• २०८१ बैशाख २७ बिहीबार

राजधानी सारेमा रुपन्देहीका साढे २२ सय सदस्यले नेकपाबाट राजीनामा दिने घोषणा

kharibot

बुटवल । प्रदेश ५ को राजधानीको विषयले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा विवाद बढेको छ ।

बुटवलमा भइरहेको विरोध प्रदर्शन र आन्दोलनकै क्रममा नेकपा रुपन्देहीका सक्रिय सदस्य तथा विभिन्न विभागमा जिम्मेवारीमा रहेका ३५ संघ संस्थाका २२ सय ४९ जनाले पत्रकार सम्मेलन गरेर सामुहिक राजीनाको घोषणा गरेका छन् ।

राजीनामा गर्ने अधिकांश सदस्यहरु उद्योगी व्यापारी रहेका छन् । उनीहरुले नेकपाको पार्टी सदस्यता त्याग्ने घोषणा गरेका छन् ।

प्रदेश सभामा पेश भएको राजधानी र नामाकरणसम्बन्धि प्रस्ताव पास हुने तयारीमा रहेको समयमा पत्रकार सम्मेलन गर्दै व्यवसायीहरुले नेकपाको सदस्यता त्याग्ने घोषणा गरेका हुन् ।

नेकपा जिल्ला कमिटि सदस्य तथा नेपाल उद्योग परिसंघका प्रदेश अध्यक्ष एजाज आलमले नेकपा नेतृत्वको सरकारले जनभावनाविपरीत राजधानी सार्ने तयारी गरेको भन्दै रुपन्देहीका २ हजार २ सय ४९ जना पार्टी सदस्यले राजीनामा दिने बताए ।

त्यस्तै रुपन्देही उद्योग संघका अध्यक्ष बाबुराम बोहराले रुपन्देहीका आमजनता र पार्टी सदस्यहरुको भावनाको विपरीत गएर प्रस्ताव ल्याएकाले पार्टीमा बस्नुको औचित्य नभएको बताए ।

यस अघि प्रदेशको प्रदेशसभामा नेकपाका सांसद भोजप्रसाद श्रेष्ठले प्रदेशसभा सञ्चालन नियमावली संशोधन मस्यौदा समितिको संयोजक पदबाट आज राजीनामा दिएका थिए ।

उनले प्रदेशको राजधानी सार्न खोजिएको भन्दै संयोजक पदबाट राजीनामा दिएका थिए । श्रेष्ठले राजधानी सार्ने सरकारको निर्णय गैरसंसदीय र अलोकतान्त्रिक भएको आरोप लगाउँदै आएका छन् । 

श्रेष्ठकै नेतृत्वमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलको शुक्रबार बसेको बैठकमा १४ प्रदेशसभा सदस्यले नोट अफ डिसेन्ट लेखेका थिए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै