• २०८१ बैशाख २२ शनिबार

बाल विवाह न्यूनीकरण गर्न प्रतिबद्ध

kharibot

तुलसीपुर । दाङको शान्तिनगर र दंगीशरण गाउँपालिकामा बाल विवाह न्यूनीकरण गर्न सरोकार पक्षले प्रतिबद्धता जनाएका छन्। यी गाउँपालिकामा बाल विवाह गर्नेको सङ्ख्या कम हुन नसकेको भन्दै स्थानीय तहका प्रमुख तथा सरोकार पक्ष निकायले प्रतिबद्धता जनाएका हुन्।

“गाउँपालिकाले यसअघि पनि बाल विवाह न्यूनीकरण गर्न विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ”, शान्तिनगर गाउँपालिकाका अध्यक्ष कमानसिंह डाँगीले भने, “तर पनि अझै न्यूनीकरण हुन सकेको छैन, आगामी दिनमा यस्ता कार्यक्रमलाई थप निरन्तरता दिनेछौँ।”

बाल विवाहले प्रजनन् स्वास्थ्यमा पनि निकै ठूलो असर पर्ने भन्दै यसको न्यूनीकरण अपरिहार्य रहेको उनको भनाइ थियो।

उनका अनुसार अहिले बाल विवाहले पार्ने प्रभावका विषयलाई समेटेर विद्यालयहरुमा सचेतनामूलक कार्यक्रम भइरहेको बताए। उनले मन्दिरका पुजारीहरुलाई बाल विवाह गर्न आएमा त्यो विवाह नगरिदिन पनि अनुरोध गरेको र अबको केही समयमा थारु समुदायका अगुवा (गुरुवा) हरुसँग पनि समन्वय गर्ने बताए।

त्यस्तै दंगीशरण गाउँपालिकाले पनि बाल विवाह न्यूनीकरण गर्न कार्यक्रम सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष भागीराम चौधरीले बताए। “हामी बाल विवाह न्यूनीकरण गर्ने अभियानमा लागिरहेका छौँ”, उनले भने।

बाल विवाह न्यूनीकरण गर्न सामाजिकरूपमा निकै चुनौती भए पनि त्यसलाई जसरी पनि पार गर्नुपर्ने उनले बताए। अहिले बाल विवाहले सामाजिकरूपमा मात्रै नभई स्वास्थ्यका हिसाबले पनि निकै असर गरिरहेको उनको भनाइ थियो।

अहिले बाल विवाह हुने गरेको भए पनि लिखित निवेदन नआउँदा बाल विवाह न्यूनीकरणमा चुनौती देखिएको इलाका प्रहरी कार्यालय हेकुलीका प्रमुख जीवनविक्रम शाहले बताए। “हामीले जाहेरी आएपछि बाल विवाह रोक्ने प्रयास गरिरहेका हुन्छौँ”, उनले भने, “तर जाहेरी नै नआउँदा पनि बाल विवाहले प्रश्रय पाइरहेको हुन्छ।”

बाल विवाहले घरेलु हिंसा र सम्बन्ध विच्छेदका घटना भइरहेकाले गाउँगाउँमा सचेतना प्रदान गर्दै आएको इलाका प्रहरी कार्यालय खिलतपुरका निमित्त प्रमुख देवराज ओलीले बताए।

यसैक्रममा समाजमा वातावरणीय शिक्षाको विकास (सीड) र जिरी नेपालको सहकार्यमा बाल विवाह न्यूनीकरण गर्न सरोकार पक्ष निकायलाई ज्ञापनपत्र बुझाइएको छ।

दाङको दंगीशरण र शान्तिनगरमा बाल विवाह बढिरहेको भन्दै यसलाई न्यूनीकरण गर्न जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, शान्तिनगर गाउँपालिका, दंगीशरण गाउँपालिका, इलाका प्रहरी कार्यालय हेकुली र इलाका प्रहरी कार्यालय खिलतपुरलाई ज्ञापनपत्र बुझाइएको सीडका कार्यक्रम संयोजक माधवराज चौधरीले बताए।

“यी दुई गाउँपालिकामा अझै पनि बाल विवाह हुने गरेका छन्”, उनले भने, “त्यसैले न्यूनीकरण गर्न ध्यानाकर्षण गराएका हौँ।”

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै