्ष अघि सकिए पनि संस्थाको आन्तरिक समस्या तथा कोभिड–१९ को कारण साधारणसभामा ढिलाइ हुँदै आएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै