• २०८१ जेठ ४ शुक्रबार

“गणतन्त्र कसैले चन्दा दिएको होइन”, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री त्रिपाठी

kharibot

तस्वीर : रासस

नागार्जुन ।  सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठीले नागार्जुन नगरपालिका–७ स्थित बतासेपाखामा निर्माण हुन लागेको १५ श्ययाको रामकोट आधारभूत अस्पतालको आज शिलान्यास गरेका छन् ।

सो अवसरमा उनले नेपालको स्वास्थ्य क्षेत्रमा आजको अभियानले ठूलो फड्को मार्ने विश्वास व्यक्त गरे ।

अस्पताल निर्माण सरकारको भन्दा पनि नेपाली जनताको स्वास्थ्य रक्षाका लागि महत्वपूर्ण कार्यक्रम भएको उल्लेख गर्दै उनले सबै स्थानीय तहले तोकिएको समयमै सफलतापूर्वक अस्पतालको निर्माण सम्पन्न गर्ने विश्वास व्यक्त गरे । 

जनताको सङ्घर्षबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई कमजोर नआक्न आग्रह गर्दै उनले यसको विकल्प खोज्नु नेपाललाई पछाडि फर्काउने दुस्प्रयत्न भएको टिप्पणी गरे ।

उनले भने, “सङ्घीय लोकतान्त्रिक गणतन्त्र कुनै चन्दा, पुरस्कारमा स्थापना भएको होइन, यो दानदाताव्यबाट आएको पनि होइन, यसका लागि असङ्ख्य नागरिकले बलिदान दिएका छन्, हजारौँ घाइते भएका छन्, सङ्घीय लोकतान्त्रिक प्रणाली कमजोर नठाने हुन्छ ।”

सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई अभ्यासद्वारा परिपूर्ण गर्दै यसलाई सम्पूर्ण बनाउँदै लैजानुपर्ने उनले बताएका छन् ।

“हाम्रा धेरै पिँढीहरु प्रयोगमै गए, हाम्रै राजनीति जीवन प्रयोगमै बित्यो, हाम्रै जीवनकालमा धेरै परिवर्तन देखियो”, मन्त्री त्रिपाठीले भने, “पञ्चायतकालबाट बहुदलीय संसदीय व्यवस्थामा आयौँ, संवैधानिक राजतन्त्र स्वीकार गर्यौं , त्यहाँ पनि धोखा भयो, त्यसपछि सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा आइपुगेका छौँ, यसको विकल्प खोज्नु अहिले समयको प्रतिकूल जानु हो, नेपाललाई पछाडि फर्काउने दुस्प्रयत्न हो ।” 

गणतन्त्रको रक्षाका लागि सम्पूर्ण राजनीतिक दल, आम जनतालाई आह्वान गर्दै उहाँले कुनै घटना विशेषबाट धेरै तरङ्गित नहुन आग्रह गरेका छन् ।

“राजनीतिक दलमा विचार, शैलीका विवाद भइरहन्छन्, राजनीतिक दलको नेतृत्वसँग असन्तुष्टि होला, तर जति परिवर्तन भएका छन् ती सबै राजनीतिक दलको अगुवाइमा भएका हुन्”, उनले भने । 

जनप्रतिनिधि जनताको सेवक हुनुपर्नेमा जोड दिँदै जनप्रतिनिधिमा भएको शासकीय मनोविज्ञान त्याग्न आग्रह गरेका छन् ।

“जुन दिनदेखि जनप्रतिनिधिमा शासकीय मनोवृत्ति देखिन्छ, त्यसै दिनदेखि पतन शुरु हुन्छ । हामी जनप्रतिनिधि पाँच/पाँच वर्षमा जनतासँग अनुमोदित हुन जानुपर्छ । जसमा शासकीय मनोविज्ञान आउँछ, त्यसलाई कसैले पनि जोगाउन सक्दैन । यो स्थानीयदेखि केन्द्रसम्म सबैलाई लागू हुन्छ”, उनले बताए । 

सामाजिक सञ्जलमा देखिएको असन्तुष्टिलाई प्रेरणाको स्रोतका रुपमा लिनुपर्नेमा जोड दिँदै उनले सत्ता सञ्चालनका क्रममा हुन गएका कमीकमजोरीलाई सबैले स्वीकार गरेर सच्याउनुपर्ने बताएका छन् ।

“सामाजिक सञ्जालमा देखिएका असन्तुष्टिको प्रतिवाद गर्नेभन्दा पनि त्यसले औँल्याएका त्रुटी तथा कमजोरीलाई सच्याउने गरी अगाडि बढ्नुपर्छ”, मन्त्री त्रिपाठीले भने । 

कार्यक्रममा वाग्मती प्रदेशसभा सदस्य केशव पोखरेलले निर्माणाधीन अस्पताल नगरको गौरवको आयोजना भएको र समयमै निर्माण सम्पन्न गर्न आफ्नो सहयोग रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।

उनले अब बन्ने अस्पताललाई आधारभूत अस्पतालका रुपमा मात्र सीमित नराखी अन्य क्षेत्रका जनतालाई पनि गुणस्तरीय स्वास्थ्य सेवा दिने गरी काम गर्न सुझाव दिएका छन् ।

नागर्जुन नगरपालिकका प्रमुख मोहन बस्नेत र उपप्रमुख सुशीला अधिकारीले अस्पताल निर्माण हुनु नगरवासीका लागि खुशीको विषय भएको उल्लेख गर्दै अस्पताललाई सुविधासम्पन्न बनाउन थप स्रोतको व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गरे । 


 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै