काठमाडौँ । यस सिजनको इण्डियन प्रिमियर लिग (आइपिएल) को उपाधि मुम्बई इण्डियन्सले जितेको छ । मंगलबार सम्पन्न फाइनल खेलमा मुम्बईले दिल्ली क्यापिटल्सलाई ५ विकेटले पराजित गर्दै पाँचौ पटक आइपिएलको उपाधि जितेको हो ।
दिल्ली क्यापिटल्सले दिएको १५७ रनको लक्ष्य पछाएको मुम्बईले १८.४ ओभरमा ५ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।
मुम्बईका लागि कप्तान रोहित शर्माले सर्बाधिक ६८ रन बनाएका थिए । रोहितले ५१ बलमा ५ चौका र ४ छक्का प्रहार गर्दै ६८ रन बनाएका थिए ।
त्यस्तै मुम्बईका लागि इशान किशनले अविजित १९ बलमा ३३ रन बनाए भने क्वेंटन डिककले २० रनको योगदान गरेका थिए । त्यस्तै सूर्यकुमार यादव १९ रन बनाएर रन आउट भएका थिए भने केरन पोलार्ड ९ रन बनाएर आउट भए । त्यस्तै हार्दिक पाण्डेयले ३ रन बनाए भने क्रुनाल पाण्डेयले एक रन बनाए ।
दिल्लीका बलर एनरिच नोर्त्जेले २ विकेट लिए भने मार्कोस स्टोइनिस, र कागीसो रबाडाले एक- एक विकेट लिएका थिए ।
यसअघि टस जितेर पहिला ब्याटिंग गरेको दिल्लीले २० ओभरमा ७ विकेट गुमाउदै १५६ रन बनाएको हो ।
दिल्लीका लागि कप्तान श्रेयस अय्यरले सर्बाधिक ६५ रन बनाए भने रिषव पन्तले ५६ रनको योगदान दिएका थिए । त्यस्तै शिखर धवन १५ रन बनाएर आउट भए भने मार्कोस स्टोइनिस शुन्यमा, आजिख्य रहाने २ रन बनाएर आउट भएका थिए ।
त्यस्तै शिमरन हेटमेयरले ५ रन बनाए भने अक्सर पटेलले ९ रनको योगदान दिए ।
मुम्बई इण्डियन्सका बलर ट्रेन्ट बोल्टले ३ विकेट लिए भने नाथन क्ल्टर नीलले २ विकेट लिए । त्यस्तै जयन्त यादवले एक विकेट लिए ।
योसँगै अहिलेसम्म १३औ सिजनमा मुम्बई इण्डियन्स छैठौ पटक फाइनल खेलेर पाँच पटक उपाधि जितेको छ । त्यस्तै पहिलो पटक फाइनलमा पुगेको दिल्ली क्यापिटल्स पहिलो उपाधि जित्न बाट भने चुकेको छ ।









