• २०८१ बैशाख २३ आइतबार

अर्थमन्त्री खतिवडा र सचिवविरुद्ध अख्तियारमा उजुरी

kharibot

अख्तियार पुगेर उजुरी दर्ता गर्दै इनफ इज इनफका अभियन्ताहरु । तस्बिर : इनफ इज इनफ

काठमाडौं  । अर्थमन्त्री डा. युवराज खतिवडाले भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आइतवार उजुरी परेको छ ।

‘इनफ इज इनफ’ का अभियन्ताले अर्थमन्त्री खतिवडा तथा सचिवहरु शिशिर कुमार ढुङ्गाना र रामशरण पुडासैनीविरुद्ध अख्तियारमा उजुरी दिएका हुन् ।

यो अभियानका ५० जना सदस्यहरु आइतबार टंगालस्थित अख्तियारको कार्यालयमा पुगेर उजुरी दर्ता गराएका हुन् । अभियन्ताहरूले कोरोनाभाइरसको महामारीबाट नागरिकलाई जोगाउन ठूलो बजेट खर्च गर्दा अनुगमन नगरेको र हिसाब पारदर्शी नबनाएको भन्दै उजुरी दिएका हुन् ।

मन्त्री खतिवडाले अनुगमन नगरेर भ्रष्टाचारलाई बढावा दिएको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन, २०४८ बमोजिम कारबाही गर्न उनीहरुले माग गरेका छन् ।

यसअघि उनीहरुले चीनबाट ओम्‍नी ग्रुपमार्फत स्वास्थ्य सामग्री ल्याउँदा भ्रष्टाचार गरेको भन्दै स्वास्थ्यमन्त्री भानुभक्त ढकाल विरूद्ध उजुरी हालेका थिए । उनीहरुले अहिले अर्थमन्त्री र सचिव विरूद्ध उजुरी हालेका हुन् ।

उनीहरुले सरकारले आफूहरुका माग बेवास्ता गरेमा अर्को चरणमा अझै कडा कार्यक्रम ल्याउने बताए । उनीहरुले अब गृहमन्त्री रामबहादुर थापा र गृहसचिव महेश्वर न्यौपाने विरुद्ध पनि उजुरी हाल्ने चेतावनी दिएका छन् ।

उनीहरुले कोरोनाभाइरस महामारीको व्यवस्थापन, नियन्त्रण, न्यूनीकरण तथा रोकथाममा गरिएको खर्च विवरण पनि सार्वजनिक गर्न दबाब दिएका छन् । उनीहरुले संघीय सरकार, प्रदेश र स्थानीय तहको खर्च विवरण मागेका छन् ।

सरकारको काममा तीव्र असन्तुष्टि जनाएका यस अभियानका संयोजक ‘ई’सहित यसअघि अनशन बसेका थिए । तर सरकारले १२ बुँदे सहमति गरेपछि उनीहरुले अनशन रोकेका थिए । तर त्यो सम्झौता कार्यान्वयन नभएपछि सहित 'ई' सहित समाइरा श्रेष्ठ र करण गुरूङ पछिल्लो दश दिनदेखि  वसन्तपुर दरबार परिसरमा फेरी अनशन बसेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै