भद्रपुर । धान खेतीका लागि उर्बर भूमि मानिने झापामा असार १५ सम्ममा पाँच प्रतिशत मात्र रोपाइँ भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
समयमै बर्षात सुरु भएपनि किसानले ढिलो बिउ राखेका कारण हालसम्ममा पाँच प्रतिशत मात्र रोपाइँ भएको हो । केन्द्र्रका प्रमुख निलकमल सिंहले भने, ‘‘किसानले ढिलो बिउ राखेको कारण रोपाइँमा ढिलो भयो ।’’
असार १५ देखि साउन पहिलो हप्तासम्ममा जिल्लामा रोपाइँ सकिने उनी बताउछन् । झापामा यस वर्ष ८७ हजार ५०० हेक्टर क्षेत्रफलमा गरिने धान खेतीमध्ये चार हजार ३७५ हेक्टर जमिनमा मात्र धान रोपाइँ भएको छ । प्रमुख सिंहले झापामा ८० प्रतिशत खेती आकासेपानीको भरमा हुने बताए ।
झापामा नियमित सिँचाइका लागि कनकाई, निन्दा, टाङटिङ, पालिया, खुदुनाबारी, सिद्धिनहर, भुतेनी खोलालगायतका सिँचाइ आयोजना छन् । धान दिवसको अवसरमा आज कनकाई नगरपालिकास्थित कृषि सहकारीको जमिनमा सामूहिक रोपाइँ गरिएको छ ।