• २०८१ जेठ ६ आइतबार

सरकारको काम नदेख्ने नेपाली संस्कारमा मोतियाविन्दु लागेको छ - स्वास्थ्यमन्त्री ढकाल

kharibot

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको काम नदेख्ने नेपालीलाई मोतिविन्दु लागेको टिप्पणी गरेका छन् ।

सोमबार वीर अस्पतालको १ सय ३१ औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको काम विदेशीहरुले देखेको तर नेपालीहरुले नदेखेको गुनासो गर्दै मन्त्री ढकालले नेपाली संस्कारमा मोतिविन्दु लागेको हुनसक्ने बताए ।

कार्यक्रममा मन्त्री ढकालले शक्ति सम्पन्न राष्ट्रहरुले भन्दा नेपाल सरकारले प्रभावकारी काम गरेको दाबि गर्दै नेपालीहरुले नै नदेखेको गुनासो गरे ।  विदेशमा बस्ने नेपाली र स्वदेशमा बस्ने नेपाली सबैले सरकारको काम नदेख्नुले नेपाली संस्कारमा मोतिविन्दु लागेको हुनसक्ने अनुभूति आफुलाई भएको बताउदै भने, 'मलाई लाग्छ यो सकारात्मक पक्ष नदेख्नुमा हाम्रो संस्कारमा कतै मोतियाविन्दु लागेको छ कि जस्तो अनुभूति मैले गर्ने गरेको छु ।’

कोरोनाबाट विश्वभर मृत्यु हुनेहरुको दर बढी रहेको तर नेपालले शून्य दशमलव २ प्रतिशत भन्दा कममा रोक्न सक्नु सबैभन्दा सकारात्मक पक्ष भएको उनको भनाई थियो ।

सरकारको स्वास्थ्य नीति कस्तो छ र सरकारबाट कस्तो स्वास्थ्य सुविधा पाउन सकिन्छ भन्ने थाहा पाउन एकपटक वीर अस्पतालमा आउनै पर्नेसमेत मन्त्री ढकालले बताए ।

अस्पतालले बिरामीलाई गुणस्तरीय स्वास्थ्य सेवा नियमित रुपमा प्रदान गर्नाका साथै कोभिड–१९ सँग सम्बन्धित परीक्षणको सेवासमेत प्रदान गरेको उल्लेख गर्दै नेपाल र नेपाली जनताको गौरव एवम् पहिचानका रुपमा स्थापित अस्पतालले थप सेवा विस्तार  र प्रभावकारी तुल्याउँदै नमूना अस्पतालका रुपमा आफूलाई स्थापित गराउनुपर्ने बताए । 

सरकारले स्वास्थ्य सेवा सुधारका काम गर्न थालेको र कोभिड–१९ का कारणले केही ढिलाइ भएको उनले बताए ।

कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री नवराज रावतले अस्पताललाई सबै नागरिकलाई सर्वसुलभ सेवा उपलब्ध गराउन व्यवस्थित बनाउनुपर्ने बताए । उनले अस्पतालको स्वास्थ्य सेवा गुणस्तरीय बनाउनुपर्ने बताए । मन्त्रालयका सचिव लक्ष्मण अर्यालले अस्पतालले स्वास्थ्य सेवालाई व्यवसायबाट सेवामूलक बनाइने भन्दै स्वास्थ्य सेवालाई पहुँचसँग मात्र नजोडेर गुणस्तरसँग पनि जोड्नुपर्ने बताए ।

अस्पतालका निर्देशक डा केदारप्रसाद सेन्चुरीले अस्पतालले गुणस्तरीय तथा भरपर्दो सेवा न्यून शुल्कमा प्रदान गरिरहेको बताए । १९४७ साल साउन १२ गते तत्कालीन प्रधानमन्त्री वीर शमशेरले अस्पताल निर्माण गरेका थिए । १५ श्ययाबाट शुरु भएको अस्तपालमा अहिले ४६० श्यया र २०० श्ययाको राष्ट्रिय ट्रमा सेन्टर रहेको छ । 

अस्पतालको सेवा विस्तार गर्नका लागि थप ५०० श्ययाको सर्जिकल भवन निर्माण गर्न थालिएको छ । अस्पतालले अहिले नर्सिङ तथा चिकित्सा क्षेत्रतर्फ प्रवीणता प्रमाणपत्र तहदेखि स्नातक, स्नातकोत्तर तह सम्मको अध्ययन–अध्यापन गराउँदै आइरहेको छ । अस्पतालले अहिले बहिरङ्ग सेवा, आकस्मिक सेवालगायत विभिन्न सेवा प्रदान गर्दै आइरहेको छ ।   

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय